१२ श्रावण २०८१, शनिबार

नेपालगञ्ज उपमहानगरको पाठेघर क्यान्सर स्वास्थ्य शिविर अभियान १७ नं वडामा
  • न्युज मानसराेवर

नेपालगञ्ज:नेपालगञ्ज उपमहानगरपालिकामा पाठेघरको मुखको क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर चलिरहेको छ । यसैक्रममा आज वडा नम्बर १७ परस्पुरमा शिविर सञ्चालन गरिएको छ । शिविरको प्रतिनिधिसभा क्षेत्र नम्बर ३ बाँकेका सांसद एवम् नेपाली कांग्रेसका सह-महामन्त्री किशोरसिंह राठौरले उद्घाटन गरे । शिबिर उद्घाटन कार्यक्रममा प्रदेशसभा क्षेत्र नम्बर ३ (क) का सांसद बादशाह कुर्मी, नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर खड्का, वडा नम्बर १७ का वडा अध्यक्ष लक्ष्मणप्रसाद बर्मा, स्वास्थ्य महशाखा प्रमुख रामबहादुर चन्द, कान्ति आरोग्य अस्पतालकी डा. रोमा बोरा, नेपालगञ्ज उपमहानगरपालिकाका फार्मेसी अधिकृत डा. अस्मित आचार्य, सिनियर अनमी निरीक्षक निर्मला खनाल लगायतको उपस्थिति थियो ।

शिविर शुभारम्भका क्रममा बोल्दै प्रदेशसभा सदस्य कुर्मीले आफ्नो स्वास्थ्यको ख्याल गर्न महिलालाई आग्रह गरे । उनले शिविरबाट धेरै महिला लाभान्वित हुने विश्वास व्यक्त गरे । नगर प्रमुख विष्टले ग्रामीण क्षेत्रमा महिलाहरुको स्वास्थ्य अझ जोखिमपूर्ण देखिएकाले गत बर्ष जस्तै यस बर्ष पनि परस्पुरमा शिविर आयोजना गरेको बताए । कान्ति आरोग्य अस्पतालकी डा. रोमा बोराले लाज नमानेर जाँच गराउन महिलाहरुलाई आग्रह गरिन् ।

शिविरमा पाठेघरको मुखको क्यान्सर परीक्षण पोजिटिभ देखिएमा सम्बन्धित अस्पतालमा प्रेषण गरिने स्वास्थ्य महाशाखा प्रमुख चन्दले बताए । नेपाल सरकारले क्यान्सर रोगका विरामीलाई उपचार खर्चका लागि एक लाख रुपैयाँ र लुम्बिनी प्रदेश सरकारले दुई लाख रुपैयाँ दिँदै आएको छ । यस्तै विरामीलाई जिविकोपार्जनमा सहजताका लागि मासिक पाँच हजार रुपैयाँ दिने गरेको छ । स्वास्थ्य महाशाखा प्रमुख चन्दले समयमै रोगको पहिचान, निदान र उपचारमा सहजताका लागि प्रत्येक वर्ष विभिन्न बस्तीहरुमा पाठेघरको मुखको क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको बताए । शिविरमा भेरी अस्पतालकी मेडिकल अधिकृत डा. समिक्षा चन्दले चेकजाँच गरिरहेकी छिन् ।

चालू आर्थिक वर्षमा सात वटा वडामा शिविर संचालन गर्ने लक्ष्य छ । वडा नम्बर ६, १२, १५, १७, १८, २२ र २३ मा पाठेघरको मुखको क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने कार्यक्रम बमोजिम वडा नम्बर १५, २२ र २३ मा शिविर सम्पन्न भएको छ । वडा नम्बर २३ मा १ सय १०, वडा नम्बर २२ मा १ सय १० जना र वडा नम्बर १५ मा ८६ जना महिलाको पाठेघरको मुखको स्क्रिनिंग गरिएको छ ।  कान्ति आरोग्य अस्पताल नेपालगञ्जको आयोजना एवम् नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा शिविर सञ्चालन भइरहेको छ ।

  • २७ जेष्ठ २०८१, आईतवार प्रकाशित

  • Nabintech