८ श्रावण २०८१, मंगलवार

सिकलसेल एनिमिया ल्याबबाट नि:शुल्क सेवा

सिकलसेल एनिमिया मलेरिया प्रभावित क्षेत्रका मानिसको रक्तकोषमा देखिने समस्या

  • न्युज मानसराेवर

कोहलपुर: कोहलपुर नगरपालिकामा हाल सम्म कूल १२ हजार ४ सय ९० जनाले  सिकलसेल एनिमिया रोगको नि:शुल्क परिक्षण गरेका छन।
कोहलपुर नगरपालिकाले आर्थिक वर्ष २०७७।११।३० गते बाट उक्त सिकलसेल एनिमिया रोगको नि:शुल्क परिक्षण शुरु गरेको थियो ।

उक्त नि:शुल्क अभियान संचालन भएपश्चात कूल ७८ जना सिकलसेल एनिमियाका रोगी फेला परेका छन ।’कोहलपुर नगरपालिका सिकलसेल एनिमिया ल्याबकी अनमी बालकुमारी परियारले जानकारी गराएकी छन।’

के हो सिकलसेल रोग?

मानव रगतमा पाइने रातो गोलाकार रक्त कोषिकाको स्वरुप परिवर्तन भई हँसियाजस्तै आकारमा रुपान्तरण हुने रक्तअल्पता सम्बन्धी रोगलाई सिकलसेल रोग वा सिकलसेल एनिमिया भनिन्छ। यो रोग वंशाणुगत रोग हो र नेपालमा खासगरी पश्चिम तराईका थारु जातिमा बढी पाइन्छ। यो रोग जिनमा हुने खराबीले आमा-बुबाबाट छोराछोरीमा सर्ने गर्छ। यो रोग लागेका बिरामीहरुको रक्तकोषहरू हँसिया आकारको हुने भएकाले यसलाई हँसिया रोग पनि भनिन्छ।

नेपालमा यस रोगको पहिचानको इतिहास हेर्ने हो भने यस रोगको पहिचानको श्रेय जनरल फिजिसियन डा.राजन पाण्डेलाई जान्छ। केही वर्षअघि जनरल फिजिसियन डा. राजन पाण्डे भेरी अस्पताल नेपालगञ्ज आएपछि उनले सधैं एउटै खालको समस्या बोकेर आउने थारु समुदायका बिरामीप्रति गहिरो चासो राख्न थाले र सिकलसेलको शंका गर्दै परीक्षण गरे। सोही क्रममा उनी दाङ, बर्दिया र बाँकेका थारु बस्तीमा पुगे। त्यसपछि डा. पाण्डेले दिएको रिपोर्टकै आधारमा सरकारले विसं २०७० साउनमा सिकलसेललाई जनस्वास्थ्य समस्या स्वीर्कायो।

चिकित्सकहरूका अनुसार सिकलसेल एनिमिया मलेरिया प्रभावित क्षेत्रका मानिसको रक्तकोषमा देखिने समस्या हो। बाबुआमा दुवैलाई त्यो रोग छ भने छोराछोरीलाई पनि त्यही रोग लाग्ने सम्भावना २५ प्रतिशत रहने चिकित्सकहरू बताउँछन्।

यस रोगको अवस्थालाई हेर्ने हो भने बिरामीको रगतमा सिकलसेलको मात्रा ४० प्रतिशतभन्दा कम भएको अवस्थालाई ‘ट्रेट’ भनिन्छ। सिकलसेलको मात्रा ६० प्रतिशतभन्दा बढी पुगेपछि रोगले समातेको मानिन्छ। दीर्घ रक्तअल्पता हुने, ज्वरो आइरहने, छाती दुख्ने, जन्डीस हुने, फियो बढ्ने, हाडजोर्नी दुख्नेजस्ता यो रोगका मुख्य लक्षणहरू हुन्।

 

  • १३ असार २०८१, बिहीबार प्रकाशित

  • Nabintech