काठमाडौँ:चिर प्रतिद्वन्द्वी भारतलाई सेमिफाइनलमा पराजित गर्दै नेपाल साफ महिला च्याम्पियनसिपको फाइनल प्रवेश गरेको छ। अब नेपालले साविक उपाधि विजेता बंगलादेशसँग फाइनल खेल्नेछ। निकै प्रतिस्पर्धात्मक र रोचक बन्न पुगेको सेमिफाइनल खेलको पहिलो हाफमा नेपाल र भारत दुवै टोलीले गोल गर्न सकेका थिएनन्। यद्यपि खेलको पहिलो हाफमा भारतले नेपाललाई निकै दबाबमा राखेको थियो।
दोस्रो हाफमा नेपाली खेलाडी रेखा पौडेलले दोहोरो पहेँलो कार्डका कारण मैदान छाड्नुपर्यो र नेपाली टोली १० खेलाडीमा सीमित भयो।भारतले एक गोल गरिसक्दा नेपालले गरेको गोलले मान्यता पाउन सकेन। त्यसबीचमा केही तनावको स्थिति पनि बन्यो। बल्लतल्ल तनाव साम्य भएर खेल के सुरु भएको थियो, नेपालका तर्फबाट सावित्रा भण्डारी साम्बाले आफ्नो आक्रामक रुप देखाइन्। उनले प्रहार गरेको गोल सिधै भारतको पोस्टमा पसेपछि खेल बराबरीमा पुग्यो।
दोस्रो हाफको समय सकिएर इन्जुरी समयमा समेत थप गोल हुन सकेन र खेल टाइब्रेकरमा धकेलियो। पेनाल्टी सुटआउटमा नेपालले चारवटा प्रहारमा चारै गोल गर्न सक्यो भने भारतले दुई गोलमै चित्त बुझाउनुपर्यो। योसँगै भारतको यस वर्ष पनि साफ च्याम्पियनसिपको यात्रा टुंगिएको छ। दर्शकहरुको भव्य उपस्थितिको साथ पाएको घरेलु टोलीको फाइनल यात्रा तय भएसँगै उत्साहको सीमा नै रहेन।















