२१ मंसिर २०८१, शुक्रबार

लुम्बिनी प्रदेश : कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी मन्त्री ढकाललाई
  • न्युज मानसराेवर

कोहलपुर,बाँके : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाललाई दिएका छन् । छिमेकी देश चीन भ्रमणमा जान लागेका मुख्यमन्त्री आचार्यले आफू नफर्किँदासम्मको लागि मन्त्री ढकाललाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिएका हुन् ।

मुख्यमन्त्री आचार्यले कार्तिक २५ गते आज आइतबारदेखि लागू हुनेगरी लुम्बिनी प्रदेश सरकार कार्य सम्पादन नियमावली २०७४ पछिल्लो संशोधनको नियम १४ को उपनियम ३ बमोजिम मन्त्री ढकाललाई कार्यवाहक मुख्यमन्त्रीको कार्यसम्पादन गर्नेगरी जिम्मेवारी तोकेका हुन् । नेपालको संविधान र अन्य प्रचलित कानूनको अधीनमा रही तोकिएको कार्य जिम्मेवारी सम्पादन गर्न अनुरोध गरिएको छ ।

सिचुआन प्रान्तमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन मुख्यमन्त्री आचार्यसहित ७ सदस्यीय प्रतिनिधि मण्डल चीन जान लागेको हो ।सिचुआन प्रान्तमा समन्वय र विकासको विषयमा छलफल गर्न  (नोभेम्बर ११ देखि १३० कार्तिक २६, २७ र २८ गते ) अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ । यो भ्रमणले लुम्बिनी प्रदेश सरकार र चीनको सिचुआन प्रान्तबीच पारस्परिक सहयोग तथा सद्भाव थप अभिवृद्धि गर्ने विश्वास लिइएको छ ।

भ्रमणको क्रममा लुम्बिनी प्रदेशको समग्र विकासका योजनालाई अघि बढाउन दुईपक्षिय सहयोग र सहकार्यको बारेमा समेत उच्चस्तरीय भेटवार्ता हुनेछ । वि.सं. २०७६ सालमा प्रदेश सरकार र सिचुआन प्रान्तबीच भगिनी सम्बन्ध कायम गरिएको थियो । तत्कालीन मुख्यमन्त्री शंकर पोख्रेलले सिचुआन प्रान्तबीच भगिनी सम्बन्ध कायम गरेका थिए । कृषि, उद्योग, पर्यटन लगायतका क्षेत्रमा लुम्बिनी प्रदेश सरकार र सिचुआन प्रान्तबीच सहयोग आदानप्रदान गर्ने समझदारी भएको थियो ।

  • २५ कार्तिक २०८१, आईतवार प्रकाशित

  • Nabintech