२१ मंसिर २०८१, शुक्रबार

बागेश्वरी मिनी म्याराथनमा अरविन्द र गीता प्रथम
  • न्युज मानसराेवर

बाँके: बागेश्वरी मिनी म्याराथनको उपाधि महेन्द्र मावि नरैनापुरका अरविन्द यादवले जितेका छन । रेडियो बागेश्वरी एफएमले आयोजना गरेको म्याराथनमा अरविन्दले १८ मिनेट ३९.७५ सेकेन्डमा दौड पुरा गरेका हुन । यसैगरी जनता नमुना मावि सन्तकोटी खजुराका विजय खड्का दोस्रो भएका छन भने ज्ञानोदय नमुना मावि खजुराका खगेन्द्र भण्डारी भने तेस्रो भएका छन ।

रेडियो बागेश्वरी ९४.६ मेगाहर्जले आफ्नो २१औँ वर्षको सुरुवातलाई स्मरणीय बनाउन “हरियो विकल्प, उज्यालो भोली ‘ग्रीनर च्वाइस ब्राइटर टुमारो’ भन्ने नारासहित म्याराथन आयोजना गरेको थियो । म्याराथनको छात्रा तर्फ महेन्द्र मावि नरैनापुरकी गीता साहु प्रथम भएकी छिन । उनले २८ मिनेट १ सेकेन्डमा दौड पुरा गरी प्रथम भएकी हुन। यसैगरी नेपालगन्ज मोडेल एकेडेमी कारकाँदौकी धिराज विष्ट दोस्रो र सोही विद्यालयकी आरुषी भट्टराई तेस्रो भएका छन ।

प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपियाँ पुरस्कार प्रदान गरिएको छ । यसका साथै प्रथम, द्वितीय र तृतीय हुनेलाई प्लेटिनियम म्यानेजमेन्ट कलेजमा क्रमशः २ लाख ५० हजार, २ लाख र १ लाख ५० हजारको छात्रवृत्तिसमेत उपलब्ध गराइएको छ । म्याराथनमा बाँकेका २६ विद्यालयका १ सय १२ विद्यार्थीको सहभागिता रहेको थियो ।

रन फर फनमा योगेन्द्र बुढाथोकी प्रथम, अलि अहमद दोस्रो र विनोद वर्मा तेस्रो भए । विजेतालाई रेडियोका कार्यकारी प्रमुख सिद्धार्थ पाण्डे, पत्रकार महासङ्घका केन्द्रीय उपाध्यक्ष उदय जीएम, रेडियोका स्टेसन म्यानेजर शुक्रऋषि चौलागार्ई, चर्चित म्याराथन धावक हरि रोकाया, रेस डाइरेक्टर चन्द्र गुरुङ, राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य राजेन्द्र शाही लगायतले पुरस्कार प्रदान गरेका थिए ।

यस अघि प्रतियोगिताको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेश अग्रवालले म्याराथन प्रतियोगिताले विद्यार्थीहरूको वृत्ति विकासमा टेवा पुर्‍याउने बताएका थिए। मन्त्री अग्रवालले एफएमले म्याराथन आयोजना गरेर भातृत्व र खेल संस्कृतिमा मद्यत मद्दत गरेको बताउँदै एफएमलाई सफलताको शुभकामना समेत ब्यक्त गरे ।

म्याराथन नेपालगन्ज–१०, आदर्शनगर पेट्रोल पम्पबाट सुरु भएर बी।पी चौक, धम्बोझी, सेतु विक चौक, त्रिभुवन चौक, हुलाक कार्यालय र शीतलनगर हुँदै पुनः पेट्रोल पम्पमा आएर समापन भएको थियो ।

  • २ मंसिर २०८१, आईतवार प्रकाशित

  • Nabintech