२१ मंसिर २०८१, शुक्रबार

स्वर्णलक्ष्मी सहकारी ठगीमा छविको बयानपछि मात्रै रविलाई काठमाडौँ ल्याइने
  • न्युज मानसराेवर

काठमाडौँ:काठमाडौँको स्वर्ण लक्ष्मी सहकारी ठगीका आरोपी कुमार रम्तेलको बयान सकिएको छ। रम्तेललाई मंगलबार पोखरा पठाउने तयारी भइरहेको काठमाडौँ प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले बताए।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष रम्तेललाई बयानका लागि शनिबार काठमाडौँ ल्याइएको थियो। सूर्यदर्शन सहकारी ठगीको आरोपमा जिल्ला अदालत कास्कीले उनलाई पुर्पक्षका लागि कारागार चलान गरिसकेको छ।

गोर्खा मिडिया नेटवर्कको पूर्व सञ्चालक समेत रहेका उनी पनि विभिन्न सहकारी ठगीमा जोडिएका हुन्। उनीविरुद्ध जिल्ला अदालत काठमाडौँबाट स्वर्णलक्ष्मी सहकारी ठगीमा पनि पक्राउ पुर्जी जारी भएको थियो।

पक्राउ पूर्जी लिए लगतै काठमाडौँ प्रहरीले उनलाई झिकाएर बयान लिएको हो। रम्तेललाई गत भदौ अन्तिम साता काठमाडौँबाटै पक्राउ गरेर पोखरा लगिएको थियो।

रम्तेललाई फर्काए लगतै प्रहरीले पूर्व डीआईजी छविलाल बन्जाडे जोशीलाई काठमाडौँ ल्याएर बयान लिने भएको छ। केही दिनमै उनलाई काठमाडौँ ल्याएर बयान लिएपछि मात्रै पूर्व गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई काठमाडौँ ल्याइने भएको छ।

उता पोखरामा सूर्यदर्शन सहकारी ठगीका लागि जोशी र लामिछानेलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। यही बिचमा दुवै जनालाई बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको ठगी आरोपमा पनि लगेर बयान लिइसकेको छ।

छविलाल र रविले यी सहकारीको रकम पनि अपचलन गरेको आरोप छ। सहकारीको रकम ठगी गरेको भन्दै बचतकर्ताहरुले उनीहरुविरुद्ध पनि जाहेरी दिएका छन्।

जाहेरी परेपछि सूर्यदर्शन, सुप्रिममा बयान दिइसकेका उनीहरुलाई अब स्वर्ण लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको ठगी आरोपमा पनि अनुसन्धान अगाडी बढाइएको हो।

यस्तै चितवनको साहारा चितवन र वीरगन्जको सानापाइला बचत तथा ऋण सहकारी संस्थाको ठगी आरोपमा पनि प्हरीले अनुसन्नधान गरिरहेको छ। यी तीन सहकारीको अनुसन्धान पछि छविलाल जोशी र रवि लामिछानेलाई चितवन र वीरगन्ज पनि लैजाने प्रहरीको तयारी छ।

यी ५ वटा सहकारीबाट जीबी भन्ने गितेन्द्रबाबु राई, रवि लामिछाने र छविलाल जोशीले करोडौँ रुपैयाँ गोर्खा मिडियामा लगेर ठगी गरेको आरोप छ। उनीहरु तीनै जना गोर्खा मिडियाका सञ्चालक हुन्।

 

  • ३ मंसिर २०८१, सोमबार प्रकाशित

  • Nabintech