२३ मंसिर २०८२, सोमबार

कोहलपुरमा मेयर कप प्रतियोगिता मंसिर २५ देखि सुरु हुने
  • न्युज मानसराेवर

कोहलपुर \बाँकेको कोहलपुरमा नगरपालिकाको शैक्षिक क्यालेन्डर २०८२ अनुसार नगर स्तरीय मेयर कप तथा राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता यही मंसिर २५ गतेदेखि २९ गते सम्म संचालनमा आउने भएकोछ ।

कोहलपुर नगरपालिकाका नगर प्रमुख एवम् कोहलपुर नगर शिक्षा समितिका अध्यक्ष पुर्ण प्रसाद आचार्यको अध्यक्षतामा शिक्षा समितिका पदाधिकारी, सदस्य, सामुदायिक विद्यालयका प्रधानाध्यापक, संस्थागत विद्यालयका प्रतिनिधि सहित बसेको बैठकबाट मंसिर २५ देखि २९ गतेसम्म प्रतियोगिता गर्ने निर्णय गरिएको छ । सो प्रतियोगितालाई भव्य र सव्य रुपमा सम्पन्न गर्न सबैले सहयोग गर्न नगर प्रमुख आचार्यले अनुरोध गरेका छन् । प्रतियोगितामा समावेश भएका विद्याहरुमा केहि थप गर्न सहभागिहरुले सुझाव दिएका छन् ।

कार्यक्रममा कोहलपुर नगर शिक्षा शाखाका वरिष्ठ शिक्षा अधिकृत रविलाल मिजारले विद्यार्थीहरुमा रहेको अन्र्तनिहित प्रतिभा प्रस्फुटन गराउन प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै विद्यालयले विद्यार्थीहरुलाई प्रतियोगतामा सहभागी गराउनुपर्ने बताएका छन् ।

उक्त बैठकमा प्रतियोगिता सम्पन्न गर्न लाग्ने खर्चको विवरण समयमै उपलब्ध गराउनुपर्ने विद्यालयका प्रधानाध्यापकहरुले सुझाव दिएका छन् भने प्रतियोगितामा फर्जी विद्यार्थी ल्याउनेलाई कारवाही गर्नुपर्ने बताएका छन् । विद्यालयको इमिसमा रहेका विद्यार्थीहरुलाई मात्र खेलमा सहभागि गराउनुपर्ने भन्दै इमिस भन्दा बाहिरको विद्यार्थी नल्याउन आग्रह समेत गरेका छन् ।

कोहलपुर नगरपालिकाका सामुदायिक विद्यालयहरुले विद्यार्थीहरुलाई खुवाउँदै आएको दिवा खाजालाई थप व्यवस्थित गर्नका लागि स्वस्थ र पौष्टिक खानेकुरा खुवाउनुपर्ने कोहलपुर नगर शिक्षा अधिकृत शिला गौतमले बताइन् ।

साथै उनले दिवा खाजामा कुन बार कुन खाना खुवाउने हो सो खुवाएको हुनुपर्ने बताइन् । सो बैठकमा कोहलपुर नगरपालिकाकी उपप्रमुख संगिता सुवेदी, सामाजिक विकास समिति संयोजक इश्वरी विक, कोहलपुर खेलकुद विकास समितिका अध्यक्ष चक्र क्षेत्री लगायत वडा अध्यक्ष, शिक्षा समिति सदस्य, प्रधानाध्यापक र संस्थागत विद्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

  • ६ मंसिर २०८२, शुक्रबार प्रकाशित

  • Nabintech