बाँके\ चुनावी मैदानमा बाँके निर्वाचन क्षेत्र नम्बर–१ मा फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लिएर राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ। नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार सूर्य ढकालले आफ्ना अधुरा सपना पूरा गर्ने उद्देश्यसहित पुनः चुनावी मैदानमा उत्रिएको बताएका छन्।
२०४५ सालदेखि राजनीतिमा सक्रिय ढकालले लामो अनुभव, संघर्ष र उतारचढावको यात्रासँगै जनताको असल प्रतिनिधि बन्ने लक्ष्यसहित उम्मेदवारी दिएको स्पष्ट पारे। उनले वर्तमान निर्वाचन सामान्य प्रतिस्पर्धा मात्र नभई देशको भविष्यको दिशा तय गर्ने निर्णायक अवसर भएको बताए। ढकालका अनुसार अहिलेको निर्वाचनले नेपाली समाजमा गम्भीर प्रश्नहरू उठाएको छ।
“देशको शासन सत्ता नेपाली नागरिकले नै चलाउने कि विदेशीको इसारामा सञ्चालित व्यक्तिहरूले ?” भन्दै उनले प्रश्न गरे। साथै, “समाजलाई शान्तिपूर्ण रूपमा परिवर्तन गर्ने कि हिंसा, लुटपाट र अराजकताको बाटो अपनाउने ?” भन्ने विषय पनि निर्वाचनसँग जोडिएको उनको भनाइ छ। एमालेका तर्फबाट दोस्रो पटक चुनावी मैदानमा उत्रिएका ढकालले पार्टीले बाँके क्षेत्र नम्बर–१ बाट सर्वसम्मत रूपमा उम्मेदवारी दिएको बताए। अघिल्लो निर्वाचनमा मत दिएका धेरै मतदाताबाट पुनः उम्मेदवारी दिन आग्रह आएको उनले उल्लेख गरे।
निर्वाचित भएपछि सुरु गरिएका विकासका कामबारे जानकारी दिँदै ढकालले हुलाकी राजमार्ग अन्तर्गतका अधुरा पुलहरूमध्ये केहीको निर्माण अघि बढिसकेको बताए। बाँके राष्ट्रिय निकुञ्ज आसपासका बस्तीहरूमा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि नीतिगत सुधार गरिएको र क्षतिपूर्ति रकम बढाइएको उनको भनाइ छ।
त्यसैगरी, मध्यवर्ती क्षेत्रमा पूर्वाधार विकास गर्न कानुनी सुधार गरिएको, बैजापुर औद्योगिक ग्राम स्थापना गरेर युवाहरूलाई रोजगारी दिने प्रयास गरिएको, तटबन्धन, पुल निर्माण तथा विद्यालयका अधुरा भवन पूरा गर्ने काम अघि बढेको उनले जानकारी दिए। ढकालले दुई वर्षको अवधिमा बाँके र बर्दियाका निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी बजेट ल्याउन सफल भएको दाबी गरे।
“जनतासँग प्रत्यक्ष सम्पर्कमा रहने, संसदमा आवाज उठाउने र राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने काम मैले गरेको छु,” उनले भने। मतदातालाई सन्देश दिँदै ढकालले भने, “मतदान तपाईंहरूको अधिकार हो। जो इमानदार लाग्छ, जसलाई सजिलै काम गराउन सकिन्छ र जो जनताको बीचमा पुग्छ, त्यसैलाई मतदान गर्नुहोस्।” लामो राजनीतिक अनुभव र संघर्षका आधारमा अधुरा सपना पूरा गर्न पुनः चुनावी मैदानमा उत्रिएका सूर्य ढकालले राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षा गर्दै शान्तिपूर्ण परिवर्तनको मार्ग स्थापित गर्ने आफ्नो लक्ष्य रहेको स्पष्ट पारे।









