कोहलपुर \मुक्ति समाज क्षेत्र नम्बर १ निर्वाचन परिचालन कमिटीको आयोजनामा क्षेत्रीय भेला तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरियो।कार्यक्रममा दलित तथा पछाडि पारिएका समुदायको हकहित, अधिकार र सम्मान सुनिश्चित गर्न आगामी निर्वाचन निर्णायक बनाउने प्रतिबद्धता व्यक्त गरियो।
कार्यक्रममा बोल्दै मुक्ति समाजका अगुवा नन्दा विश्वकर्माले नेकपा एमालेका उम्मेदवार सूर्य ढकाल इमानदार, संघर्षशील र जनमुखी नेतृत्व भएको दाबी गर्दै उनलाई विजयी गराउनु नै क्षेत्र नम्बर १ का दलित तथा उत्पीडित समुदायको आवाज सशक्त बनाउने एकमात्र विकल्प भएको बताए।
उनले ढकाल निर्वाचित भएमा क्षेत्रको समग्र विकाससँगै दलित समुदायको हकहित, अधिकार, सामाजिक–आर्थिक उत्थान र समान अवसर व्यवहारमै सुनिश्चित गरिने स्पष्ट पारे। नन्दा विश्वकर्माले वर्षौंदेखि दलित समुदायमाथि हुँदै आएको विभेद, उपेक्षा र राज्यको बेवास्तालाई अन्त्य गर्न अब कमजोर, सम्झौतावादी र अवसरवादी नेतृत्व अस्वीकार्य भएको उल्लेख गरे।
शिक्षा, रोजगारी, स्वास्थ्य तथा आधारभूत पूर्वाधार विकासमा दलित समुदायलाई पहिलो प्राथमिकतामा राखेर निर्णायक काम गरिने उनले दाबी गरे। कार्यक्रममा बोल्दै नेकपा एमालेका उम्मेदवार सूर्य ढकालले दलित तथा पछाडि पारिएका समुदायको विकास र उत्थान एमालेको नारा मात्र नभई निरन्तरको राजनीतिक अभ्यास भएको बताए।
उनले आफू निर्वाचित भएमा क्षेत्र नम्बर १ भित्रका दलित तथा पछाडि पारिएका समुदायलाई आर्थिक रूपमा सबल बनाउने, रोजगारी सिर्जना गर्ने र आत्मनिर्भर बनाउने स्पष्ट योजनासहित दृढतापूर्वक अघि बढ्ने प्रतिबद्धता जनाए। कार्यक्रममा बसन्ती अधिकारि, प्रचार विभाग प्रमुख निर्मला सुनार, केन्द्रीय सदस्यहरू,हारुन हलुवाईलगायत मुक्ति समाजका अगुवा तथा नेताहरूको उल्लेख्य सहभागिता रहेको थियो।













