बाँके\२०७९ सालमा लुम्बिनी प्रदेशमा प्रतिनिधि सभातर्फ सबैभन्दा धेरै सिट नेकपा एमालेले जितेको थियो । कुल २६ सिट रहेको प्रदेशमा एमालेले ११ सिट जितेर आफ्ना सांसदहरू प्रतिनिधि सभामा पठाएको थियो ।
आगामी फागुन २१ गते हुने मतदानलाई लक्षित गर्दै एमालेले लुम्बिनी प्रदेशमा चुनावी कार्यक्रम कसरी सञ्चालन गरिरहेको छ, पार्टीका एजेण्डा के–कस्ता छन् र कति सिट जित्ने आकलन गरिएको छ भन्ने विषयमा केन्द्रित रहेर नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्ष तथा निर्वाचन परिचालन समिति प्रदेश संयोजक राधाकृष्ण कँडेलसँग गरेको कुराकानीको सम्पादित अंश :
लुम्बिनी प्रदेशमा एमालेको चुनावी अभियान अहिले कसरी चलिरहेको छ ?
लुम्बिनी प्रदेशका २६ वटै निर्वाचन क्षेत्रमा हाम्रा उम्मेदवारहरू चुनावी अभियानमा सक्रिय हुनुहुन्छ । प्रदेशमा मेरो संयोजकत्वमा ५०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेर काम गरिरहेका छौँ । उक्त समितिले निर्वाचन व्यवस्थापन, उम्मेदवारसँग समन्वय तथा अभियानलाई प्रभावकारी बनाउने काम गरिरहेको छ । प्रचार–प्रसार, घरदैलो तथा जनताबीच पुग्ने अभियान तीव्र रूपमा सञ्चालन भइरहेको छ ।
उम्मेदवार क्षेत्रगत रूपमा सक्रिय हुँदा प्रदेशले के काम गरिरहेको छ ?
उम्मेदवार स्वयं सक्रिय हुनुहुन्छ । क्षेत्रगत रूपमा निर्वाचन परिचालन समिति, प्रचार–प्रसार समिति लगायत आवश्यक समितिहरू गठन गरी काम भइरहेको छ । प्रदेशले जिल्ला तथा क्षेत्रसँग समन्वय गर्दै आवश्यक सहयोग गर्ने काम गरिरहेको छ ।
म प्रदेशका २६ मध्ये २५ निर्वाचन क्षेत्रमा पुगिसकेको छु । आज गुल्मीको तम्घास (क्षेत्र नम्बर २) र रिडी (क्षेत्र नम्बर १) मा कार्यक्रम छ । रुपन्देही क्षेत्र नम्बर ४ बाहेक सबै क्षेत्रमा पुगेर उम्मेदवार, कार्यकर्ता तथा मतदातासँग भेटघाट गरेको छु । बाँकी रहेको क्षेत्रमा पनि जाने तयारी छ ।
क्षेत्र तथा जिल्लाबाट आएका प्रतिवेदन अध्ययन गर्ने काम भइरहेको छ । जित सुनिश्चित भएका क्षेत्रमा मत अन्तर बढाउने र अप्ठ्यारो क्षेत्रमा रणनीति थप सुदृढ गर्ने काम भइरहेको छ । जहाँ कमजोरी देखिन्छ, त्यहाँ सुधारका योजना अघि बढाइएका छन् ।
एमाले मतदातासँग कस्ता एजेन्डा लिएर गएको छ ?
हामीले ‘सुखी नेपाली, समृद्ध नेपाल’ भन्ने अभियानलाई अघि बढाएका छौँ । राष्ट्रियता कमजोर पार्ने तत्वहरूको विरुद्ध लड्न हामीलाई मत दिन आग्रह गरेका छौँ । मुलुकलाई अप्ठ्यारो अवस्थामा पार्ने प्रयासहरू विरुद्ध उभिन एमाले आवश्यक छ भन्ने सन्देश दिएका छौँ । कानुन र विधिको शासन लागू गर्न एमालेले महत्त्वपूर्ण योगदान दिएको छ ।
हाम्रा २६ उम्मेदवारले शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत् तथा भौतिक विकाससँग सम्बन्धित यथार्थपरक प्रतिबद्धता गरेका छन् । नसकिने प्रतिबद्धता नगर्ने र भ्रम नछर्ने हाम्रो नीति हो ।
मतदाताको प्रतिक्रिया कस्तो पाउनुभएको छ ?
लुम्बिनी प्रदेशमा एमालेप्रति ठूलो असन्तुष्टि देखिएको छैन । केही उम्मेदवारप्रति गुनासा र केही अधुरा योजनाबारे प्रश्न छन्, जुन स्वाभाविक हो । तर एमालेले अझै काम गर्न सक्छ भन्ने विश्वास मतदातामा देखिएको छ ।
नयाँ दलहरूको प्रभाव कस्तो देख्नुभएको छ ?
सामाजिक सञ्जाल र मिडियामा नयाँ दलहरूको चर्चा बढी देखिन्छ । तर भूगोलमा पुग्दा त्यो प्रभाव त्यति बलियो देखिँदैन । मतदाताको झुकाव पुराना दलतर्फ नै छ । नयाँ दलप्रति उत्सुकता भए पनि निर्णायक समर्थन पुरानै दलतर्फ रहेको अनुभूति भयो ।
मुख्य प्रतिस्पर्धा कोसँग हुन्छ ?
२०७९ सालमा कांग्रेस, माओवादीलगायत गठबन्धनसँग प्रतिस्पर्धा भएको थियो । एमाले एक्लै लडेर पनि ११ सिट जितेको थियो । अहिले सबै दल एक्लाएक्लै प्रतिस्पर्धामा छन् । नयाँ दलमध्ये रास्वपाको चर्चा भए पनि हाम्रो मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेससँग नै हुन्छ ।
कति सिट जित्ने आकलन छ ?
विगतमा ११ सिट जितेका थियौँ । अहिले १४ भन्दा बढी सिट जित्ने विश्वास छ । प्रदेशमा आधाभन्दा बढी सिट एमालेले जित्छ भन्ने हाम्रो आकलन छ ।
त्यसका आधारहरू के हुन् ?
मुख्य आधार सङ्गठन हो । सबै क्षेत्रमा हाम्रो सङ्गठन बलियो छ र उम्मेदवारहरू सक्षम छन् । पार्टीका केन्द्रीय तहका नेताहरू पनि उम्मेदवार हुनुहुन्छ । उहाँहरूमा मतदाताको विश्वास र अनुभव दुवै छ । त्यसैले हामीले राम्रो परिणाम ल्याउने विश्वास गरेका छौँ ।
उम्मेदवारहरूले कस्ता समस्या भोगिरहेका छन् ?
जनतासँग जाँदा साना–ठुला गुनासा आउँछन् । विगतमा सुरु भएका केही आयोजना बिचमै रोकिए, जसका कारण प्रश्न उठ्नु स्वाभाविक हो । ती विषयमा स्पष्टीकरण दिनुपर्ने अवस्था छ । तर अन्य विशेष समस्या देखिएका छैनन् ।
कमिटीहरूलाई अझ सक्रिय बनाएर काम अघि बढाइएको छ । पुराना उम्मेदवार अनुभवी हुनुहुन्छ भने नयाँ उम्मेदवारलाई पनि अनुभवी साथीसँग समन्वय गरेर परिपक्वता बढाउन आग्रह गरिएको छ ।













