बाँके\बाँकेमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच निर्वाचनमा तालमेल गर्ने सहमति भएको छ । दुई पार्टीका जिल्ला नेतृत्वबीच प्रतिनिधि सभा र प्रदेश सभातर्फ बाँकेका सबै निर्वाचन क्षेत्रमा तालमेल गर्ने सहमति भएको हो ।
सोमवार भएको सहमति अनुसार बाँके १ र ३ मा एमालेका उम्मेदवारलाई राप्रपाले सहयोग गर्ने र बाँके २ मा राप्रपा उम्मेदवारलाई एमालेले सहयोग गर्ने सहमति भएको छ । प्रतिनिधि सभातर्फ बाँके १ मा एमालेका सूर्य ढकाल र ३ मा किस्मत कुमार कक्षपति तथा बाँके २ मा राप्रपाका धवलशमशेर राणा उम्मेदवार छन् ।
त्यस्तै, प्रदेश सभातर्फ प्रदेश १ (१) मा राप्रपाका नरेन्द्रकुमार पौडेल, १(२) मा एमालेका दुर्गाप्रसाद चौधरी, क्षेत्र नम्बर २ (१) मा विजय यादव, २(२) मा निरकबहादुर गुरुङ, क्षेत्र ३ (१) मा रत्नबहादुर खत्री र ३(२) मा भीमबहादुर ओलीलाई दुवै पार्टीले साझा उम्मेदवारका रुपमा सहयोग गर्ने सहमति भएको छ ।