बाँके\बाँकेको कोहलपुर नगरपालिकामा आजदेखि महोत्सव सुरु भएको छ । ‘मेहनत, सिर्जना, उत्पादन र बस्तु मेरै नेपालको’ भन्ने मूल नाराका साथ पाचौं प्रादेशिक औद्योगिक, लघु, घरेलु तथा कृषि प्रविधि प्रदर्शनी व्यापार एवं पर्यटन महोत्सव-२०८० आजबाट सुरु भएको हो । महोत्सवका प्रमुख अतिथि तथा भौतिक पुर्वधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले महोत्सवको उद्घाटन गरेका थिए ।
उद्घाटनको क्रममा बोल्दै मन्त्री ज्वालाले कोहलपुरमा यातायात कार्यालय स्थापना हुनुपर्ने बताए । यातायात कार्यालय लुम्बिनी प्रदेश सरकारको मातहतमा हुने भएकोले केन्द्र सरकारले यस बारे कुनै निर्णय लिन नसक्ने भन्दै मन्त्री ज्वालाले प्रदेश सरकारले नै पहल गर्नुपर्ने औल्याएका थिए ।
त्यसै गरी मन्त्री ज्वालाले आफ्नै कार्यकालमा चप्परगौंडीदेखि सल्यानको घुईयाबारीसम्म जोड्ने सडक निर्माण कार्य अगाडी बढ्ने दावी गर्दै सडक निर्माणमा देखिएका समस्या समाधानका लागि आवश्यक पहल भइरहेको बताए ।
महोत्सव सुरुको दिनमा कोहलपुर नगरपालिका भित्रका विभिन्न झाँकीहरुको प्रर्दशन भएको थियो । जसमा दलित सेवा समाजको महिलाहरुको ‘पञ्चेबाजा’, गन्दर्र्भ समाजको ‘सारङ्गिको धुन’, जाजरकोटी समाज, दैलेखी समाज, थारु समाज लगायतले आ-आफ्नो प्रस्तुती देखाएका थिए ।











