काठमाडौं / वरिष्ठ साहित्यकार मनबहादुर मुखिया ‘वासु शशी साहित्य सम्मान – २०८१’ बाट सम्मानित हुने भएका छन्। वासु शशी स्मृति परिषद् को निर्णयअनुसार साहित्यकार बिमल वैद्य लाई ‘वासु शशी साहित्य पुरस्कार – २०८१’ तथा साहित्यकार सन्ध्या पहाडी लाई ‘कृष्ण–सरस्वती साहित्य पुरस्कार – २०८१’ प्रदान गरिने छ।
परिषद्का अध्यक्ष गणेश रसिक को अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो। पुरस्कार राशी रु. २५,००० रहेको छ।
साहित्यकारहरूको योगदान
वरिष्ठ साहित्यकार मनबहादुर मुखिया विगत छ दशकदेखि नेपाली नाटक तथा गीत लेखनमा सक्रिय छन्। उनको चर्चित नाटकहरूमा अनि देउराली रुन्छ, क्रसमा टाँगिएको जिन्दगी तथा एकाङ्की कृतिहरू अँध्यारोमा बाँच्नेहरू र फेरि इतिहास दोहोरिन्छ प्रमुख छन्।
चार दशकदेखि साहित्य सृजनामा लागेका बिमल वैद्य का चार कविता कृतिहरू प्रकाशित छन्। तिनमा आकाश छुन खोज्ने मनहरू, समय र सपनाहरू, अक्षर सिम्फोनी र युगको तटमा उभिएर छन्।
तीन दशकदेखि नेपाली साहित्यमा योगदान पुर्याउँदै आएकी सन्ध्या पहाडी का कविता र सम्पादित कृतिहरू प्रकाशित छन्। उनका प्रमुख कृतिहरूमा मृगतृष्णा र अन्य कविता, घामका अक्षर, तथा सहलेखनमा तयार भएको विश्व नारी नेपाली कविता पर्दछन्।
पुरस्कार तथा सम्मान वितरण कार्यक्रम
उक्त सम्मान तथा पुरस्कार वरिष्ठ कवि एवं नाटककार वासु शशीको ८९औं जन्मजयन्तीको अवसरमा आगामी २०८१ चैत १३ गते विशेष समारोहमा प्रदान गरिने परिषद्का सदस्य-सचिव प्रद्युम्न जोशी ले जानकारी गराए।
यसअघि ‘वासु शशी साहित्य पुरस्कार’ बाट विनोद अश्रुमाली, मञ्जु काँचुली, बद्री पलिखे, गणेश रसिक, हेम हमाल, विश्वविमोहन श्रेष्ठ, अशेष मल्ल, हरि अधिकारी, कृष्णभूषण बल, काजी रोशन, डा. विष्णुविभु घिमिरे, नरेन्द्रबहादुर श्रेष्ठ, डा. विमल कोइराला, तीर्थ श्रेष्ठ, कणाद महर्षि, उषा शेरचन, गोविन्द गिरी प्रेरणा, शैलेन्द्रप्रकाश नेपाल, इन्दिरा प्रसाईं, राधेश्याम लेकाली, मोमिला जोशी, श्यामल, प्रतिसरा सायमी लगायतका साहित्यकारहरू पुरस्कृत भइसकेका छन्।
यस्तै, ‘वासु शशी स्मृति सम्मान’ बाट तीर्थराज वन्त, डा. मोहन हिमांशु थापा, तुलसी दिवस, भैरवनाथ रिमाल ‘कदम’, प्रदीप रिमाल, यादव खरेल, गीता केशरी, शिव रेग्मी, परशु प्रधान, कालीप्रसाद रिजाल, कृष्ण जोशी, रमा शर्मा, श्रीधर खनाल, ज्ञान उदास, भागिरथी श्रेष्ठ, कल्पना प्रधान, श्रेष्ठ प्रिया पत्थर, कर्ण शाक्य, हिरण्य भोजपुरे, किरण खरेल जस्ता प्रतिष्ठित साहित्यकारहरू सम्मानित भइसकेका छन्।