बाँके\बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयमा रहेका भारतीय उन्नत जातका मुर्रा राँगाबाट पाडापाडी उत्पादन सुरु भएको छ ।कार्यालयका पशु सेवा प्राविधिक देवनारायण जैसीले कार्यालयमा रहेका भारतीय उन्नत जातका मुर्रा राँगाबाट वीर्य सङ्कलन तथा उत्पादन गरी परीक्षणपश्चात भैँसीलाई कृत्रिम गर्भाधान गराइ पाडापाडी उत्पादन सुरु भएको बताए ।
गत वर्ष भारत सरकारले नेपाललाई अनुदानमा दिएको १५ वटा मुर्रा राँगामध्ये तीन वटा उन्नत जातका मुर्रा राँगा गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयमा ल्याइएका छन् । तीनमध्ये दुई वटा राँगाबाट वीर्य सङ्कलन र उत्पादन हुँदै आएको छ ।
गत वर्ष चैत २४ गते एनएम ९२ एमपी नामको भारतीय उन्नत जातको मुर्रा राँगाबाट कृत्रिम गर्भाधान गराइएको भैँसीले गत माघ २६ गते पाडा जन्माएको हो ।
गत आर्थिक वर्षमा राँगा, साँढे र बोकाको गरी एक लाख २० हजार २४५ डोज जमेको वीर्य उत्पादन गरेको कार्यालयले जनाएको छ ।
चालु आर्थिक वर्षमा एक लाख बढी डोज वीर्य उत्पादन गर्ने लक्ष्य कार्यालयले लिएको छ ।