काठमाडौं \नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेको छ ।
बुधबार बिहान सवा ९ बजेबाट शुरू भएको मतदानमा साँझ सवा ७ बजेसम्म ११ सय प्रतिनिधिले मत हालेका छन् ।एमालेको केन्द्रीय निर्वाचन आयोगका सचिव कुन्साङ लामाले साँझ ७:१५ बजेसम्म ११ सय मत खसेको जानकारी दिए ।
एमाले महाधिवेशनमा २ हजार २ सय ६२ प्रतिनिधि छन् । एक जनाका लागि मत हाल्न औसत ३५ मिनेट समय लागेको निर्वाचन आयोगका अर्का एक पदाधिकारीले बताए । उनका अनुसार केही प्रतिनिधिले ९ मिनेटमा पनि मतदान सकेका छन् भने केहीलाई २ घण्टासम्म लागेको उनले बताए ।
१९ पदाधिकारी, ३०१ केन्द्रीय सदस्य तथा अनुशासन आयोग र लेखा आयोगका पदाधिकारीका लागि निर्वाचन भएको हो ।मंसिर २८ गते शनिबार शुरू भएको एमाले महाधिवेशन नयाँ नेतृत्व चयन गरेर समापन हुनेछ ।अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी प्रतिस्पर्धामा छन् ।








