४ बैशाख २०८३, शुक्रबार

बाँकेका साढे ३ लाख बढीले निर्वाचनमा मतदान गर्दै
  • न्युज मानसराेवर

बाँके\ आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बाँकेमा साढे ३ लाख मतदाताले मतदान गर्ने भएका छन् । जिल्ला निर्वाचन कार्यालय बाँकेका अनुसार उक्त निर्वाचनमा ३ लाख ५० हजार ३ सय ७१ मतदाता सहभागी हुन लागेका छन् । यस पटक १६ हजार ४ सय ३७ मतदाता थपिएका छन् ।

जिल्ला निर्वाचन कार्यालय बाँकेले शुक्रबार नेपालगन्जमा आयोजना गरेको निर्वाचन र आमसञ्चार सम्बन्धी अन्तरक्रिया कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी टेक बहादुर शाहीले १ लाख ७८ हजार १ सय ३८ जना पुरुष र १ लाख ७२ हजार २ सय २३ जना महिलाले निर्वाचनमा मतदान गर्न लागेको जानकारी दिए । निर्वाचनका अन्य ९ जना मतदाता रहेका छन् ।

अस्थायी मतदाता २ हजार ९ सय ३० जना रहेको कार्यालयले जनाएको छ । यसअघि बाँकेमा ३ लाख ३३ हजार ९ सय ३४ मतदाता रहेका थिए । कार्यालय प्रमुख शाहीका अनुसार जिल्लाभर १ सय ३९ मतदान स्थल र ४ सय मतदान केन्द्र तयारी अवस्थामा राखिएको छ । फागुन १० देखि १४ गतेसम्म ८०६ जना मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम पनि दिइसकिएको शाहीले बताए ।

बाँकेमा ३ वटा निर्वाचन क्षेत्र रहेका छन् । कार्यालयका अनुसार क्षेत्र नम्बर १ मा १ लाख २४ हजार ७ सय २७, क्षेत्र नम्बर २ मा १ लाख ८ हजार २ सय ९० र क्षेत्र नम्बर ३ मा १ लाख १७ हजार ३ सय ५४ जना मतदाता रहेका छन् ।

  • १५ फाल्गुन २०८२, शुक्रबार प्रकाशित

  • Nabintech