२४ जेष्ठ २०८३, आईतवार

बबई सिँचाइ आयोजनामा हाल सम्म कै बढी बजेट
  • न्युज मानसराेवर

बाँके\राष्ट्रिय गौरवको आयोजना बबई सिँचाइ आयोजनामा हाल सम्म कै उच्च बजेट विनियोजन भएको छ ।आगामी आर्थिक वर्षको लागि चालु आर्थिक वर्षको भन्दा ३० प्रतिशत बढी बजेट विनियोजन भएको छ । आगामी आर्थिक वर्ष २०८३÷८४ को लागि दुई अर्ब ५५ करोड ७९ लाख रकम विनियोजन भएको छ ।

जसमध्ये चालु तर्फ तीन करोड ७६ लाख र पुँजीगत तर्फ दुई अर्ब ५२ करोड तीन लाख रकम विनियोजन भएको छ । चालु आर्थिक वर्ष २०८२÷८३ मा एक अर्ब ८२ करोड रकम विनियोजन भएको बबई सिँचाइ आयोजनाका निर्देशक गोपाल शर्माले बताउनुभयो ।

उहाँले बबई सिँचाइ आयोजना स्थापना भए देखि कै सबैभन्दा बढी बजेट विनियोजन भएको बताउनुभयो । बजेट न्यून बिनियोजन भएको हुनाले आयोजना समयमा सम्पन्न हुन नसकेको बताउँदै केही वर्ष यता पर्याप्त बजेट विनियोजन हुँदै आएको उहाँले जानकारी गराउनुभयो ।

“अब बजेट अभावका कारण आयोजनाको काम रोकिदैन ।” निर्देशक शर्माले भन्नुभयो, “अन्य समस्या नआएमा तोकिएको समयमा आयोजना सम्पन्न हुनेछ ।”

आयोजना दुई देखि तीन वर्ष भित्रमा सकाउने उद्देश्यले बजेट माग गरिएकाले सोही अनुसार बजेट विनियोजन भएको उहाँले जानकारी गराउनुभयो ।बर्दियाका छ ओटा स्थानीय तहको ३६ हजार हेक्टरमा सिँचाइ गर्ने उद्देश्यका साथ बबई सिँचाइ आयोजना निर्माणाधीन छ । आयोजनाको हाल सम्मको भौतिक प्रगति ८१ प्रतिशत र वित्तिय प्रगति ६५ प्रतिशत भएको आयोजनाका सूचना अधिकारी शेखर नाथ न्यौपाने बताउनुभयो ।

उहाँका अनुसार आयोजनाले निर्माण गर्नुपर्ने ७७ किलोमिटर मुल नहर मध्ये ७१ किलोमिटर निर्माण भइसकेको छ भने ३३७ किलोमिटर शाखा र प्रशाखा नहर निर्माण भइसकेको छ ।पूर्व तर्फका नहर निर्माणको काम सम्पन्न भएको छ । भने पश्चिम तर्फको काम भइरहेको छ । बबई सिँचाइ आयोजनाले सिँचित क्षेत्र संरक्षण कार्यक्रम अन्र्तगत बबई नदिमा हाल सम्म ३१ किलोमिटर तटबन्ध निर्माण भएको छ ।

अझै नौ किलोमिटर तटबन्ध निर्माण बाँकी रहेको सूचना अधिकारी न्यौपानेले बताउनुभयो ।२०४५ साल देखि सुरु भएको बबई सिँचाइ आयोजनाको आगामी २०८५÷८६ सम्म आयोजनाको निर्माणको काम सम्पन्न गर्ने लक्ष्य रहेको छ  ।आयोजनाको लागत २६ अर्ब रहेकोमा १८ अर्ब रकम लगानी भइसकेको छ ।

  • २४ जेष्ठ २०८३, आईतवार प्रकाशित

  • Nabintech