२६ जेष्ठ २०८३, मंगलवार

नेपालगन्ज नाकामा आयात–निर्यात वृद्धि
  • न्युज मानसराेवर

बाँके\पश्चिम नेपालकै प्रमुख व्यापारिक नाकामध्ये एक नेपालगन्ज नाकाबाट चालु आर्थिक वर्षमा आयात तथा निर्यात दुवै वृद्धि भएको छ। नेपालगन्ज भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको १० महिनाको अवधिमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ११ प्रतिशतले आयात र करिब १० प्रतिशतले निर्यात वृद्धि भएको हो।

भन्सार कार्यालय प्रमुख जनार्दन पौडेलका अनुसार यस वर्ष वैशाख महिनासम्म यो नाकाबाट ७० अर्ब २३ करोड ९ लाख २४ हजार रुपियाँ बराबरको सामान आयात भएको छ। गत वर्ष सोही अवधिमा ६३ अर्ब ३२ करोड ७० लाख ६० हजार रुपियाँ बराबरको सामान आयात भएको थियो। गत वर्षको तुलनामा हालसम्म करिब सात अर्ब रुपैयाँ बराबरको आयात वृद्धि भएको देखिन्छ।

यसैगरी, चालु आर्थिक वर्षको १० महिनामा यो नाकाबाट दुई अर्ब ८२ करोड ६९ लाख ६७ हजार रुपियाँ बराबरको सामान निर्यात भएको छ। गत वर्ष सोही अवधिमा दुई अर्ब ५८ करोड ३० लाख २६ हजार रुपियाँ बराबरको सामान निर्यात भएको थियो। यसअनुसार करिब २४ करोड रुपियाँभन्दा बढीले निर्यात वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ।

यो नाकाबाट सबैभन्दा बढी आयात हुने वस्तुहरूमा पेट्रोलियम पदार्थ, चामल, दाल, कपडा, मकै लगायत खाद्यान्न, चिनी, तरकारी तथा फलफूल र विभिन्न मेसिनरी सामानहरू रहेका छन्।त्यसैगरी, निर्यात हुने वस्तुहरूमा जडीबुटी, खोटो–रोजिन, टर्पेन्टाइन तेल, काजु हस्क, अदुवा सुठो, खरेटो कुचो, बहुमूल्य पत्थर, सिलाजित पेस्ट र सिमेन्ट खैरो रहेका छन्।

यसका साथै खयर कत्था, वनस्पतिका सार, एसेंशियल आयल, रिठ्ठा तथा नौनी बटर घ्यूको निर्यात पनि उल्लेख्य रूपमा वृद्धि भएको भन्सार कार्यालय प्रमुख पौडेलले बताउनुभयो।उहाँका अनुसार आयात–निर्यात दुवै वृद्धि भए पनि राजस्व संकलन भने करिब दुई प्रतिशत मात्र वृद्धि भएको छ।नेपालगन्ज नाकाबाट चालु आर्थिक वर्षको १० महिनामा १६ अर्ब ७३ करोड ९७ लाख ५९ हजार रुपियाँ राजस्व संकलन भएको छ। गत वर्ष सोही अवधिमा १६ अर्ब ४६ करोड २४ लाख रुपियाँ राजस्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ।साभार

  • २६ जेष्ठ २०८३, मंगलवार प्रकाशित

  • Nabintech