१४ बैशाख २०८१, शुक्रबार

कोहलपुर-सुर्खेत विद्युत् लाइन : बाघका कारण काम प्रभावित, कहिले लेला गति ?

बाघले मानिसलाई आक्रमण गर्न थालेपछि बर्दिया क्षेत्रमा पोल रहने स्थानको माटो परीक्षण र फाउन्डेसन निर्माण कार्य रोकिएको छ।

  • न्युज मानसराेवर

बाँके बैजनाथ । कोहलपुर-सुर्खेत १३२ केभीए विद्युत् प्रसारण लाइनको अन्तिम डिजाइन तयार भएको छ।

झण्डै तीन महिनाको सर्वेक्षण तथा स्थलगत अध्ययनपछि आयोजनाको अन्तिम डिजाइन तयार भएको हो।

निर्माणको ठेक्का लिएको ‘आरएस इन्फ्राप्रोजेक्ट प्राइभेट लिमिटेड’ले आयोजनालाई बुझाएको अन्तिम प्रतिवेदनअनुसार लाइन विस्तारका गर्दा १६० पोल निर्माण गरिने छ, जसमा केही एंगल टावरसमेत निर्माण हुनेछन्।

१६० पोलमध्ये १३० पोल सार्वजनिक तथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्छ।

बाँकी ३० पोल भने व्यक्तिको जग्गामा निर्माण गर्नुपर्ने देखिन्छ। त्यसको लगत संकलनको काम थालिएको छ।

आयोजनाका अनुसार बाँकेको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका, सुर्खेतको भेरीगंगा, लेकवेशी र वीरेन्द्रनगर नगरपालिकाभित्रका केही स्थानीयको जग्गा अधिग्रहणमा पर्नेछन्।

अतिक्रमणमा पर्ने जग्गा धनीलाई मुआब्जा वितरण गर्ने उद्देश्यले लगत संकलन थालिएको आयोजना प्रमुख रविकुमार चौधरीले जानकारी दिए।

उनले भने, ‘३० पोलमा कति व्यक्तिको जग्गा पर्दछ भनेर लगत संकलन थालेका हौँ,’ उनले भने, ‘लगत संकलन सकिएपछि मुआब्जा वितरणको प्रक्रिया अगाडि बढाइने छ।’

मुआब्जा वितरण भएपछि मात्रै व्यक्तिको जग्गा प्राधिकरणले लिने उनको भनाइ छ।

प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा मुआब्जा निर्धारण समिति गठन गरिने छ। मुआब्जा निर्धारण समितिको सिफारिसका आधारमा प्रभावितलाई आयोजनाले मुआब्जा वितरण गर्ने छ।

आगामी वैशाखसम्म मुआब्जा वितरण सुरू गर्ने गरी काम थालिएको आयोजनाले जनाएको छ।

१३२ केभीए लाइन विस्तार गर्दा आयोजनाले सुर्खेत, बाँके र बर्दिया जिल्लालाई समेट्छ।

दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी गत असार २२ गते आयोजनाले भारतीय निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्राइभेट लिमिटेडसँग सम्झौता गरेको छ।

७० करोड लागतमा ठेक्का लिएको निर्माण कम्पनीले विद्युत् लाइन प्रसारणका लागि डिजाइन, निर्माण, परीक्षण, वितरण र प्लान्ट खरिदलगायतका सम्पूर्ण काम दुई वर्षभित्र गरिसक्नुपर्ने छ।

तोकिएकै समयमा आयोजना सम्पन्न भए कर्णालीवासीलाई ठूलो राहत मिल्ने छ। हाल कर्णालीमा ३२ केभीए विद्युत्लाइन छ।

बाघका कारण काम प्रभावित

पछिल्लो समय बर्दिया राष्ट्रिय निकुञ्जमा बाघले आतंक मच्चाएपछि कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत् प्रसारण आयोजनाको कामसमेत प्रभावित भएको छ।

नियन्त्रणमा लिइएको बाघ पुनः खोरबाट भागेपछि आयोजनाको काम प्रभावित भएको हो।

‘बाघले मानिसलाई आक्रमण गर्न थालेपछि बर्दिया क्षेत्रमा पोल रहने स्थानको माटो परीक्षण र फाउन्डेसन निर्माण कार्य रोकिएको छ,’ आयोजना प्रमुख चौधरीले भने, ‘बाघ नियन्त्रण नभएसम्म निकुञ्ज क्षेत्रको काम प्रभावित हुन्छ।’

हाल बर्दिया निकुञ्जबाहेकका क्षेत्रमा भने पोलहरूको माटो परीक्षण र फाउन्डेसन निर्माण भइरहेको छ।

आगामी वैशाखको अन्तिमसम्म फाउन्डेसन तयार गरिसक्ने आयोजनाको लक्ष्य छ।

  • १५ चैत्र २०७७, आईतवार प्रकाशित

  • Nabintech