१२ बैशाख २०८१, बुधबार

किरण एसियाकै उत्कृष्ट

एएफसीको वेबसाइटमा गरिएको भोटिङमा ५५.६९ प्रतिशत मत प्राप्त गर्दै किरण एसियाकै उत्कृष्ट खेलाडी भएको एएफसीले जनाएको छ ।

  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  गोलकिपर किरण चेम्जोङले आफ्नो कप्तानीमा नेपाली राष्ट्रिय फुटबल टोलीलाई पहिलो उपाधिका रूपमा थ्री नेसन्स कप जिताए, जुन घरेलु भूमिमा राष्ट्रिय टिमले ३७ वर्षपछि हात पारेको उपाधि हो ।

त्यसको एक दिनअघि किरणले भारतको माथिल्लो श्रेणीको आई लिगमा उत्कृष्ट गोलकिपरको ‘गोल्डेन ग्लोभ्स अवार्ड’ जितेका थिए । त्यसको एक सातामै अर्को सफलताका रूपमा उनी ‘एएफसी इन्टरनेसनल प्लेयर अफ द विक’ भएका छन् । यो स्तरको सफलता हात पार्ने उनी पहिलो नेपाली खेलाडी हुन् ।

एसियाली फुटबल महासंघ (एएफसी) ले महादेशकै साताका उत्कृष्ट १० खेलाडीको सूची सार्वजनिक गरेको थियो । एएफसीको वेबसाइटमा गरिएको भोटिङमा ५५.६९ प्रतिशत मत प्राप्त गर्दै किरण एसियाकै उत्कृष्ट खेलाडी भएको एएफसीले सोमबार जनाएको छ ।

साउदी अरेबियाका फरवार्ड सलेह अल सेहरी (२०.७२) दोस्रो र इराककी राइट–ब्याक अला अली मवाई (१०.१६) तेस्रो भए । उनीहरूसँगै उत्कृष्ट १० मा यूएईका अली माबखोत, कतारका मोहमद मुन्तरी, जापानका युया ओसाका, इरानका सरदार अजमोन, बहराइनका मोहमद मरहुन, जोर्डनका मुसा अल तामरी र ताजकिस्तानका अलिसेर जालिलोभ छन् । ‘एसियाकै साताका उत्कृष्ट खेलाडीमा मेरो नाम आउँछ र जित्छु भन्ने सोचेको थिइनँ ।

हाम्रोजस्तो देशका खेलाडीले खासै अवसर पाउँदैनन् । यसअघि नेपाली खेलाडी मनोनयनमै परेको थिएन । त्यसैले भोटिङमा जित्दा अविश्वसनीय नै भयो,’ थ्री नेसन्स कपका तीनमध्ये दुई खेलमा विपक्षीलाई गोल गर्ने अवसर नदिएका ३१ वर्षीय चेम्जोङले खुसी साटे, ‘हाम्रो पनि सम्भावना छ भन्ने देखियो । मैले सबैभन्दा धेरै भोट पाउनु भनेको नेपाली फुटबलप्रेमीको माया हो । सानो देश भए पनि हामी एकसाथ गर्न सक्छौं भन्ने भएको छ ।’

भियतनामको न्होम्पेनमा सन् २००८ मे २४ मा मकाउविरुद्ध भएको खेलबाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेयता उनले राष्ट्रिय ६९ खेल खेलेका छन् । ‘यो सफलता मेरो जीवनकै महत्त्वपूर्ण उपलब्धि हो । मैले करिअरलाई बलियो बनाउँदै लगेको छु भन्ने महसुस भएको छ । अझै केही गर्छु भन्ने ऊर्जा थपिएको छ । यसले नयाँ पुस्ताका लागि पनि राम्रो अवसर खोल्छ जस्तो लागेको छ,’ उनले भने । क्लब फुटबलमा पाँच वर्षयता माल्दिभ्स र भारतका लिग निरन्तर खेलिरहेका चेम्जोङले एसियाकै राम्रो लिग खेल्ने इच्छा रहेको बताए । उनले नेपालको ए डिभिजन लिग (थ्रीस्टार), माल्दिभ्सको धिवेही प्रिमियर लिग (टीसी स्पोर्ट्स) र भारतको आई लिग (मिनेरवा पन्जाब) जितेका छन् । र, उनी तीन देशको लिग जित्ने पहिलो नेपाली फुटबलर हुन् । उनले बंगलादेशको लिग पनि खेलेका छन् ।

पछिल्लो सिजन आई लिगमा तीनपल्ट ‘हिरो अफ द म्याच’ भएका चेम्जोङलाई एसियाकै साताका उत्कृष्ट खेलाडीमा मनोनयन गर्दा एएफसीको वेबसाइटमा लेखिएको थियो, ‘नेपाल यस इन्टरनेसनल विन्डो’ (अन्तर्राष्ट्रिय खेलका लागि छुट्याइएको अवधि) मा सन् २०१९ देखि गोल नगरेको अवस्थामा आइपुगेको थियो । तर, आत्मविश्वास वृद्धि गर्दै त्यसलाई अन्त्य गर्‍यो र बंगलादेशलाई २–१ ले हराएर काठमाडौंमा थ्री नेसन्स कप जित्यो । त्यो सफलताको केन्द्रमा गोलकिपर एवं कप्तान किरण चेम्जोङ रहे, जसले तीन खेलमा (दुई खेलमात्रै अन्तर्राष्ट्रिय) एक गोलमात्र बेहोरे र नेपालको जित सुनिश्चित गर्दै विराज महर्जनको बिदाइ भव्य बनाइदिए ।’

नेपालले दशरथ रंगशालामा गत साता सम्पन्न थ्री नेसन्स कपको फाइनलमा बंगलादेशलाई २–१ ले हराएर उपाधि जितेको थियो । समूह चरणमा किर्गिस्तान यू–२३ र बंगलादेशसँग गोलरहित बराबरी खेलेको नेपालले फाइनलमा आएर ८ खेलदेखिको गोल र जितविहीन यात्रालाई पूर्णविराम लगाएको थियो ।

कान्तिपुर बाट साभार समाचार

  • २४ चैत्र २०७७, मंगलवार प्रकाशित

  • Nabintech