लुम्बिनी/बर्दिया — रूपन्देहीको तिलोत्तमा–६ का टीकाराम चापागाईं मंगलबार बिहान बाँकी रोपाइँ सक्न खेतमा पुगे । धान दिवस पर्ने भएकाले उक्त खेत रोप्न असार १५ पर्खेको उनले बताए । ‘असार १५ किसानका लागि विशेष दिन हो,’ उनले भने, ‘रोपाइँ सकिने दिनका रूपमा मनाउने गरिएको छ ।’ यस वर्ष सजिलै मल, बीउ पाएको र पर्याप्त पानी परेकाले धान धेरै फल्ने उनले अनुमान सुनाए ।
सैनामैना–७ देउवापारका ठाकुरप्रसाद न्यौपानेलाई पनि अहिलेको रोपाइँ र असार १५ खल्लो लाग्यो । आफू १२ वर्षको हुँदादेखि नै कृषिमा लागेका उनले टपरीमा खाइने दही–चिउरा, हिलाम्य हुने अन्तिम रोपाइँ अहिले नदेखिने बताए । ‘समय परिवर्तन भयो भन्ने कि मानिस,’ उनले भने, ‘अहिले त रोपाइँ पनि देखावटीजस्तो भयो ।’ उनले रोप्दै फोटो खिच्दै गर्ने प्रचलन बढेको देख्दा खास किसानले त्यति गर्न पनि नभ्याउने सुनाए ।
नयाँ पुस्ताले भने धान रोपाइँसँगै अन्य पर्व, दिवस आदिलाई फोटो खिच्ने र सामाजिक सञ्जालमा पोस्ट्याउने अवसरका रूपमा लिएको पाइन्छ । धान रोपाइँ भइरहेको खेतमा बीउ हातमा लिई तस्बिर खिच्ने, रोपाइँको ब्लग नै बनाएर युट्युबमा राख्ने युवाको जमात सञ्जालमा प्रशस्तै देखिन्छ । युवा पुस्ताले कृषि विषय लिएरै पढेको भए पनि कृषिका काम प्रयोगात्मक परीक्षाका लागि सीमित राख्ने गरेका छन् ।
बर्दियामा मंगलबारसम्म करिब ६१ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । असार पहिलो सातासम्म जिल्लामा मनसुन सक्रिय नभएका कारण रोपाइँ ढिलो भएको हो । जिल्लाको सिँचाइ हुने राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा झन्डै ९० प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि विकास कार्यालयले जनाएको छ ।
राजापुर पश्चिम नेपालको धान उत्पादन हुने भण्डार मानिन्छ । राजापुर टप्पुको १४ हजार हेक्टरमा सिँचाइ सुविधा भएका कारण रोपाइँ असार चौथो साताभित्र शतप्रतिशत हुने अनुमान गरिएको छ ।
एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका प्रमुख विनोद घिमिरेले हालसम्म बर्दियामा करिब ६१ प्रतिशत रोपाइँ भए पनि असार महिनाभित्र सकिने बताए । बर्दियाको करिब ५५ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको उनले जनाए । यहाँका ७० प्रतिशत किसानले हलोबाट जोत्ने गरेका छन् । सिँचाइ सुविधा भएको मधुवन नगरपालिकाको केही क्षेत्रलगायत ठाकुरबाबा, बासगढी र बारबर्दिया नगरपालिकामा ५५ प्रतिशत रोपाइँ भएको छ ।
रूपन्देहीमा असार ११ गतेसम्मको तथ्यांक हेर्दा ५५ प्रतिशत रोपाइँ सकिएको छ । यही अवधिमा गत वर्ष ५६ दशमलव ८ प्रतिशत रोपाइँ सकिएको थियो । रूपन्देहीमा कुल ८२ हजार ६ सय २२ हेक्टर खेतीयोग्य जमिनमध्ये ६९ हजार ७ सय हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । गत वर्ष भने ६७ हजार ५ सय ५० हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ भएको थियो । यस वर्ष ३८ हजार ३ सय ३५ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको कृषि विकास निर्देशनालय लुम्बिनी प्रदेशका अधिकृत दीनबन्धु पौडेलले बताए ।
उनका अनुसार लुम्बिनी प्रदेशमा रहेको कुल ६ लाख ८६ हजार ७ सय ४ हेक्टर खेतीयोग्य जमिनमध्ये ३ लाख ३४ हजार ६ सय ७५ हेक्टरमा धान खेती हुन्छ । समग्र प्रदेशमा यस वर्ष करिब ४६ प्रतिशत रोपाइँ सकिएको छ । प्रदेशभरि धान खेती हुने कुल ३ लाख ३४ हजार ६ सय ७५ हेक्टर क्षेत्रफलमध्ये १ लाख ५३ हजार ३ दशमलव ५ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको हो । इकान्तिपुर