४ श्रावण २०८१, शुक्रबार

प्रादेशिक अस्पतालको फोहोर व्यवस्थापन : अब गाड्नु र जलाउनु पर्दैन
  • न्युज मानसराेवर

दाङ\ दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालले यसअघि अव्यवस्थितरूपमा फोहोर फाल्ने गरेको थियो। अस्पतालले फालेका फोहोर किसानको खेतमा गएर खेत जोत्दा किसानका खुट्टामा सुई बिझ्थे। फोहोर व्यस्थापनका लागि धेरै पटक किसान अस्पतालमै पनि पुगे तर, लामो समय किसानले सास्ती नै खेप्नुपर्‍यो।

अस्पताल वरपर नै दुर्गन्धित हुन्थ्यो तर, अब भने त्यो समस्या हटेर गएको छ। अस्पतालमा स्वास्थ्यजन्य फोहोर व्यवस्थापन केन्द्र स्थापना भएपछि भने त्यो समस्या अन्त्य भएको छ। अब अस्पतालजन्य फोहोर त्यही केन्द्रमा पठाउने र संक्रमणयुक्त फोहरलाई संक्रमणमुक्त बनाइने छ। गल्ने, नगल्ने फोहरलाई छुट्टै राखिनेछ।

अस्पतालका प्रमुख निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा ओम अर्यालका अनुसार संक्रमणमुक्त बनाइएका ती फोहोरलाई उपमहानगरपालिकाको जिम्मा लगाइनेछ। ‘पहिले नगरपालिकाले पनि लिन नमानेपछि हामीले गाड्ने, जलाउने र त्यतिकै फाल्ने पनि गरिएको अवस्था थियो’, उनले भने, ‘तर, अब संक्रमणमुक्त बनाएपछि नगरपालिकासँग समन्वय गरेर व्यवस्थापन हुनेछ, यसले अस्पतालको फोहर व्यवस्थापनमा सहज भएको छ।’

अस्पतालमा फोहोरलाई संक्रमणमुक्त गर्नका लागि दुई वटा मेसिन जडान गरिएको छ। ती मेसिनबाट फोहोरलाई संक्रमणमुक्त गरेपछि छुट्टै राखिन्छ, र उपमहनगरपालिकालाई जिम्मा लगाइन्छ। यूएनडीपी र चाइन एडले उक्त केन्द्र स्थापना गरेका हुन्। दुई करोड ५० लाख रुपैयाँ लागतमा उक्त केन्द्र स्थापना गरिएको हो।

घरमा हुने फोहोर र अस्पतालमा हुने फोहोरमा निक्कै फरक हुने भन्दै यसलाई व्यवस्थापन गर्न आफूहरुले भवन निर्माण गरेको यूएनडीपीका आयोजना प्रबन्धक राजेश मिश्रले बताए।अस्पताल सफा नभएमा झनै रोग फैलिन सक्ने भन्दै दाङसहित विभिन्न छ अस्पतालमा यस्ता सरसफाइ केन्द्र स्थापना गरिएको हो। एक वर्षदेखि निर्माण थालिएको उक्त कार्य भर्खरै सम्पन्न भएर अस्पताललाई हस्तान्तरण गरिसकेको छ।

यहाँ जोडिएका मेसिन उच्च गुणस्तरको भएको समेत मिश्रले दाबी गरे। यो मेसिन जडानका लागि चीनबाट प्राविधिक आएका थिए। साथै त्यहाँ कार्यरत कर्मचारीलाई सिकाउनका लागि तीन दिने तालिमसमेत प्रदान गरिएको छ।

  • १७ मंसिर २०७९, शनिबार प्रकाशित

  • Nabintech