७ जेष्ठ २०८१, सोमबार

एकै दिन १६ हजार ओखरका बिरुवा रोपिए
  • न्युज मानसराेवर

रुकुम पूर्व \रुकुम पूर्वमा एकसाथ १६ हजार ओखरका बिरुवा रोपिएका छन् । जिल्ला सदरमुकाम सिस्ने गाउँपालिका–५ रुमालबारामा लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री दुर्गाप्रसाद चौधरीले एउटा बिरुवा रोपेर यसको सुरुवात गरेका हुन् । ओखरका बिरुवा रोपन अभियान जिल्लाका भुमे र पुथाउत्तरगंगाबाट पनि एकसाथ थालिएको हो ।फर्नर जातको ओखरको बिरुवा रुमालबारासँगै भुमे–३ झम्लिबाङ र पुथाउत्तरगंगा–१३ को पिपलतुङमा रोपिएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत पूर्णप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार मंगलबार एकै दिन जिल्लाका १ सय ४२ जना कृषकको निजी जग्गामा ओखरका बिरुवा रोपिएको छ ।

लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्लाका रूपमा रहेको रुकुम पूर्व ओखर खेतीका लागि उपयुक्त भएको बताउँदै डिभिजनल वन अधिकृत जितेन्द्र खड्काले अघिल्लो वर्ष १० हजार र केही दिनअघि २ हजार ७ सय ३५ र मंगलबार १६ हजार गरी हालसम्म २७ हजार ७ सय ३५ ओखरका बिरुवा रोपिएको बताए ।‘यहाँ पहिलोदेखि नै हाडे ओखरको व्यावसायिक उत्पादन गरिँदै आएको थियो,’ उनले भने, ‘अहिले रोपिएका बिरुवाचाहिँ कलमी दाँते ओखर हो । हाडे ओखरभन्दा यो दुई गुणा बढी फल्छ ।’ उच्च पहाडी क्षेत्रमा ओखर विकास कार्यक्रमअन्तर्गत दाँते ओखरको कलमी बिरुवा रोपिएको र यसले दुई वर्षभित्र उत्पादन दिन सुरु गर्ने खड्काको भनाइ छ ।

जिल्लामा ओखर खेती बढाउन र यसलाई व्यावसायिक बनाउनका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ओखर जोन कार्यक्रम नै सञ्चालनमा छ भने एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयले पनि ओखर खेतीका लागि प्रोत्साहन गरिरहेको छ ।

  • १८ फाल्गुन २०७९, बिहीबार प्रकाशित

  • Nabintech