१६ चैत्र २०८०, शुक्रबार

‘उपभोक्ताहरुमा सचेतनासँगै नियमनकारी भूमिका आवश्यक’
  • न्युज मानसराेवर

बाँके\उपभोक्ता अधिकारको सवालमा स्वयम् उपभोक्ताहरु नै सचेत हुनुपर्नेमा जोड दिइएको छ । नेपालगञ्जमा बुधवार विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा आयोजित उपभोक्ता हित संरक्षणका सवालमा सरोकारवाला पक्षहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले उपभोक्ताहरुमा सचेतनासंगै नियमनकारी निकायले पनि आफ्नो भूमिकालाई इमान्दारीपूवर्क निभाउनुपर्नेमा जोड दिएका हुन् ।

नेपालगञ्ज उपमहानगरपालिकाले आयोजना गरेको कार्यक्रममा उपभोक्ताहरुको हित संरक्षणमा सरोकारवाला निकाय गम्भीर बन्नुपर्ने बताइएको छ । अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले गुणस्तरीय खाद्य सेवा प्रवाहका निमित्त बजार अनुगमनलाई प्रभावकारी बनाइने बताए । प्रभावकारी बजार अनुगमनका लागि प्रशासन गम्भीर रहेको बताउँदै उनले उपभोक्ता हित संरक्षणका लागि व्यवसायिक सुशासन, नियमन र उपभोक्ता सचेतना जरुरी रहेको उल्लेख गरे ।

नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले उपभोक्ता हित संरक्षणका सवालमा आफूहरु संवेदनशील रहेको बताउँदै स्वयम् उपभोक्ता पनि सजग भएर उपभोग्य बस्तुहरुको खरिद गर्नुपर्नेमा जोड दिए । उनले उपभोक्ता हितलाई केन्द्रविन्दुमा राखेर व्यवसायिक मर्यादा कायम गर्नुपर्नेमा जोड दिए । नगर उपप्रमुख कमरुद्दिन राईले उपभोक्ता हित संरक्षण नेपालगञ्ज उपमहानगरपालिकाको प्राथमिकताको विषय भएको उल्लेख गर्दैै नियमित बजार अनुगमनमा आफूहरु प्रतिबद्ध रहेको बताए ।

अन्तरक्रिया कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका राजश्व शाखा प्रमुख विरबहादुर थापाले नेपालगञ्ज उपमहानगरपालिकाको राजश्व संकलनको अवस्था, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका अमित भुषण सुमनले खाद्य गुणस्तर सम्बन्धमा र बाणिज्य आपूर्ति कार्यालयका देवीलाल चौलागाईले उपभोक्ता हित र व्यवसायिक मर्यादा सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

नेपालगञ्ज उपमहानगरपालिका पंजीकरण तथा सहकारी शाखा प्रमुख एवम् उपभोक्ता हित संरक्षण समितिका सदस्य सचिव प्रविण रानाले सहजीकरण गरेको कार्यक्रममा नरैनापुर गाउँपालिकाकी उपाध्यक्ष जयन्तीदेवी श्रीवास्तब, राप्तीसोनारी गाउँपालिकाकी उपाध्यक्ष मनिषासिंह थारु, सरकारी नियामक निकायका प्रमुख एवम् प्रतिनिधि, उपभोक्ता अधिकारकर्मी, व्यवसायी लगायतको उपस्थिति थियो ।

  • १ चैत्र २०७९, बुधबार प्रकाशित

  • Nabintech