२१ मंसिर २०८१, शुक्रबार

बालेनको प्राथमिकता सरसफाइ होइन, स्टन्टबाजी हो: महासचिव पोखरेल

कार्यक्रमस्थल सफा भइरहेको अवस्थामा पनि जरिवानाको पर्चा पठाइनुले मेयर बालेनको प्राथमिकता सरसफाइ नभएर प्रचारबाजीमा

  • न्युज मानसराेवर

काठमाडौं:नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई ‘एमालेविरुद्ध परिचालित भएको’ गम्भीर आरोप लगाउनु भएको छ।

सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै महासचिव पोखरेलले मेयर बालेन एमालेविरुद्ध परिचालित छन् भन्ने कुरा सभापछि सार्वजनिक गरिएको जरिवाना पर्चाबाट बुझ्न सकिने बताउनु भएको हो।

महासचिव पोखरेलले कार्यक्रम समापन भएपछि त्यहाँको सरसफाई आयोजकका तर्फबाट भइरहेको र त्यो फोहर उठाउनका लागि महानगरलाई गाडी पठाइदिन अनुरोध गरिएको बताउनु भएको छ।

महासचिव पोखरेलले भन्नुभएको छ, ‘कार्यक्रम समापन भएपछि आयोजककै तर्फबाट फोहोर संकलन गरिँदै थियो। महानगरलाई फोहोर उठाउनका लागि सहयोग गर्न अनुरोध गरिएको थियो। तर, अनुरोध अस्वीकार गर्दै जरिवानाको प्रचार गरियो। कार्यक्रमस्थल सफा भइरहेको अवस्थामा पनि जरिवानाको पर्चा पठाइनुले मेयर बालेनको प्राथमिकता सरसफाइ नभएर प्रचारबाजीमा रहेको देखिन्छ।’

महासचिव पोखरेलले मेयर बालेनको कार्यलाई ‘स्टन्टबाजी’को संज्ञा दिँदै एमालेले आफ्ना कार्यक्रमपछि सधै सरसफाइ गर्ने गरेको जानकारी गराउनु भएको छ। उहाँले जागरण सभा यस्ता स्टन्टबाजी गर्नेहरूलाई सचेत बनाउन पनि आयोजना गरिएको उल्लेख गर्नुभएको छ।

‘मेयरको ध्यान सरसफाइमा होइन जरिवानाको स्टन्टबाजीमा थियो। जुन समय अगावै सार्वजनिक गरियो। नेकपा (एमाले) पार्टी आफ्नो कार्यक्रम पछि कार्यक्रम स्थल सफा गर्दछ भन्ने कुरा हेक्का भएन मेयर बालेनलाई । जागरण सभा यस प्रकारका स्टन्टबाजी गर्नेहरुलाई सचेत बनाउनका लागि पनि हो ।’ महासचिव पोखरेलले भन्नुभएको छ।

  • ८ मंसिर २०८१, शनिबार प्रकाशित

  • Nabintech