८ मंसिर २०८१, शनिबार

यसरी बढाउन सकिन्छ पर्यटक आगमन
  • न्युज मानसराेवर

विश्व पर्यटन संगठन (यूएनडल्यूटीओ) को परिभाषाअनुसार आफ्नो नियमित वासस्थानबाट बिदा मनाउने, व्यापार गर्ने वा त्यस्तै अन्य कुनै उद्देश्यले चौबीस घण्टाभन्दा बढी समय र लगातारको १ वर्षभन्दा कम समय बाहिर बिताउन निस्कने व्यक्तिलाई पर्यटक भनिन्छ । पर्यटकलाई सेवा दिने व्यवसायलाई पर्यटन उद्योग भनिन्छ । बेलायतका थमस कुकले ट्राभल एजेन्सीमार्फत समूहगत रूपमा पाहुनाहरूलाई घुमाउन थालेपछि यो व्यावसायिक रूपमा विकसित हुन थालेको हो ।

नेपालमा सन् १९४९ देखि विदेशी नागरिकलाई खुला गरिएपछि पर्यटनका गतिविधि शुरू भएको पाइन्छ र नेपालमा पर्यटनका विविध सेवा शुरू गर्नमा पनि विदेशी नागरिककै भूमिका रहेको देखिन्छ । पर्यटनको अंश विश्वको निर्यातमा ७ प्रतिशत र सेवा निर्यातमा २९ प्रतिशत रहेको मानिन्छ । नेपालमा २०१० देखि २०१७ सम्ममा नेपालको पर्यटन आय दोब्बरजति बढेको अनुमान छ । विश्व पर्यटनमा नेपालको अंश करीब शून्य नै रहेको देखिन्छ । नेपालले पर्यटक संख्या, बसाइ अवधि र खर्च बढाउन विभिन्न क्रियाकलाप गरे पनि त्यसको उपलब्धि खासै भएको देखिँदैन । सन् २०१८ मा नेपालको जीडीपीमा पर्यटनको योगदान ७ प्रतिशतको हाराहारीमा भएको विश्व पर्यटन संगठनले उल्लेख गरे पनि जीडीपीमा यसको योगदानबारे नेपाल सरकारसँग सही तथ्यांक छैन ।

व्यापारघाटाको कहालीलाग्दो तथ्यांक तथा शोधनान्तर स्थिति घाटामा गई विदेशी विनिमय सञ्चितिमा व्यापक दबाब परे पनि यी तीनै क्षेत्रमा सकारात्मक प्रभाव पार्ने एकमात्र प्रतिस्पर्धी पर्यटन सेवालाई नेपालले पर्याप्त प्राथमिकता दिन र योजना तथा रणनीति तय गर्न सकेको छैन । अहिले आयात नियन्त्रणतिर सरकार लागेको छ । तर, विदेशी मुद्रा आर्जन गर्ने, ठूलो संख्यामा रोजगारी सृजना गर्ने तथा तल्लो स्तरसम्म आय वितरणमा सहयोग पुर्‍याउने पर्यटनलाई जति महत्त्वका साथ लगानी गर्नुपर्ने हो प्रोत्साहन गर्नुपर्ने हो हुन सकेको छैन । नेपालमा शिकार खेल्न आएका विदेशीहरूले नै यहाँ पर्यटनको जग राखेका हुन् । तैपनि राणाकालमा पर्यटनको विकासका लागि खासै काम भएन । २००७ सालको परिवर्तनपछि नेपाल विदेशीका लागि खुला भएको हो । यही क्रममा विसं २०१६ मा पर्यटन बोर्डको स्थापना गरिएको थियो । विसं २०१८ मा निर्माण तथा यातायात मन्त्रालयअन्तर्गत पर्यटन विभाग गठन गरिएको थियो । सन् १९७२ को पर्यटन गुरुयोजना र प्रशासन सुधार आयोग, २०३२ को सिफारिश समेतका आधारमा पर्यटन क्षेत्रको योजनाबद्ध विकास तथा प्रवद्र्धन गर्न केन्द्रीय पर्यटन प्रशासनिक निकायका रूपमा विसं २०३४ मा छुट्टै पर्यटन मन्त्रालयको स्थापना भएको हो । त्यसपछि विसं २०३९ मा निर्माण तथा यातायात मन्त्रालयअन्तर्गतको हवाई विभागलाई समेत गाभी पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय नामकरण गरियो । विसं २०५५ मा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतका दुईओटा विभाग हवाई विभाग र पर्यटन विभागलाई खारेज गरी क्रमशः नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल पर्यटन बोर्डको स्थापना गरियो । नेपालले पहिलोपल्ट सन् १९९८ मा नेपाल भ्रमण वर्ष मनाएको थियो । त्यसैगरी सन् २०११ मा पनि पर्यटन वर्ष मनायो । २० लाख पर्यटन भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन भए पनि कोरोना महामारीका कारण स्थगित गर्नुपर्‍यो । त्यसयता नेपालको पर्यटन व्यवसाय कोमामा परेको छ भन्न सकिन्छ । कोरोना प्रभावित पर्यटन व्यवसायलाई जोगाउन सरकारले केही राहत ल्याए पनि थुप्रै पर्यटन व्यवसायी विस्थापित भइसकेका छन् । निजी जायजेथा धितो राखेर केही व्यवसायी जसोतसो टिकेका छन् । कोरोनापछिको विश्वमा नयाँ किसिमले पर्यटनको विकास, विस्तार र रणनीति तथा कार्यक्रम ल्याइनु आवश्यक छ ।

नेपाल रोचक, अनौठा र चाखलाग्दा रीतिरिवाज चालचलन रहेको देश हो । यहाँका रीतिरिवाज, चालचलन, संस्कृति, वेशभूषा, संस्कार, जैविक र भौगोलिक विविधताले सारा संसारलाई नै चकित तुल्याएको छ । विभिन्न विशेषताले नेपालमा पर्यटनको सम्भावना अथाह छ । पर्यटकीय पूर्वाधारका लागि ठूलो लगानी आवश्यक छैन । प्रकृतिका यी अनुपम योगदानमा सामान्य केही भौतिक पूर्वाधार र पर्यटन उत्पादनमा नवीनता ल्याई ती उत्पादनको प्रचार गर्न सके पर्यटन नेपालको आर्थिक विकासका लागि विशेष महत्त्वको हुन सक्छ ।

नेपालमा पछिल्लो समय तारे होटेलहरूमा ठूलो लगानी भइरहेको छ । त्यस्तै साहसिक पर्यटनका पनि नयाँनयाँ उत्पादन आइरहेका छन् । वायु सेवा कम्पनीहरूले विमान र उडान थपिरहेका छन् । होटेलको क्षमता विस्तार भइरहेका छन् । त्यस्तै भइरहेका होटेलहरूले स्तरोन्नति पनि गरेका छन् । विशाल जनसंख्या भएको उत्तरी छिमेकी चीन विश्व अर्थतन्त्रमा पहिलो बन्ने आँटिसकेको छ र यहाँको प्रतिव्यक्ति आय पनि बढ्दो छ । यससँगै उनीहरू विदेश भ्रमणमा जाने क्रम निकै बढेको छ । त्यहाँको पर्यटकको १ प्रतिशत अंश मात्रै नेपाल ल्याउन सकियो भने पनि २० लाख पर्यटक प्रतिवर्ष सहजै पुग्न सक्छ । नेपालको प्राकृतिक वातावरणप्रति चिनियाँहरू निकै लोभिएको पाइन्छ । त्यस्तै दक्षिण छिमेक नेपालका लागि ठूलो पर्यटन बजार हो । धार्मिक पर्यटनदेखि हनिमुन मनाउनसम्म भारतीय पर्यटक आउने गरेका छन् । त्यहाँका सेलिब्रटीहरूले नेपालको प्रचार सित्तैमा गरिदिएका छन् । भिसा नचाहिने तथा आफ्नो गाडी लिएर आउन पाउने हुनाले भारतीय पर्यटकको संख्या नेपालमा सबैभन्दा बढी छ । दुवै छिमेकीका लागि सस्तो र राम्रो पर्यटकीय गन्तव्य बनेको छ । यहाँबाट खर्चालु पर्यटक ल्याउने सम्भावना पनि राम्रो छ । मानसरोवरको ट्रिपलाई मात्रै राम्रोसँग जोगाउन र प्रवद्र्धन गर्न सकियो भने पर्यटन क्षेत्रलाई ठूलो सहयोग मिल्छ । यी दुई देशका लागि विशेष रणनीति भने आवश्यक पर्छ । लेखक पर्यटन व्यवसायी हुन् ।

  • ५ श्रावण २०७९, बिहीबार प्रकाशित

  • Nabintech