यो आजभन्दा करिब ९ बर्ष अघिको कुरा हो । लोकसेवा दिनको लागि राजन काठमाडौंबाट धनकुटाको यात्रामा निस्कदै थियो । लोकसेवा पढेर सरकारी सेवामा प्रवेश गर्ने उसको अनि परिवारको एउटा मात्र सपना बोक्दै गाउँबाट ६ महिना अघि मात्र काठमाडौं झरेको थियो । अब २ दिनपछि हुने लोकसेवाको परिक्षा दिन हतार हतार धनकुटाको बस खोज्दै बसपार्क आइपुग्यो । बसपार्क पुग्न साथ अबेर नगरी धनकुटाको टिकट लियो, टिकट लिएको केहि बेरमै गाडी आफ्नो यात्रामा गन्तव्य तिर लाग्यो ।
राजनले यो भन्दा पहिले लोकसेवाका कुनैपनी परिक्षा दिएको थिएन उसको लागि यो पहिलो अवसर थियो । पढाइमा निकै अब्बल अनि जेहेन्दार राजन गाउँकै उत्कृष्ट विद्यार्थी थियो । राजन एउटा निम्न मध्यम वर्गीय परिवारमा जन्मिएको मिहिनेती विद्यार्थी थियो । उसको परिवारमा आमाबुबा र तीन दिदिबहिनी थिए । परिवारको एउटा मात्र आशा भरोसा अनि विश्वासको केन्द्र राजन नै थियो । छोरो ठूलो भएसी लोकसेवा पढाएर सरकारी सेवामा प्रवेश गराउने उसको आमाबुबाको ठूलो सपना थियो ।
राजनले पनि निकै मिहेनतका साथ लोकसेवा तयारी गरेको थियो । राजनले आमाबुबा अनि दिदिबहिनीको सपना र आफुप्रती गरेको आशा सम्झिदै घरमा फोन लगायो । फोनको घण्टी बज्यो अनि फोन उसको आमाले उठाउनु भयो राजनले आमालाई आफू लोकसेवाको परिक्षा दिन धनकुटाको यात्रामा रहेको कुरा सुनायो । आमाले भन्नू भयो हेर बाबू आज बर्षौ पछि हाम्रो सपनाको यात्रा आरम्भ भएको छ राम्रोसँग जानू त्यहाँ पुगेपछी फोन गर्नु भन्नू भयो नेटवर्कले त्यति राम्रोसँग काम नगरेकाले आवाज त्यति स्पष्ट आइरहेको थिएन । राजनले पनि आमाको कुरामा सहमति जनाउँदै हुन्छ आमा म पुगेपछि फोन गर्छु भन्दै फोन राख्यो ।
उसले आफ्नो लागि आमाबुबाले गरेको दु:ख,कष्ट,त्याग,तपस्या,योगदान,संघर्ष अनि मिहेनत सम्झिदै थियो त्यतिकैमा गाडी भित्र एकाएक कोलाहल मच्चियो । लगत्तै गाडी भिरबाट पल्टियो त्यहाँ सवार राजन सहित ३० जना यात्रु थिए । जसमध्ये २० जनाको घटनास्थलमै दु:खद निधन भयो भने बाँकि १० जना गम्भीर घाइते भएका थिए । राजनको पनि उक्त दुर्घटना परि दु:खद निधन भयो । घाइतेहरुको उद्धार निकै बेरपछी भयो । २० जना मृतकहरुको नाम प्रहरीले सार्वजनिक गर्न सबैको कागजात चेक गर्दै गर्दा त्यतिकैमा राजनको साथमा उसको डकुमेन्ट भेटियो जसमा नागरिकता पनि थियो ।
नाम राजन हमाल उमेर १९ बर्ष जन्मस्थान जिल्ला रुकुम बुबाको नाम दुर्गा हमाल प्रहरीले सबैको नाम पत्ता लगाएर गाडी दुर्घटना भएको कुरा सार्वजनिक गर्यो । गाउँमा बस्ने राजनको परिवारलाई उक्त घटनाको बारेमा कुनैपनी जानकारी थिएन । छोराको फोनको प्रतीक्षामा रहेका आमाबुबा र दिदिबहिनीहरुले बिहान अबेरसम्म पनि फोन सम्पर्क गर्दा नलागेपछी आत्तिएका उनीहरुलाई लोकसेवा परिक्षा दिन हिँडेको छोराको गाडी दुर्घटना परि मृत्यु भएको खबर गाउँका प्रधानबाट निकै अबेर प्राप्त गरे यो खबर सुन्ने बित्तिकै राजनको परिवारमा सन्नाटा छायो ।
आमा बेहोस हुनुभयो, बुबा मुर्छा पर्नुभयो, दिदिबहिनी पनि मरेतुल्य भए । राजनको परिवारमा एकाएक ठूलो वज्रापात आइपर्यो । बुढेसकालको सहारा बैशाखी भाँचियो । आमाबुबाको एउटा मात्र छोरो सदाको लागि अस्तायो, दिदिबहिनीको सप्तरङ्गी टीका पुछियो, अनि सिङ्गो गाउँको आशाको किरण निभ्यो । आज पनि राजनको घरमा आमाबुबा लोकसेवा दिन गएको छोरा फर्केर आउने र आफ्नो लासको अन्तिम दागबत्ती उसैले दिने त्यो अपत्यारिलो झुठो सत्यतामा बाँचिरहेका छन ।
लेखक वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका स्ववियु सचिव हुन ।