२७ श्रावण २०७९, शुक्रबार

‘कोरोना संक्रमित भएपछि बुझें हरेक श्वासको महत्व’

के म एउटा अन्धकार भविष्य लिएर अगाडि बढ्दै गरेको स्वास्थ्यकर्मी हुँ ? यो देश र जनताप्रति मजस्तै कोरोना पोजेटिभ स्वास्थ्यकर्मीको समर्पण कोभिड पोजेटिभ फाइलको गणनामा कि त एक्स्पाएर, कि त डिस्चार्जमा मात्र सीमित हुने हो ?

  • डा. देवेन्द्र आचार्य

बाँके बैजनाथ ।  बिहानबाटै टाउको भारी भएर आयो । शरीरको तापक्रम पनि बढिरहेको थियो । दुई–तीन दिनदेखि रुघाखोकी पनि लागिरहेको थियो । पेट कटक्क खान्थ्यो । पखाला लागेको थियो । खुट्टाको पैताला पोलिरहेकै थियो । शरीरका हरेक जोर्नीहरू दुखिरहेका थिए । कसैले उचालेर पछारेझैँ सिथिल थियो शरीरर । यी सबै लक्षणबीच इमरजेन्सीको ‘मर्निङ ड्युटी’मा गएँ । किनकी म एक डाक्टर हुँ ।

ड्युटी गए पनि त्यो दिन प्रत्यक्ष रूपमा एकजना पनि बिरामी हेरिनँ । बरु अलग्गै आइसोलेट भएर ड्युटी गरेँ । ज्वरो झन् बढ्दै गइरहेको महसुस भयो । अनि ‘अहँ म रिक्स लिन्नँ’ भन्दै तीन बजे अस्पतालमा नियमित गर्ने पीसीआर परीक्षणको लाइनमा बसेर थ्रोट स्वाबको स्याम्पल दिएँ ।

भोलिपल्ट दिउँसो तीन बजेतिर कोभिडबारे अपडेट गराउने साकार भाइको फोन आयो । उनले भने, ‘दाइ हजुरको रिपोर्ट पोजेटिभ छ । सिटी भ्यालु जम्मा १२ मात्रै छ ।’

यो सुन्दा शरीर सनन्न भयो । इमरजेन्सी विभागमा काम गर्ने एक डाक्टर भएकाले होला यो त ढिलोचाँडो हुनु नै थियो । आखिर भयो पनि । कसैलाई नभनिकन आफ्ना लत्ताकपडा प्याक गरें र अस्पतालबाट कोभिड भ्यान बोलाएर अस्पतालको आइसोलेसन सेन्टरमा गएँ ।

कोरोना महामारी सुरु भएयताको अवधिमा मैले सयौं बिरामीको प्रत्यक्ष उपचार गरेको थिएँ । अस्पतालका इमरजेन्सी र डायलासिस विभागमा मात्रै आफ्नो व्यक्तिगत र पारिवारिक जीवनलाई थाँती राखेर बिरामीको सेवामा दिनरात खटिइरहेँ । आफ्नो ज्ञान, सीप र विवेक प्रयोग गर्दै यो महामारीमा मैले समर्पण गरेको समय यही नै हो । पैसा त मैले सुगरले थलिएकी आमाले ‘बाबु भो, तैंले कमाउनुभन्दा पहिला पनि गुजारा चलेकै थियो, बुवाले भैंसीको दूध बेचेर पनि पालिहाल्नुहुन्छ, यस्तो महामारीको बेला काम नगर्’ भन्ने कुराबाटै हरेक दिन कमाइरहेकै छु । तर पनि विश्वभर स्वास्थ्यकर्मीहरूले मात्रै लडेको यो युद्धमा म एउटा चिकित्सक कसरी पछाडि हट्न सक्थेँ होला र रु

फेरि म अस्पतालको नजिक घर भएको स्थानीयवासी पनि थिएँ । त्यसैले चाडबाडको समयमा बिरामीको चाप बढेको बेला होस् वा अस्पतालको इमरजेन्सी विभागमा डाक्टरको अभाव हुँदा होस्, जहिल्यै म ड्युटीमा हाजिर हुने गरेको छु । मलाई थाहा छैन, म संक्रमित भएको बेलामा यो स्थानीय सम्बन्धलाई अस्पतालका मालिकले कसरी लिनु भएको छ ।

आफन्त, शुभचिन्तक, अस्पतालका सर, सहकर्मी सबैले फोनमार्फत् र सामाजिक सन्जालमार्फत् स्वास्थ्य लाभको कामना गरिरहनुभएको थियो । आफैं संक्रमित भएर निको हुनु भएका डा. सुमित पाण्डे, डा. निरज आचार्य, डा.विक्रम थापा सरहरूले आफूलाई कोरोना हुँदाको अनुभवसहित आत्मबल थपिरहनु भएको थियो । यसैगरी डा.दिपेन्द्र केसी, डा. शिशिर रेग्मी सर र डा.प्रवेश पन्त दाइले पनि फोनबाट चासो लिइराख्नु भएको थियो ।

मेडिसिन विभागका वरिष्ठ फिजिसियन डा. श्याम विके दाइले होम आइसोलेसनमा बस्नेका लागि औषधिको लामो लिस्टसहितको प्रोटोकल दिनु भएको थियो । त्यसपछि सामान्य दबाइ सुरु गरें । तेस्रो, चौथो दिन बित्यो, तर सुधारको कुनै संकेत देखिएन । त्यसपछि अस्पतालको कोभिड वार्डमा भर्ना हुने निर्णय गरेँ । आइसोलेसनमा मसँगै रहनुभएका डा. शिशिर र अनिता सिस्टरले सबैतिर को–अर्डिनेसन गरी मलाई कोभिड वार्डमा भर्ना गराउनु भयो ।

कोभिड वार्डमा फिजिसियन डा। प्रकाश नाग दाइको ड्युटी रहेछ । उहाँले म आउनुअगावै सबै कुराको व्यवस्था गरिसक्नुभएको रहेछ । त्यसपछि मलाई के–कस्ता लक्षण छन् भनेर सोधेपछि छातीको एक्स–रे हेरेर भन्नु भयो, ‘चिन्ता नगर भाइ । औषधि चलाएको एक घण्टामा आराम हुने गरिदिन्छु ।’ नभन्दै त्यस्तै भयो । बिस्तारै ज्वरो र टाउको दुखाइ कम भयो ।

राति डा। आसिम किद्वाईसँग म्यासेजमा कुरा भयो । उहाँले अब फ्यापिभिर दबाइ सुरु गर्ने सल्लाह दिनु भयो । यसरी पाँचौ दिनबाट अलि सहज हुँदै आयो । मेरो स्वास्थ्य स्थितिमा सुधार आएको देखेर डा। श्याम दाइ लगायत घरपरिवारका सबै जना खुशी हुनुभयो । आइसोलेसनमा गएको दोश्रो दिन बनाएको एउटा टिकटक भिडियो फेसबुकमा पोस्ट गरेँ । त्यो भिडियो देखेर मेरो स्वास्थ्यस्थिति सुधारोन्मुख रहेको सन्देश पक्कै पनि प्रवाह भयो । अस्पताल भर्ना भएको पाँचौ दिनबाट सबै इन्जेक्सनबाट चल्ने दबाइहरु बन्द भयो ।

कोभिड वार्डमा म जस्तै अलि कम सिरियस बिरामीहरु थिए । सिस्टरहरुले पहिले नै हाम्रो इमरजेन्सी डाक्टर साब आउँदै हुनुहुन्छ भनेर होला, बिरामीका आफन्तहरुले मलाई बिरामीको रिपोर्टहरु ट्रेस गराउनु हुन्थ्यो । वार्डमा म आफैं कोरोना संक्रमित भएपनि बिहान–बेलुका बिरामीको बेड छेउमा गएर बिरामीहरुको मनोबल बढाइरहन्थेँ । स्वास्थ्य अवस्थाले भ्याएसम्म आईसीयूमा पनि पुग्थेँ । हरेक नाभीको चालसँगै मोनिटरमा बज्ने टुकटुक आवाजमा अड्किएको अक्सिजनको मात्रा हेर्छु । सोच्छु– जीवन जिउन पनि मोनिटरको टुकटुक आवाजमा अल्झिनु पर्ने उफ् १

अहिलेलाई म कोभिड वार्डको एक कोरोना संक्रमित बिरामी हुँ । पहिला आफू निको हुनु छ त्यसपछि अर्को चरणमा मुलाकात गरौंला, यस्तै कुराहरु मनमा खेलाउँदै मोबाइलमा डाटा प्याक लिएर फेरि एउटा टिकटक भिडियो बनाएर पोष्ट गरें ।

म अस्पताल भर्ना भएको एक हप्ता भइसकेको थियो । स्वास्थ्यमा सुधार भइरहेकाले अब १० औं दिनमा त पक्कै घर गइन्छ भन्ने सोचेर मन प्रफुल्ल थियो । तर, अहँ कहिलेकाहीँ जिन्दगीमा नसोचेको भइदिँदो रहेछ । मलाई पुनः ज्वरो आउने र टाउको दुख्ने एकसाथ भयो । मन आत्तियो । भोलिबाट कोभिडमा डा।प्रवेश दाइको ड्युटी थियो । मैले डा। श्याम दाइलाई यो कुरा जानकारी गराएँ र उहाँको सल्लाह अनुसार एक्स–रे गरें । रातभर १००, १०१, १०२ डिग्रीभन्दा तलतिर ज्वरो झर्दैझरेन । टाउको यति भारी भयो कि तीनवटा डोलोपार खाँदा पनि कम भएन ।

मध्यरातमा शरीरमा अक्सिजनको मात्रा ९७–९८ प्रतिशत देखियो । म घरबाट निस्किने बेला आमाले झोलामा राखिदिएको रुमाल भेटाएँ । लामो श्वास फेरेँ । आमालाई सम्झँदै त्यही रुमालले टाउको बाँधेर बेडमा पल्टिरहेको बेला कतिखेर निदाएछु पत्तो भएन ।

बिहान उठेर पुनः ज्वरो नापें । ज्वरोले घटेको देखिएन । टाउको पनि एकदमै दुखेको थियो । ३–४ पटक बान्ता पनि भयो । क्याबिनको बसाइँ त झन् गाह्रो हुन थाल्यो ।

‘देवेन्द्र, तिम्रो एक्स–रेको रिपोर्टमा निमोनिया देखियो । अब त रेम्डिसिभिर औषधि नै शुरु गर्नु पर्ने भयो,’ भनेर डा। श्यामले मलाई फोनबाट भन्नुभयो । निमोनिया देखिएकाले अब श्वास फेर्न गाह्रो हुने होला, शायद अब बाँचिन्न होला, यस्तैयस्तै नकारात्मक कुराहरु बढी खेल्न थाल्यो । मलाई हरेक श्वास फेर्दा अब एक जिन्दगीको महसुस हुन थालिसकेको थियो ।

अस्पतालमा काम गर्दा जीवन र मृत्युलाई मैले नजिकबाट नियालेको म आफैं कोभिड संक्रमित भएको थिएँ । हुन त इमरजेन्सीमा काम गर्ने डाक्टरका लागि जन्म र मृत्यु भनेको एक संयोग मात्रै हो तर पनि कोभिड आईसीयूमा मैले जिन्दगी र मृत्युलाई धेरै नजिकबाट देखेकाले मनमा चिन्ता र डर दुवै पैदा भएको थियो ।

घरमा फोन गरेर क्रमशः श्रीमती, आमा र बुवासँग कुरा गरें । मेरो कुराबाट श्रीमतीले बुझिसकेकी थिइन् कि मलाई गाह्रो भएको छ । कुराकानी सकिएपछि मैले आँशु थाम्न सकिनँ । फेरि भिडियो कल गरेर छोरी र भर्खरै बाबा भन्न सिकेको छोरालाई हेरेर निकैबेर रोएँ । शायद, एक्लै क्याबिनमा बस्ने भएकाले पनि होला म मनोवैज्ञानिक रुपमा निकै कमजोर भइसकेको थिएँ ।

डा.श्याम, डा. असिम, डा. प्रवेश र डा. सुमित सरहरुको सल्लाहअनुसार मलाई कोभिड संक्रमण भएको आठौं दिनबाट रेम्डिसिभिर चलाउन सुरु भयो । मेरो स्वास्थ्यलाई लिएर शुरुबाटै डा. श्याम दाइ र डा.सुमित पाण्डे सर निकै चिन्तित देखिनुहुन्थ्यो । घरमा बुवा दम र आमा सुगरको बिरामी हुनुहुन्छ । स–साना दुईवटा बच्चा छन् । घरमा कसैलाई पनि लक्षण नदेखियोस् भनेर म कामना गरिरहेको हुन्थें । डा. श्याम दाइले मलाई ‘म छु नि’ भनेर हौसला र भरोसा दिइरहनुहुन्थ्यो ।

बाहिर तिहारको माहोल थियो । जताततै झिलिमिली थियो । फेसबुकमा साथीहरुले तिहारका फोटाहरु पोष्ट गरेका थिए । तर आफ्नो अनुपस्थितिको तिहार हेर्न पनि मन लाग्ने रहेन छ ।

जुम्लाबाट वर्षौंपछि टीका लगाउन भनेर दिदी आउनु भएको थियो । भाइटीकाको अघिल्लो दिन मलाई भेट्न अस्पताल आउनु भयो । म उहाँसँग बोल्दाबोल्दै भक्कानिएँ । भोलिपल्ट दिदीहरुले कोसेली पठाउनु भयो ।

कोभिडले गराएको कमजोरी र मारेको स्वादले गर्दा जे पठाए पनि खानामा पटक्कै रुचि थिएन । शरीर गलेर एकदमै कमजोर भएको थियो । यो बीचमा मलाई गाह्रो हुँदा मैले मेरा सम्पूर्ण प्रिय मानिसहरुलाई सम्झिएँ । आफन्तहरुले देवेन्द्रलाई छिटो निको होस् भनेर कुल पूजा गर्ने ठाउँमा कुल देवतालाई समेत पुकार्न पठाउनु भएछ ।

एक दिन फोनमा कुरा गरेको बेला आमाले ‘शरीर गलेको छ, टाउको दुखिरहेको छ, हल्का ज्वरो पनि आइरहेको छ बाबु’ भन्दा पक्कै मबाट कोरोना सरेछ भन्ने
ठानें । नभन्दै सबै जाँच गरेर रिपोर्ट हेर्दा आमाको फोक्सोमा निमोनिया र कोभिड–१९ जाँच गर्दा रिपोर्ट पोजेटिभ देखियो । आमालाई पनि डा. श्यामको सल्लाह अनुसार मसँगै अस्पतालमा भर्ना हुनुपर्ने भयो । घरमा हुनुभएका बुवा र मेरी श्रीमतीलाई झन् तनाव भयो ।

यता, मलाई रेम्डिसिभिर चलाएको भोलिपल्टबाटै स्वास्थ्यमा सुधार देखियो । बिस्तारै सुख्खा खोकीबाहेकका सबै लक्षणहरु हराउँदै गयो । म १४ औं दिनमा रेम्डिसिभिरको मात्रा पूरा गरेर अस्पतालबाट डिस्चार्ज भएँ । आमालाई भने त्यति धेरै गाह्रो भएको थिएन । आमाको तेश्रो दिन भएकाले कम्तीमा पाँच दिनपछि फेरि एकपटक एक्स–रे गरी हेरेर निर्णय गरौंला भनेर डा। श्याम दाइले भन्नुभयो । म अस्पतालबाट निस्कँदै गर्दा आमा भने एक्लै महसुस गरेर मलाई पर पुगुन्जेल हेरिरहनु भयो ।

मसँगै आईसीयूकी गोमा सिस्टर, सिर्जना सिस्टर र कोहलपुर नेकपाकी अध्यक्ष दिदी बसन्ती अधिकारी पनि सँगै निस्कियौं । एक हप्ता अस्पतालको क्वाटरमा होम आइसोलेसनमा बसेर २१ दिनपछि पीसीआर टेस्ट गर्ने सोचका साथ अहिले म होस्टेलको ४०८ नम्बर कोठामा आइसोलेट भएर बसेको छु । आमाको स्वास्थ्य स्थितिबारे पनि हरपल अपडेट लिइरहेको छु ।

आमापछि अहिले फेरि बुवालाई पनि कोरोना संक्रमण देखिएको छ । दमको बिरामी बुवालाई कोरोना संक्रमण भएको कुराले झन् चिन्ता थपिएको छ । सोमबारबाटै रेम्डिसिभिर औषधि चलाइएको छ ।

घरमा कुनै दुर्घटना त हुने होइन भनेर मनमा चलेको सिरेटोले चस्स घोच्छ । कुनै अप्रिय घटना नहोस् भनेर कामना गर्छु । आदणीय डा। श्याम दाइ र डा। सुमित सरलाई बेला–बेला फोन गरेर स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहन्छु ।

यसबीचमा मेडिकल फिल्डभन्दा बाहिरका धेरै साथीहरूले ‘साँच्चै कोरोना लाग्यो भने कस्तो हुँदो रहेछ रु’ भन्ने जिज्ञासा राख्नुभएको छ । यसको जवाफका लागि भेन्टिलेटरमा अचेत अवस्थामा रहेका कोभिडको बिरामी जसले अक्सिजन प्राप्त गर्न एकैरात दसौं पटक खर्च गर्दा पनि शरीरलाई अक्सिजन पुग्दैन, म उनीहरूलाई सम्झन्छु । जब पूर्ण सावधानी अपनाएर बिरामी हेर्दा पनि म एक चिकित्सकजस्तो मान्छे थला परेर आत्मबल नै गिराउने अवस्थामा पुग्छु, अनि आफ्नो थला परेको शरीरलाई उहाँहरूको जवाफ सोध्छु ।

समाजमा एकथरि मानिसहरु छन्, जसले कोरोना हाउगुजी हो भन्दै भम्र फैलाइरहेका छन् । ‘नमरी स्वर्ग देखिन्न’ भने झैं जब उनीहरू स्वयम् वा तिनका कोही आफन्त संक्रमित हुन्छन् अनि बल्ल थाहा हुन्छ कोभिडको पीडा ।

म अहिले यतिमात्र भन्छु– आजभोलि कोभिडबाट बच्नको लागि हरेक मोबाइल कलमा रिङ्ग टोन नै सन्देशमुलक राखिएको छ । त्यसलाई सुनेर सावधानी अपनाऔं । नियमित साबुन पानीले हातधुने, गुणस्तरीय सेनिटाइजरले बेलाबखत हात सफा राख्ने गरौं । नियमित रुपमा मास्कको प्रयोग गरौं । घर, छिमेकमा कसैलाई ज्वरो आउने, टाउको दुख्ने, नियमित रुघाखोकी लाग्ने जस्ता कोरोना सम्बन्धी मिल्दोजुल्दो लक्षण छ भने तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरेर पिसिआर परीक्षण गराऔं । विश्वलाई आक्रान्त पारेको कोरोना संक्रमणलाई हल्का रुपमा नलिऔं ।

म बावुआमाको एक्लो छोरा हुँ । उहाँहरुले कति सपना बुनेर डाक्टर पढाउन जिन्दगीको सम्पूर्ण कमाइ नै ममाथि लगानी गर्नुभयो । आज त्यही छोरा थलिएर बसेका बुवा र आमाको आडभरोसा अनि सपनालाई साँचेर कोरोना परास्त गर्न डटिरहेको छ । आफ्नो पढ्ने इच्छा चाहनालाई ममा नै समर्पण गरेकी श्रीमती र म घरमा नहुँदा मुस्कान हराएको दूधे बालकको मुस्कान फर्काउन ‘भोलि’ पर्खिरहेको छु ।

मनमा अनेक प्रश्न उब्जिरहन्छन्–म र मेरो परिवार जस्तै तमाम कोरोना संक्रमित व्यक्ति सरकारको हरेक दिन प्रेस विज्ञप्तीमा गणना हुने कोभिड पोजेटिभको केश मात्रै हुन् रु उनीहरुप्रति सरकारको दायित्य के हो रु के म एउटा अन्धकार भविष्य लिएर अगाडि बढ्दै गरेको स्वास्थ्यकर्मी हुँ रु यो देश र जनताप्रति मजस्तै कोरोना पोजेटिभ स्वास्थ्यकर्मीको समर्पण कोभिड पोजेटिभ फाइलको गणनामा कि त एक्स्पाएर, कि त डिस्चार्जमा मात्र सीमित हुने हो  ?

(डा. आचार्य नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको इमरजेन्सी विभागमा कार्यरत छन् ।)  साभार  

  • ९ मंसिर २०७७, मंगलवार प्रकाशित

  • Nabintech