बेलायती रानी एलिजाबेथ प्रथम उनको समयमा एकदमै बद्नाम थिइन्। उनीप्रति जनताको तीव्र असन्तुष्टि थियो। उनको नाम सम्झँदा पनि मानिस लाजले शिर लुकाउँथे। कति त आक्रोश थाम्न नसकेर उनी चढ्ने गाडीमा ढुंगामुढाको प्रयास गर्र्थेे। रानीप्रति बढ्दो वितृष्णा त्यहाँका विद्वानहरुलाई सह्य भएन।
उनीहरुले एउटा उपाय सुझाए– ‘अब जनताको रिस झन् उत्कर्षमा पु¥याएर फेरि तल झार्नुपर्छ।’ यसका लागि मिडिया उपयोग गर्ने निधो भयो। यो योजना राजतन्त्र मिल्काउने हैन, जोगाउने कडीअनुसार रचिएको थियो। त्यही योजनाअनुसार रानीविरुद्ध पत्रपत्रिकामा शृंखलाबद्ध प्रायोजित आक्रमण हुन थाल्यो। तिनै विद्वानहरुले आफ्नै कलमबाट रानीविरुद्ध कटाक्ष गर्न थाले। कसैले यस्ती बद्नाम रानी स्वीकार्नु बेलायती जनताको दुर्भाग्य भनेर टिप्पणी गरे। कोही लेख्थे– ‘यस्ता पृथ्वीको भार जन्मनुभन्दा नजन्मिएकै भए मुलुकलाई भलो हुन्थ्यो।’
मिडियाले साथ दिएको भनेर जनता मख्ख पर्दै गए। रानीविरुद्धका लेख छापिने रफ्तार चलिरहेकै थियो। लेखाइकै उत्कर्षमा एक विद्वानले एलिजावेथलाई वेश्यासँग तुलना गरेर टिप्पणी छापिदिए। यो लेख बजारमा आएपछि खोलो उल्टो बग्न थाल्यो। रानीलाई वेश्याको कोटीमा राखेको सर्वसाधारणलाई पटक्कै चित्त बुझेन। यो प्रकरणपछि रानीको छाया पनि नरुचाउनेहरु भन्न थाले, ‘जतिसुकै नालायक भए पनि रानीलाई वेश्या भन्नुचाहिँ घोर अन्याय हो।’ त्यसपछि रानीविरुद्ध खनिनेहरु लेखकको खोजी गर्न थाले। लेख्ने क्रम अभैm रोकिएन। लेखकहरु रानीप्रति थप तितो ओकल्दै थिए। अन्ततः एकदुई गर्दै अधिकांश बेलायतीहरु रानीको पक्षमा सडकमै उत्रिए। रानीमाथि भएको अत्याचारको डटेर मुकाबिला गर्ने संकल्प गरे। रानीलाई राष्ट्रियताको प्रतीक बनाएर प्रचार गरे। यता आफ्नो योजना सफल भएकोमा विद्वानहरु मख्ख थिए।
सम्भवतः लोकतन्त्रको सामथ्र्य भनेकै यही हो। एलिजाबेथ प्रथमदेखि द्वितीयसम्म आउँदा बेलायतको टेम्स नदीमा धेरै पानी बगिसक्यो। तर पनि लोकतन्त्रको मूल्य र मान्यतामा अलिकति पनि आँच आएको छैन। हिन्दी सिनेमाकी चर्चित भएर गुमनाम बनेकी नायिका ममता कुलकर्णी भिक्षुणी बनेको डेढ दशक नाघ्यो। उनी भन्छिन्– ‘ईश्वरका लागि जन्मिएकी मैले ऐना नहेरेको वर्षौं भयो।’ सन्दर्भ यत्तिमै टुँगिँदैन। नेपालमा मन्त्री बन्न राजनीतिक दलमा हाम्फालेका करिश्मा मानन्धर, रेखा थापा पहिलो झड्कामै सकिए। राजनीति गर्नु सिनेमाको टेक लिएर राम्रो बनाएजस्तो हुन्न। यो त्यही देश हो– बाउले गद्दीको आयतन चिन्न नपाउँदै छोराले राजगद्दी भ्याइसकेका थिए। आफूभन्दा अगाडि छोरो ज्ञानेन्द्र राजा हुन्छ भन्ने चाल पाएको भए मूल परेको भनेर महेन्द्रले छोरालाई अर्कैको हात पाल्न पठाउँथे होलान्।
अघिल्ला पुस्ताका नेताहरु बीपी, गणेशमान, मनमोहनले पनि प्रकाशजस्तै चम्किलो सन्तान हुन् भनेर आफ्ना छोराहरुको नाम प्रकाश राखे। तर ती प्रकाशहरु आफू त परै जाओस, ब्याट्री हाल्दा पनि चम्कन सकेनन्। प्रकारान्तरले एउटै नर्सरीका विरुवा बनेका ज्ञानेन्द्र र प्रचण्डले पनि छोराहरु प्रकाश र पारस भएको देख्न खोजे। तर तिनीहरु जन्मदाताकै लागि आगोको लप्का साबित भए। भाग्यले दिने कर्मले ठेल्ने नियतिले यी दुवैको जीवनमा नपुरिने भ्वाङ परेको छ। जुन लाभाले ज्ञानेन्द्रलाई खायो, त्यही लाभाले प्रचण्डलाई थाल खाऊँ कि भात खाऊँ बनायो। नेत्रविक्रम चन्दका छोरा विना खर्च डा. प्रकाश भएर निस्किए। दुख्याहा जनताका छोरा खाडीमा भएका बेला क्रान्तिकारी नेताका छोरो डाक्टर हुनु जनताका लागि सुखद समाचार हो। राजस्वलाई खाजस्व बनाएर नेता पाल्ने नेपाली धर्म विश्वकै अनुपम नमुना हो।
नढाँटी भन्दा नेपालमा गणतन्त्रको गलगाँडले आमजनतालाई उठी सुख न बसी सुख बनाएको छ। मन परेकालाई टुँडिखेल दान दिँदा पनि क्षम्य हुने र मन नपरेकालाई रक्तदान गर्दा पनि कानुनको त्रास देखाएर मच्चिने बेसोमती अभ्यास भएका छन्।
कारावास जीवन काटिरहेको एउटा कैदीलाई सजायस्वरुप दुईवटा विकल्प दिइएछ। एउटा सिर्कनो अर्को खुर्सानी। खुर्सानीले रालसिँगान भएपछि उसलाई सिर्कनो प्यारो लाग्दो रहेछ। सिर्कनोले छरछरी रगत आएर पीडा भएपछि भन्दो रहेछ– ‘यो भन्दा त खुर्सानी नै जाति।’ नेपालको राजनीतिमा ज्ञानेन्द्र सिर्कनो र प्रचण्ड खुर्सानी साबित भएका छन्। प्रकारान्तरमा फेरि सिर्कनोको पालो आएको भान पर्न थालेको छ। त्यही बेलायत हो, जहाँ चिहानमा गाडिएको राजाको कंकाल निकालेर मुकुट पहि¥याइएको छ भने अस्थिपञ्जर खोस्रिएर सुलीमा चढाइएको इतिहास पनि छ। आखिर प्रजातन्त्रको जननीलाई सक्कलबमोजिम नक्कलमा उतार्ने बानी परेका हामीलाई यो दृश्य पनि कति नै नौलो लागिहाल्ला र?
त्यसै भनिएको होइन– अति सर्वत्र वर्जयेत्। अति सुन्दरी हुँदा सीता हरिनुपर्यो। घमण्डले खस्रे भ्यागुतोजस्तो फुल्दा रावण नासिनुपर्यो। अति दानी हुँदा कर्ण काटिनुपर्यो। अति बलशाली हुँदा हनुमानले आफ्नो शक्ति अरुबाट थाहा पाउनुपर्ने अवस्था आइलाग्यो। बाटो मलामीको पनि हो। जन्तीको पनि हो। तर त्यही बाटोको लालपुर्जा बाँड्ने अधम र अपराधी खेलमा हाम्रा राजनीतिक दलहरु लाग्नु नीच मानसिकताको उपज हो। एउटा भुस्याहा कुकुरको अधिकारका विषयलाई लिएर विश्वव्यापी बहस भइरहेको यो समयमा पूर्वराजालाई छेकारो काट्ने खेल असभ्यताको पराकाष्ठा हो। अझ यो हुतिहाराहरुले देखाउने ब्वाँसो प्रवृत्ति हो।
आँसु बगाउन लायक प्रजातन्त्र यहाँ कहिल्यै आएन। कोही सत्तामा जानु नजानु प्रजातन्त्रको परिचय होइन। प्रजातन्त्र भनेको त कर्णालीको मानिसले आफ्नो स्याउ सहजसँग झापामा बेचेर त्यहाँबाट चामल लिएर फर्कनुचाहिँ हो। अर्थात् अवसर नै प्रजातन्त्रको सर्त हो। चन्द्रशमशेरले खाने गरेको काली मार्सीको आख्यानको बदला कुहेका चामलको सौदा गरेर त्यही चामलबाट बनेको रक्सी ख्वाएर स्वास्नी भकुराउने अनि नारी मुक्तिको आवाज चर्काउने राज्यको कर्तव्य होइन।
राज्य भनेको समाधान हो। सबैलाई थाहा छ– ‘दुःख र आगोले समान पोल्छ।’ राज्यले जनतालाई दिने भनेको बाटो, बत्ती, पानी र शिक्षा हो। यति भएपछि उनीहरु जीवनको लक्ष्मणरेखा आफैं कोर्न सक्छन्। राजनीतिका नाममा चिनी गुलियो र खुर्सानी पिरो भन्ने बेतुकका फन्टुस गफमा थुप्रै समय बितेको छ। पद भनेको त सिंहमाथिको सवार हो। हामीले ज्ञान हैन, सूचनालाई जीवनपथ बनायौं। गुरु हैन, शिक्षकलाई सर्वैसर्वा ठान्यौं। ज्ञान गुरुले बाँड्ने हो। शिक्षकले दिने त सूचना मात्र हो। नयाँ पुस्ता कम्प्युटरको पेन्टियम सेभेन संस्करण हो। तर पेन्टियम वानमा समेत आफूलाई अपडेट नगरेका नेता र शिक्षक देशको भाग्यनिर्माता भएका छन्। बीपीले ०१५ सालमा कल्पना गरेको सानो झुप्रो, ओखती उपचार र गाईपालन भनेको अहिलेको ल्यापटप हो। समयअनुसार मान्यता फेरिन्छ भन्ने तथ्य नेतृत्वले बुझ्न आवश्यक छ। अत्यन्त वृद्ध भइसक्दा पनि महाराज यायातिले कान्छो छोरा पुरुको जवानी पैंचो लिएर कामवासनामा लिप्त रहेको तर तृप्त नभएको कथा महाभारतमा उल्लेख छ। हाम्रो नेतापुस्ता पनि तिनै पात्रजस्ता लोभी भएका छन्।
जब सन्तान सुखबाट मानिस अभिप्रेरित हुँदैन, त्यसले राजनीतिमा जुन वादको कुरा गरे पनि त्यो कुतर्क ठहर्ने पक्का छ। जेलमा बस्दा पनि बीपीले आफूलाई सन्तान सुखको कुन कोटीमा राखेका थिए भन्ने उनैले लेखेको यो प्रसंगबाट स्पष्ट हुन्छ– ‘सुशीलाको स्वास्थ्य राम्रो रहेछ– अलिक पहिलेको भन्दा उन्नति गरेको। प्रकाश हृष्टपुष्ट रहेछ। श्रीहर्षलाई भर्खरै ठेउला आएकाले दुब्लो थिए। शशांकलाई पनि अत्यन्त दुब्लो पाएँ। चेतना पनि दुब्ली। तर सबै प्रसन्न थिए। शशांकले ट्विस्ट नाचेर देखायो र आजकलका ठिटीहरुले नयाँसडकमा हिँडेको भाउ देखाएर हामी सबैलाई मनोरञ्जन गर्यो। श्रीहर्षले सिलोन रेडियोको नक्कल गरेर एउटा विज्ञापनको गाना गायो। मैले उनीहरुलाई चकलेट दिएँ। शशांकले जेनेरलदेखि अरु सबै अफिसरहरुलाई पनि बाँड्यो चकलेट। म बडो प्रसन्न भएँ।’
सत्य भनेको इच्छा हो। आग्रह भए ठाउँमा सत्य आउँदैन। जिब्रोभरि नुन लिएर तिहुन चाख्न तम्सिनेहरुको साम्राज्यले सर्वत्र गिजोलिएको छ। सिंहदरबारदेखि आर्यघाटसम्म दलाली छ। मानिसहरु भन्छन्– नेपालमा सुन महँगो छ। तर हैन, सुनभन्दा कानुन, शिक्षा र स्वास्थ्य महँगो छ। माखामुन्द्रो बेचेर अदालत, स्कुल र अस्पताल धाउने मानिसको संख्या लेखो लाएर साध्य छैन। नागरिकका लागि राज्यले आधारभूत रुपमा उपलब्ध गराउनुपर्ने विषय नै दलालीका भरपर्दो साधन भएका छन्।
नगरपालिकाले आफैंले आफैंलाई धान्न नसकेको देशमा संघीयता नामको चरीले आतंक मच्चाएको छ। युरोपियन युनियन भएर एउटै मुद्रा एउटै कानुन चलाउने देशहरु नेपालमा संघीयता र धर्मको खेतीपाती चलाइरहेका छन्। वाल्मीकि, चाणक्य, बेदव्यास, कालिदासजस्ता कालजयी सम्पदा बोकेका हामी सभ्यताको नाममा प्लुटो, एरिस्टोटल, माल्थसतिर किन लहस्सिनुपर्यो र? संसार एकाकार भएर अघि बढेका बेला घरखेत किन बाँड्नुपर्यो? नेपाल समयमा प्रकाशित













