१० जेष्ठ २०७९, मंगलवार

आइमाई जात !

आइमाई जातकै भएकाले अस्ति मात्रै कोमल वलीको पिँडुलालाई टिप्पणीको विषय बनाइयो । केही व्यक्तिले उनको राजनीतिक करिअरमा औंला ठड्याए । उनले गरेको पत्रकारिता, उनको बुझाइ, राजनीतिक संस्कारले कतै प्रधानता पाएन ।

  • प्रतिमा सिलवाल

पढाउन क्लासको ढोकामा पुगेकी थिएँ, एउटा केटो विद्यार्थी मेरो अघिअघि ढोकानजिक पुग्यो । यसो क्लासमा हेर्‍यो अनि फ्याट्ट भन्यो, ‘आइमाईहरू मात्रै रैछन्, के बस्नु !’ अनि मतिर फर्कियो, ‘म्याम ट्वाइलेट गएर आउँछु’ भनेर हुत्तियो । मलाई भने उसले भनेको ‘आइमाईहरू मात्रै रैछन्, के बस्नु !’ वाक्यले हजार भोल्टको झड्का दिइसकेको थियो ।

कक्षामा ऊ त्यति नराम्रो विद्यार्थी पनि होइन । क्लास धेरै ‘बंक’ गर्नेमध्येको पनि होइन, ऊ । तैपनि ऊबाट यस्तो अनपेक्षित शब्द सुनें । मेरै उमेरका वा एउटै पेसाकाले त्यसो भनेका भए तुरुन्तै प्रतिक्रिया दिइहाल्थें । शिक्षक भएकाले होला, त्यतिबेला तुरुन्त प्रतिक्रिया दिन उचित लागेन । सम्हालिएँ । कक्षामा पसें, केटी विद्यार्थी मात्रै थिए । म पनि त उनीहरूकै ‘जात’ की थिएँ । केटो विद्यार्थीले भनेजस्तै आईमाई ! म स्पष्ट छु, आइमाईको शाब्दिक अर्थ यहाँ प्रयोग भएजस्तो नराम्रो छैन, होइन । तर, शब्दको भाव प्रयोग हुने ठाउँ र तरिकामा पनि भर पर्छ । जस्तो— आज एउटै कक्षामा आफैंसँग पढ्ने केटी साथीहरू देखेर उसलाई भयो ।

उसको कुरा सुनेर ममा कैयौं सोच एकैसाथ उब्जिए । उनीहरूको क्लासमा पढाउने शिक्षकमध्येको महिला म मात्रै छु । तर, हाम्रो कलेजमा महिला लेक्चरर लगभग पुरुषकै हाराहारीमा छन् । पुरुष शिक्षकको कक्षामा बसिरहँदा र मेरो कक्षामा बसिरहँदा उसलाई के लाग्दो हो ! एक–दुईपटक उसलाई मैले क्लासमा हल्ला गरेकाले गाली पनि गरेकी छु । त्यतिबेला उसलाई आइमाईले पनि मलाई गाली गर्ने भन्ने पक्कै पर्दो हो ! दिमाग रन्थनिरहेको थियो । तैपनि पढाउनैपर्‍यो । पाठको शीर्षक र मुख्य बुँदा ‘ह्वाइट बोर्ड’ मा लेख्दै थिएँ, एक हूल केटा साथीहरूसहित ऊ पस्यो । त्यसपछि अर्को केटोले फ्याट्ट बोलेको सुनें, ‘तँलाई बाहुनी ! त्यति पनि था छैन !’ फेरि झस्किएँ, ओहो, मेरा विद्यार्थी के सिक्दै छन् ।

त्यस दिन ‘समाजशास्त्रीय चिन्तन’ विषय पढाउनु थियो । मैले कक्षाको थालनी नै उनीहरूबाट आएका शब्दलाई लिएर गरें । नाम किटेर भनिनँ तर उदाहरण दिएँ । आफू वरपरको समाजले हुर्कंदै गर्दा हामीलाई जे सिकाउँछ त्यही नै व्यवहारमा परावर्तन हुने हो । जातीय, लैंगिक वा वर्गीय रूपमा हामीले अरूप्रति गर्ने व्यवहार कस्तो हुनुपर्छ, मैले कक्षामा त भनें । तर, एउटा ‘लेक्चर’ बाट विद्यार्थीले कति सिक्लान् म अनुमान गर्न मात्र सक्छु ।

यो घटनापछि म आफू बाँचेको समाजमा पटक–पटक फर्किएकी छु । भर्खरै किशोरवयमा प्रवेश गरेको केटो महिलाप्रति यति पूर्वाग्रही कसरी हुन सक्छ ? उसको परिवार र ऊ हुर्किएको समाजले महिलालाई कस्तो स्थानमा राखेको छ, त्यसैको प्रतिविम्ब न हो उसको प्रतिक्रिया । आफूलाई नौ महिनासम्म कोखमा राखेर धर्तीमा ल्याउने आमा जातका मानिसबीचमा बस्दा छोराले पुरुष हुनुको अभिमानमा आँच आएको किन ठान्छ ?

त्यस दिन मेरो दिमाग लयमा फर्किनै सकेन । घर फर्किएर पटक–पटक आफ्नै छोराको अनुहार हेरें । म नभई एक रात नबिताउने मेरो छोरा छ । मेरो विद्यार्थी पनि हुर्किंदै गरेको किशोर हो, जो भर्खरै आमाको काख छोडी बाहिरी संसार नियाल्दै छ । जसले उसलाई कोख, काख दियो, उसैलाई कमजोर साबित गरेर आफूमा गर्वानुभूति गर्न उसले कसरी जान्यो ? भोलि मेरो छोरा पनि ऊजस्तै भयो भने ?

हुन त, संसारभरि नै दक्षिणपन्थी राष्ट्रवादको लहरले समानता र समावेशीको मुद्दालाई बेवास्ता गरेको मात्रै होइन, नकारात्मक रूपमा पनि हेरेको देखिन्छ । त्यसकै प्रभावले होला, बेलाबेलामा मेरा केही अग्रज तर्क गर्नुहुन्छ, ‘हामीले वर्गीय कुरा गर्ने दिन गयो । अब महिला अवसर र समानताका मात्रै कुरा गर्ने हो भने टिकिँदैन ।’ पहिलो पुस्ताको महिलावादी आन्दोलनदेखि पाँचौं पुस्तासम्मको अवधि हिसाब गर्दा झन्डै १ सय ७२ वर्ष बितिसकेको छ । अझै हामी समानता र अवसरका कुरा गर्नै चाहन्नौं । हो, अवसर क्षमतावान्ले नै पाउनुपर्छ । तर, समानता ? किशोर अवस्थादेखि नै एउटा पुरुष महिलालाई कमजोर ठान्दै अघि बढ्छ भने कसरी आउला समानता ?

जीवनका तीन दशक काट्दै गर्दा लागेका ठेसहरूले नै भनिसकेका छन्— आइमाई जातका भएकाले मेरो र तपाईं (पुरुष) को भोगाइमा आकाश–जमिनको फरक छ । एउटा शिक्षकको रूपमा पढाउन कक्षामा पुग्दा मैले आइमाई जातको भएकामा ग्लानिबोध गर्ने परिस्थिति लोग्नेमान्छे जात भएकाले पनि अनुभूति गर्नुपरेको छ त ? एउटा व्यक्ति जन्मँदै पुरुष लिंग लिएर जन्मियो, अर्को महिला । फरक प्राकृतिक अंग बनोटको मात्र न हो । तर, तिनै दुई प्राकृतिक अंगको भिन्नताले थोपरेको कमजोरीको हिस्सा आइमाई जातको भागमा मात्रै किन ?

सिमोन द बोउवारले ‘द सेकेन्ड सेक्स’ मा भनेकी छन्, केटीमान्छे ससाना कुरामा अल्झिन्छन् भनेर पनि पुरुषहरू महिलाप्रति झिँझो मान्छन् । हो, महिलालाई अघि बढ्ने क्रममा यस्तै ससाना कुराले रोकिदिन्छन् । अनि पटक–पटक सम्हालिँदै अघि बढ्नुपर्छ । जस्तो, अस्ति मात्रै आइमाई जातकै भएकाले कोमल वलीको पिँडुला टिप्पणीको विषय बनाइयो । पुरुषहरू कट्टु मात्रै लगाएर चोक चौराहा डुल्दा उनीहरूको विषय चरित्र बन्दैन । कोमलका गीति शब्दलाई लिएर रघुजी पन्तले पिँडुलालाई उनको चरित्रको मानक बनाइदिए । अनि केही व्यक्तिले त्यही विषयमा होमा हो मिलाएर उनको राजनीतिक करिअरमा औंला ठड्याए । उनले गरेको पत्रकारिता, उनको बुझाइ, राजनीतिक संस्कारले कतै प्रधानता पाएन ।

सोचौं त, यी झिनामसिना लाग्ने कुरा लोग्नेमान्छेको पेसागत जीवनमा कहिल्यै ठेस बनेर आउँछन् ? बरु पुरुषवादी मानसिकता बोकेकाहरू उल्टै नैतिकता, चरित्र र महिलाले गर्नुपर्ने संस्कारजन्य उपदेशहरू सिकाउँछन् । कोमलकै घटनामा उपदेश दिने अर्को चरित्र अष्टलक्ष्मी शाक्यहरू बनेर आयो । व्यवहार कुन लिंग लिएर जन्मिएको छ भनेर हुँदैन । कस्तो सोचाइ र संस्कार लिएर हुर्किएका छन् भन्नेले उनीहरूले गर्ने चिन्तनको परार्वतन हुन्छ । व्यवहारमा त्यही झल्किन्छ ।

यूएन ओमनले एउटा रिपोर्टमा अहिलेकै दरमा अघि बढ्ने हो भने विश्वले राखेको लैंगिक समानताको लक्ष्य प्राप्त गर्न अरू ९९.५ वर्ष लाग्छ भनेको छ । समाज परिवर्तन एकै रूपमा हुँदैन । विश्वका केही देशले उत्तरऔद्योगिक समाजको अभ्यास गरिरहँदा हाम्रीले अझै पशुपालन समाजको केही हिस्सा बोकिरहेका छौं । हाम्रो समाजको लय यही हुने हो भने बाँकी सय वर्षले पनि समानता भेट्दैन । हामीले कम्तीमा शरीर र अंगको आधारमा गरिने र गराइने लज्जाबोध मात्रै बन्द गर्न सक्यौं भने महिलाले हीनताबोध गर्दै कार्यस्थलमा पुग्नुपर्ने स्थितिको अन्त्य हुन सक्छ । कान्तिपुर बाट साभार

  • ८ चैत्र २०७७, आईतवार प्रकाशित

  • Nabintech