१६ मंसिर २०७९, शुक्रबार

समय बदलियो, विवाह बदलिएन

न्यायपूर्ण समावेशी समाज निर्माणका लागि विभेदपूर्ण दाम्पत्य जीवन र पितृसत्तात्मक सोचमा परिवर्तन जरुरी छ ।

  • अमृता अनमोल

नेपाली बृहत् शब्दकोशमा स्त्री र पुरुषका बीचमा पति–पत्नीको सम्बन्ध कायम गराउने धार्मिक, सामाजिक कृत्यलाई विवाह भनिएको छ । हाम्रो कानुनमा परम्परागत, अदालती र गन्धर्व वा प्रेम विवाहको व्यवस्था छ; पुरुष र महिलाले उत्सव, समारोह, औपचारिक वा अन्य कुनै कार्यबाट एकअर्कालाई पति–पत्नीका रूपमा स्विकारेमा विवाह भएको मानिने उल्लेख छ ।
समलिंगी विवाहलाई छाड्ने हो भने, अधिकांश विवाह महिला र पुरुषका बीच हुन्छ । यस लेखमा विपरीतलिंगीबीचको विवाहको मात्र चर्चा गरिनेछ । विवाह सामाजिक सबलताको एउटा हिस्सा हो, जसले व्यक्ति, घर, समाज र सभ्यता चलायमान बनाउँछ । सामान्यतया विवाहले महिला र पुरुषबीच आजीवन सम्बन्धको परिकल्पना गर्छ । त्यसैले होला, विवाहबाहेक अर्को कुनै पनि सम्बन्ध तोड्न सम्बन्ध–विच्छेद गर्नुपर्दैन ।
‘करिअर कि विवाह’, धेरै युवतीको साझा द्विविधा हो यो । पछिल्लो समय अभिभावकले मात्रै छोराछोरीको विवाहको निर्णय गर्ने परिपाटी कम हुँदै गएको छ । कोसँग, कसरी र कहिले विवाह गर्ने, युवायुवती आफैंले तय गर्न थालेका छन् । विवाहप्रतिको धारणा बदलिँदै जाँदा यसले महिला–पुरुष सम्बन्धलाई पनि परिवर्तन गरेको छ । तर, के त्यो परिवर्तन पहिलेको भन्दा फरक छ ? यसबारे बहस जरुरी छ ।

विवाह संस्कार यौन सुख र सन्तान प्राप्ति अनि वंश सञ्चालनको आधिकारिक संस्था हो । तैपनि, पितृसत्तात्मक समाजमा विवाह महिलाका लागि बोझिलो हुन्छ । महिला पुरुषको घरमा जानुपर्छ । नयाँ घरमा जाँदा हरेक सदस्यलाई रिझाउनुपर्छ । वैवाहिक सम्बन्ध व्यक्तिगत कम, पारिवारिक बढी हुन्छ । हाम्रो समाजका धेरैजसो जीवनसाथीको सम्बन्ध पति ‘मालिक’ र पत्नी ‘नोकर’ को जस्तै छ । विवाहअघि ‘तिमी’ भनिएको पुरुषलाई पनि विवाहपछि ‘हजुर/तपाईं’ भन्नुपर्छ । पतिको हरेक निर्देशन लुरुलुरु मान्नुपर्छ । धेरै काममा पत्नीले नै सम्झौता गर्नुपर्छर् । विवाहपछि धेरै पत्नीले पढाइ र काम छोड्नुपर्ने अनि इच्छाविपरीत आमा पनि बन्नुपर्ने हुन्छ । अहिले पनि घरको स्याहार र सेवामूलक काम, चुलोचौको, परिवारको चित्त बुझाउने बोझ पत्नीमा छ । उनैले घर सम्हाल्छिन् । घरपरिवारको बोझ कम हुन्छ भनेर छोराको विवाह गर्नेहरू पनि धेरै छन् ।

छोरा कुलतमा लागे सपार्न विवाह गरिदिने चलन अझै छ । पत्नीले भनेअनुसार जिम्मेवारी पूरा नगर्दा सम्बन्ध छुटेका उदाहरण समाजमा प्रशस्त छन् । तर, दीर्घरोग लागे पत्नीलाई माइत पठाउने चलन अझै छ । आफ्नो सुरक्षाका लागि विवाह गर्ने अनि त्यसो नहुँदा पत्नीलाई नै दोष देखाउने परम्परा हाम्रोमा छ । पति हुँदैमा नियन्त्रणमा राख्न खोज्ने पितृसत्तात्मक मान्यताले पुरुषहरू ग्रस्त छन् । यसैकारण पनि सक्षम युवतीमा विवाहप्रति वितृष्णा बढ्दो छ । यस्तोमा विवाह केका लागि, कसका लागि भन्नेजस्ता प्रश्न खडा भएका छन् ।
प्रेम–विवाहले युवतीको निर्णयलाई थोरै भए पनि स्थान दिएको छ । तर विवाहपछिको हैसियतमा भने खासै परिवर्तन हुँदैन । पत्नीलाई वशमा राख्नुपर्छ भन्ने मान्यता कायमै छ । पितृसत्तात्मक मूल्य र मान्यताका नाममा विवाह संस्कारले महिलालाई थिचिरहेको छ । यही संस्कार धान्दाधान्दा विवाह प्रेम सम्बन्ध अन्त्य हुने मोड बनेको छ । हरेक कुरामा औपचारिकता खोज्दा विवाह आफ्ना लागि नभएर अरूका लागि मात्रै बनेको छ । यस्तोमा विवाह र यौनिकताको परम्परागत मूल्य–मान्यतालाई चुनौती दिन सक्षम युवतीहरू तम्सिएका छन् । धेरै पुरुष जीवनसाथीका लागि होइन, सहयोगीका लागि विवाह गर्न खोज्छन् । समान हैसियतका पतिपत्नीबीच पनि समान व्यवहारको साटो तहगत सम्मानपूर्ण व्यवहार चाहन्छन् । पुरुषहरूले यस्तो सोच हटाउन आवश्यक छ नत्र विवाह संस्था कुरूप बन्दै जानेछ । यसले पितृसत्तामा ठूलो उथलपुथल ल्याउन सक्नेछ । विवाहपछि पतिको घरको पूर्णकालीन सदस्य बन्नुपर्ने र आफ्नो इच्छाको कदर नहुनाले धेरै छोरी विवाह संस्कारबाटै बिच्किएका छन् ।

मानिसका लागि सबैभन्दा ठूला विषय हुन्— स्वतन्त्रता, सम्मान र परिचय । अहिलेका युवती पति–पत्नी सम्बन्ध सम्मानपूर्ण होस् भन्ने चाहन्छन् । आफ्नो परिचय बनाउन चाहन्छन् । काम र नाममा सम्मान खोज्छन् । करिअरमा विवाहको असर थोपर्न चाहन्नन् । विवाहका नाममा व्यक्तिगत स्वायत्तता, स्वतन्त्रता र स्वनिर्णयको अधिकार गुमाउन चाहन्नन् । विवाहपछि धेरै महिलाले स्वतन्त्रता र परिचय नै गुमाएका छन् । यस्तो सोचेर पनि विवाहप्रति फरक धारणा विकास भएको छ । सक्षम भएर पनि विवाह नामक संस्थामा प्रवेश गरेपछि महिला दबिएर बस्नुपर्छ । त्यसैले युवतीहरू विवाह भन्नेबित्तिकै तर्सन्छन् । पति भनिने पुरुषसँग डराउँछन् । विवाहभन्दा आफ्नो करिअर र कामको माया उनीहरूलाई बढी लाग्छ । आफ्नो पहिचान गुमाएर विवाह गर्न उनीहरू तयार छैनन् । युवतीहरूका लागि विवाह वर्षौंको मिहिनेतले बनाएको करिअर मेट्ने माध्यम बन्नबाट रोक्नुपर्छ । त्यसका लागि पुरुषवादी चिन्तन फेर्नुपर्छ । समानता र सहअस्तित्व कायम गर्नुपर्छ ।

विवाह पति–पत्नीबीचको सम्झौता र सामाजिक बन्धन हो । यसलाई मानव सभ्यताले निर्माण गरेको संगठन पनि भनिन्छ, जसले महिला र पुरुषलाई परिवार बनाउन उत्प्रेरित गर्छ । त्यस्तै, विवाह जीवनको साझेदारी हो, जसले आफ्नो भौतिक र भावनात्मक अस्तित्वमाथि साझेदारी गर्छ । विवाहले सामाजिक र मानवीय अस्तित्वलाई शक्तिशाली बनाउँछ । वैवाहिक सम्बन्धमा पतिलाई बलवान् र पत्नीलाई निरीह बनाउनु हुँदैन । उनीहरू सुख र दुःखका साथी हुनुपर्छ । एक–अर्काको स्वतन्त्र, अस्तित्वलाई स्विकार्नुपर्छ । विवाह युवतीका लागि बोझ बढाउने होइन, ऊर्जा थपिदिने माध्यम हुनुपर्छ ।

विवाहका मामिलामा सबै पुरुष दोषी छैनन् । सबै महिला पनि असल छैनन् । दोष सृष्टिको होइन, दृष्टिको छ । समस्या जैविक लिंगको होइन, सामाजिक लैंगिक व्यवहारको छ । गल्ती, पहिचान गुमाएर छोरी अन्माउने र ज्वाइँ मान्ने तर बुहारी हेप्ने चलनको हो । अहिले पढे–लेखेका र आत्मनिर्भर बनेका युवती पितृसत्ताको यस्तो जड भत्काउन खोज्दैनन् । न्यायपूर्ण समावेशी समाज निर्माणका लागि विभेदपूर्ण दाम्पत्य जीवन र पितृसत्तात्मक सोचमा परिवर्तन हुनु जरुरी छ । सृष्टि चलाउन विवाह गर्नुपर्छ, घरपरिवार चाहिन्छ । तर, आफ्नो पहिचान र स्वतन्त्रता नै गुमाएर गरिने विवाहको अर्थ छैन । पितृसत्ताको ढालले वैवाहिक संस्थालाई थिचिरहने कि त्यसलाई तोड्ने भन्नेमा अब हरेक युवायुवती तयार हुनुपर्छ ।

कान्तिपुर बाट साभार

  • १८ चैत्र २०७७, बुधबार प्रकाशित

  • Nabintech