१३ जेष्ठ २०८१, आईतवार

शिरमाथि झुण्डिएको तरबारजस्तै बन्यो गणतन्त्र
  • संकेत कोइराला

गौतम बुद्ध कतै गइरहेका बेला एउटा मानिसले हठात् सोध्यो– ‘ईश्वर छ?’ बुद्धले निमेषभरमै उत्तर दिए– ‘छैन।’ दिउँसो अर्को मानिसले सोध्यो– ‘जहाँसम्म मलाई लाग्छ ईश्वर छैन। यसमा तपाईंको के विचार छ?’ बुद्धको उत्तर थियो– ‘छ।’ त्यही साँझ अर्को मानिसको जिज्ञासा राख्योे– ‘ईश्वर छन् या छैनन, म त अलमलमा छु। तपाईंले निर्क्याेल गरिदिनुपर्‍यो।’ उसंग तथागतले भने– ‘चुप रह्यौ भने असल हुनेछ– न छ, न छैन।’

बुद्धका तीनथरी भनाइ सुनेपछि सँगसँगै हिँडेका भिक्षु आनन्द अघोर आश्चर्यमा परे। रात्रिकालीन सत्संगमा उनले भने– ‘म त पागल भइसकें प्रभु। ईश्वरको सम्बन्धमा बिहान तपाईंले भन्नुभयो– छैन… दिउँसो भन्नु भो– छ…., फेरि साँझ भनिदिनु भो– न छ न छैन। … म के सम्झूँ प्रभु?’ सुमधुर वाणीमा बुद्धले जवाफ दिए– ‘बिहान मलाई प्रश्न सोध्ने मानिस आस्तिक थियो। ऊ चाहन्थ्यो म उसको हो मा हो मिलाइदिन्छु। ऊ फगतः आफ्नो सूक्ष्म अहंकारलाई तृप्त गर्न आएको थियो कि बुद्ध पनि त्यही मान्दछन् जुन म मान्दछु। त्यसैले मैले उसलाई भनिदिएँ– छैन। जसलाई सत्य थाहा छ, उसले अरुको स्वीकृति खोज्दैन। दिउँसो जो मानिस आएको थियो– त्यो नास्तिक थियो। ईश्वर छैन भन्ने उसको ठम्याइ थियो। उसलाई मैले भन्नुपर्‍यो– छ। उसको पनि खोज रोकिएको थियो। ऊ पनि मबाट नास्तिकताको स्वीकृति लिन आएको थियो। साँझ आएको मानिस न आस्तिक थियो, न नास्तिक नै। उसलाई यी दुवैको बन्धनमा बाँध्नु उचित थिएन। न छ बाधक, न छैन बाधक। त्यसैले मैले भनें– चुप रहू न छ न छैन।’ बुद्धको भनाइ सुनेर आनन्द चुप भए।

अहिले भगवान् बुद्ध प्रकट भएर व्याख्या गरिदिने भए सम्भवतः हाम्रो संघीयताको परिभाषा पनि यस्तै मौसमी हुन्थ्यो होला। शेरबहादुर देउवा, केपी ओली, माधव नेपाल र पुष्पकमल दाहालले यस्तै बेतुकको प्रश्न तेस्र्याउँथे होलान्। सडकले ललकारेर ल्याएको लोकतन्त्र सडकमै द्रौपदीको चीरहरण भएजस्तै विसर्जन हुने अवस्था आउनु भनेको यस्तै स्वीकृति खोज्न शक्तिकेन्द्र धाउनुको परिणति हो। अब आधा दशक पनि पर्खिनु पर्दैन संघीयताका मुखिया स्वयं यसको पदवी र बर्दी फुकालेर आत्मसमर्पण गर्नेछन्। संघीयता यस्तो काउसो साबित हुनेछ कि यसले मानिसको नैसर्गिक अधिकार छिन्नेछ। सामाजिक अनुशासन र मर्यादा रसातल पुर्‍याउनेछ।

दुई हप्ताअघिसम्म केपी ओलीका लागि अहिलेको लोकतन्त्र जताततै तोरी फुलेजस्तै फुलेको थियो। संसारको कुनै शक्तिले गर्न नसकेको काम आफू नेतृत्वको सरकारले गर्न सक्छ भन्ने दम्भ थियो। त्यतिमात्र हैन, आफूले बोलेका वाक्य ब्रह्मवाक्य हो भन्ने भ्रान्तिले विवेकको भाँडोमा बिर्को लगाइदिएको थियो। यो दोष ओलीको हैन सत्ता र शक्तिको हो। ओलीले देखेको सत्ता र शक्तिको रौस अहिले शेरबहादुर देउवामा चढेको छ। शेरबहादुरले देख्न थालेको सत्ता र शक्तिको सुन्दर बगैंचामा ओली जताततै सिउँडी देख्न थालेका छन्। आफू सत्तामा हुँदा देखेको समतल बाटो अहिले पावरदार चस्माबाट हेर्दा पनि तारेभीर देखिन्छ। कांग्रेसजनभित्रको सायद यही मनोदशा बुझेर बीपी कोइरालाले उतिबेलै ‘दोषी चस्मा’ कृति लेखेका रहेछन्।

प्रचण्डका लागि मौजुदा गणतन्त्र जग्गा दलालले लिने फाइदाजस्तै भएको छ। दलालले किन्ने र बेच्ने दुवैबाट भ्याएजस्तै राजनीतिक चित र पोट दुवैमा दाउ लाउन माओवादी सफल छ। गणतन्त्र नामको डबलीमा उसले हिङदेखि हर्दीसम्मको व्यापार भ्याएको छ।

सपनामा नचिताएको प्राप्तिले दुईचार जनाको तिर्खा मेटिए पनि आमजनताका लागि गणतन्त्र शिरमाथि झुण्डिएको तरबारजस्तै भएको छ। लोकतन्त्रलाई २–४ जनाको बग्गी बनाइँदा त्यो देउवा, ओली, नेपाल र दाहाल टावरमा सीमित भयो। बरु निरंकुश भनिएका शासकहरुले कमसेकम उनीहरुको प्यारीको नाममै किन नहोस् पुतलीसडक बनाए। काकाकुल काठमाडौंभित्र रानीपोखरी खनिदिए। देशको प्राज्ञिक थलो त्रिभुवन विश्वविद्यालय उनीहरुकै नाममा बन्यो। संसारलाई जोड्ने विमानस्थलदेखि गरिबका सन्तानले कम्तीमा खुट्टा राख्न हिम्मत गर्ने वीर अस्पताल तिनैले बनाए। भनेको पैसा पाए छत पनि बेच्न पाए हुन्थ्यो भन्ने हुटहुटी बढ्न लागेको काठमाडांैको मनोविज्ञानभित्र सरापेरै भए पनि रत्नपार्क नै सुस्ताउने अखडा बनिरहेको छ। गणतन्त्रको पीडाले डामिएका जनतामा अब राणा, राजा र पञ्चेलाई सराप्ने सामथ्र्य थोरै पनि बाँकी छैन। धरहराभन्दा अग्लो स्मारक नबनेपछि ढलेकै भए पनि त्यसकै स्मरणमा रमाउनु दैनिकी बनेको छ।

जुन प्रवृत्तिविरुद्ध आन्दोलन गरिन्छ, आन्दोलन सफल भएको भोलिपल्ट उसैसँग सहभोज सुरु हुन्छ। हो, बेथितिको बिउ यहींबाट रोपिन्छ। संसारका कुनै पनि सफल क्रान्तिपछि क्रान्ति विरोधीलाई चुलोचौकामा बसालिन्न। बरु तिनीहरुलाई सजाय दिइन्छ। समयले उनीहरुको मनमस्तिष्क धोएपछि परिवर्तित राजनीतिको भावधारामा बग्ने अवसर पाउनु अलग विषय हो। लोकतन्त्र समर्थक भनेकाहरुले जिन्दगीभर सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, कमल थापाहरुलाई शत्रु देखे। यिनीहरुको पतन भएका दिन आफ्नो उत्थान हुने सपना पाले। आखिर परिवर्तन पनि भयो। तर दुर्भाग्य परिवर्तनको आधा दशक नबित्दै तिनै व्यक्तिहरु देशको कार्यकारी हुन पुगे। लोकतन्त्र सत्ता र लाहुरेको भर्ती होइन भन्ने आत्मज्ञान कहिल्यै प्रवाहित भएन। प्रचण्ड र कमल थापाको चुलौचोको एउटै हुनु रहेछ भने क्रान्तिको जामा लगाएर त्यत्रा मानिसमाथि तरबार किन चलाउनुपर्थ्याे ? सम्भवतः यो प्रश्नको उत्तर स्यालको सिङ पाउनुभन्दा कठिन छ। बिरालो जुन रङको भए पनि उसको सामर्थ्य मुसा मार्नुमा भएजस्तै जुनसुकै दलका नेता भए पनि राजनीतिक धन्दा फस्टाएको आधारमा उनीहरुको वजन निर्धारण हुने गर्छ।

जनउत्तरदायी सरकारको मातहत रहेको सेनाको बिजुली गारत दरबारलाई बुझाउनु हुँदैन, त्यसले तपाईंहरुलाई नै सिध्याउँछ भन्ने मोहनशमशेरको अर्ती बीपीले नमान्दा आखिर त्यही सानो गाँठो मुलुककै प्राणमा जिन्दगीभर घाँडो साबित भयो। लोकतन्त्र विश्वास, सुरक्षा र अनुशासनको त्रिवेणी हो भन्ने मान्यता एकछिन पनि मुलुकमा स्थापित हुन सकेन। एकथरीले खाएको देखेर अर्को थरीलाई भाउन्न भएर सडकमा निस्किएर उपद्रो मच्चाउने अनि त्यसलाई शान्त पार्न भएको सम्झौतालाई क्रान्ति भनिँदा त्यो क्रान्तिले कसैलाई धोका दिनबाट बाँकी राखेन। मुलुकका हरेक क्रान्ति पाँच सय परिवारभन्दा माथिकाले उपयोग गर्न पाएनन। लोकतन्त्रमा तिनै टाठाबाठा रमाए। कुखुराको भाले जसरी गरिबका छोरा लडाएर, भिडाएर तमासा हेर्ने काममा तिनीहरु नै अगाडि देखिए।

लोकतन्त्रको पहिलो सर्त भनेको समभाव हो। पोसाक एउटै लाएर समानता आउँदैन। यसो हुँदो हो त फौजीमा जुनियर डग र सिनियर गडको मान्यता स्थापित हुने थिएन। सिंहदरबारमा सरकारी कर्मचारीले पनि समान पोसाक त लाएका छन्। तर हेराइ झन्झन् भिरालो पर्दै गएको छ। दृश्यमा कर्मचारी देखिए पनि तिनीहरुमा दलीय प्रतिनिधिको राग बढी छ। हामीले खोजेको परिवर्तन भनेको ठूला गाडीहरु सिंहदरबारभित्र पसून्। त्यो गाडीको अघिल्लो सिटमा सचिव, दोस्रोमा सहसचिव, तेस्रोमा उपसचिव हुँदै अन्त्यमा कार्यालय सहायक बसून्। कार्यालयमा आज सम्पादन हुने कामको बैठक त्यहीं सकियोस्। एकले अर्कालाई हाकिम हैन, साथी हो भन्ने हार्दिक भावना विकास होस्। तर त्यतातिर जाने त परै जाओस् सोच्नु पनि अपराधजस्तो ठानियो। यस्तो विचार राख्नेहरु आफ्नै समूहमा अपमानित भए।

सिंहदरबारमा परेको असिनापानीले जनताको बाली नास गर्ने नै भयो।  फलस्वरुप ५० डिग्री तापक्रममा ऊँटको लिदी सोरेर पठाएको पैसा पनि आइफोन, टीभी, भिडियो जस्ता सामान किन्नमै सकिने गरेको छ। सिंहदरबारको यही बेथितिले हिउँ जस्तो कलकल पानी बग्ने ठाउँका नेपाली पनि मिनरल वाटर, कोकाकोला र इनर्जी ड्रिंकका भोगी भएका छन्। कोकका बोतलका सबै पैसा विदेशीका हुन् भन्ने हेक्का राज्यले दिन उचित ठानेन। किनकि हाम्रो राजनीतिले आफ्नो यात्रा तिनीहरुलाई रोक्ने हैन, बोक्ने तर्फ तय गर्‍यो। गाडीमा राष्ट्रिय झण्डा हल्लाए पनि एउटा अमुक व्यक्ति या शक्तिले कोरिदिएको रोडम्याप बोकेर मन्त्री बन्ने क्रम सुरु भयो। त्यसपछि त के थियो र? एउटा मन्त्री र खेतालाको अन्तर खुटिन छोड्यो। लेखक कोइरालाले  नेपाल समयका लागि लेखेका हुन।

  • १२ श्रावण २०७८, मंगलवार प्रकाशित

  • Nabintech