४ बैशाख २०८१, मंगलवार

निर्वाचन अवैध आर्जन चोख्याउनेहरूका लागि ‘पर्व’
  • न्युज मानसराेवर

स्थानीय तहको निर्वाचनका लागि १ लाखभन्दा बढी उम्मेदवारहरूको मनोनयन दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । प्रतिउम्मेदवार औसतमा १ लाखको दरले हिसाब गर्ने हो भने पनि यो निर्वाचनमा उम्मेदवारले खर्च गर्ने कुल रकम १० अर्बजति हुन आउँछ । स्थानीय तह निर्वाचनमा गाउँपालिका प्रमुखका उम्मेदवारहरूले नै कम्तीमा रू. १०–१५ लाखभन्दा बढी खर्च गरेको अनौपचारिक कुराकानीहरूमा आउने गरेको छ । केही समय अगाडि एक जना पूर्वसांसदले निर्वाचन लड्न आफूले करोडौं खर्च गरेको सार्वजनिक रूपमा नै बकेका थिए । अरूले यसरी स्पष्ट रूपमा नभने पनि अधिकांश उम्मेदवारहरूले यही प्रवृत्तिमा खर्च गर्ने गरेका छन् । यसबाट निर्वाचनमा प्रयोग हुने वित्त राशीका बारेमा मोटामोटी अनुमान गर्न सकिन्छ ।

लोकतन्त्रको आधारस्तम्भ भएकाले लोकतन्त्रप्रति आस्थावान् हरेक व्यक्तिले निर्वाचनलाई एक प्रकारले पवित्र पर्वकै रूपमा ग्रहण गर्छन् । यसलाई स्वाभाविक नै मान्न सकिन्छ । तर, लोकतन्त्रप्रति त्यति विधि चासो नहुने तर कतिपय आर्थिक छलछाममा लागेर अस्वाभाविक एवं अवैध तरीकाले रकम आर्जन गरिरहेकाहरूका लागि पनि निर्वाचन ‘पर्व’ कै रूपमा रहेको छ । अवैध रकमलाई चोख्याउने वा भविष्यमा आफूअनुकूल नीति बनाउने कार्यमा ‘लगानी’ गर्ने मौकाको रूपमा उनीहरूले पनि निर्वाचनलाई ‘पर्व’ नै मान्छन् । यस्तो प्रवृत्ति नेपालमा मात्र होइन अन्यत्र पनि देखिन्छ ।

हुन त निर्वाचनसम्बन्धी ऐन तथा निर्वाचन आयोग नियमावलीले समेत राजनीतिक दल वा उम्मेदवारले निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले ३० दिनभित्र आयोगले तोकेको कार्यालयमा निर्वाचन खर्चको विवरण पेश गर्नुपर्ने व्यवस्था गरेको छ र त्यसले प्रत्यक्ष रूपमा अस्वाभाविक रूपमा र अनुचित रूपमा खर्च गर्न बन्देज लगाउने उद्देश्य बोकेको छ । तर, यस्तो प्रावधानको कुनै पनि दल तथा उम्मेदवारहरूद्वारा पूर्ण अनुपालना भएको पाइँदैन र उनीहरूले बेलगाम ढंगले खर्च गर्ने गरेको देखिन्छ । अझ नेपालमा कतिपय स्थानमा त खुलमकुल्ला मतदाता खरीद गर्नेसम्मका घटनाहरू सुनिन्छन् । यही बेलगाम खर्चको माहोलमा अवैध रकमको छरपस्ट प्रयोग हुने गरेको पाइन्छ ।

हाम्रो जस्तो तेस्रो विश्वमा मात्र होइन प्राय:जसो निर्वाचन हुने विकसित देशहरूमा समेत चुनावलाई अवैध आर्जन चोख्याउने ‘अवसर’को रूपमा दुरुपयोग गर्ने गरिएको पाइन्छ ।

नेपालमा पनि अहिले निर्वाचन निक्कै महँगो हुँदै गएको छ । निष्ठा, त्याग, मूल्य र दर्शनको आधारमा राजनीति गरेका र समाजका लागि उपयोगी हुने प्रकारका व्यक्तिहरू निर्वाचनमा सहभागी नै हुन नसक्ने परिस्थिति सृजना भएसँगै धेरैभन्दा धेरै पैसा खर्च गर्न सक्नेहरू नै निर्वाचनमा सहभागी हुने र निर्वाचित पनि हुने गरेका छन् ।

तर, यसरी निर्वाचनमा गरिने यस्ता अनुचित खर्चहरूको स्रोतका बारेमा भने कसैले कतै पनि पारदर्शी रूपमा सार्वजनिक रूपमा जानकारी दिनु पर्दैन । यस्तो प्रक्रिया र परम्परालाई निर्बाध छोड्ने प्रचलनले पनि उनीहरूका लागि यसै गरी खर्च गर्ने थप धरातल विकास गरेको देखिन्छ । निर्वाचनमा अवैध धन निर्मलीकरणका विभिन्न स्वरूपहरू हुन्छन् । तीमध्ये केही निम्नानुसार छन् ।

उम्मेदवार स्वयं र उसको सहयोगीका रूपमा कतिपय अवस्थामा उम्मेदवार स्वयंले अवैध रूपमा आर्जन गरेको रकमलाई निर्वाचनको माहोलमा एकाकार गराएर सम्पूर्ण आर्जन निर्मलीकरण गरेका उदाहरणहरू प्रशस्त पाइन्छन् । त्यसबाहेक कुनैकुनै अवस्थामा उम्मेदवारलाई सहयोग गर्ने बहानामा उसको उम्मेदवारीको दुरुपयोग गरेर अन्य अपराधीहरूले समेत आफ्ना अवैध रकमलाई चोख्याइरहेका हुन्छन् ।

चन्दा तथा घूसका रूपमा उम्मेदवारले रकम उठाउने र उसलाई चन्दा दिने प्रक्रिया अपारदर्शी हुँदा पनि कुनै कानूनी कारबाही नहुने भएकोले पनि यस्ता गतिविधिहरूले प्रश्रय पाएका छन् ।

निर्वाचन आयोगका पदाधिकारीलाई विभिन्न स्वार्थका लागि घूस खुवाउने प्रचलन पनि बिस्तारै देखिन थालेको छ, कतिपय देशहरूमा । भारतमा हालै मात्र एक प्रमुख पार्टीका उम्मेदवारले आफूले चाहेको चुनाव चिह्न दिलाइदिन ‘घुस अफर’ गरेको आरोपमा सम्पत्ति शुद्धीकरणको मुद्दा झेलिरहेका छन् र उनलाई बयानका लागि अदालतमा बोलाइएको छ ।

विशेष गरी कर छलीजस्ता वित्तीय अपराधमार्फत आर्जन गरेको रकमलाई चन्दाको रूपमा ‘सदुपयोग’ गर्न हाम्रो जस्तो देशमा निर्वाचन एक महत्त्वपूर्ण ‘अवसर’ हुँदै आएको छ ।

कृत्रिम समाजसेवाका रूपमा
उम्मेदवारहरूले लोकप्रियता बटुल्न गाउँगाउँमा स्वास्थ्य शिविर चलाउने, सामान्य रोगका बिरामीलाई समेत अस्पताल लगेर उपचार गराउनेजस्ता देखावटी प्रकारका समाजसेवाहरू समेत निर्वाचनको अवसरमा देखिने गरेर छन् र यस्ता कथित ‘समाजसेवा’ का लागि पर्दा पछाडिबाट प्रायोजन गर्नेहरूको सम्पत्तिको शुद्धतामा पनि कतिपय अवस्थामा प्रश्न उठ्न सक्छ ।

व्यावसायिक ‘फन्डिङ’ का रूपमा
भविष्यमा विभिन्न प्रकारका सरकारी ठेक्का पट्टामार्फत अहिले आफूले गर्ने सहयोग रकमको शोधभर्ना लिने प्रक्रियाले त झन् चक्रीय रूपमा वित्तीय अपराधलाई प्रश्रय दिएको देखिन्छ । अहिले प्रत्यक्ष रूपमा यस्ता तत्त्वहरूले अवैध रकम सहयोग गर्ने त भइहाले भविष्यमा समेत उनीहरूले लिने ‘अवाञ्छित फाइदा’ ले वित्तीय अपराधको चक्रलाई अविच्छिन्न बनाइदिन्छ ।

नेपालमा पनि आफ्नो एजेन्डा अघि बढाउने शर्तमा दल वा उम्मेदवारमाथि व्यावसायिक क्षेत्रको ‘फन्डिङ’ रहेको स्पष्ट देखिन्छ । विशेष गरी २०५१ को निर्वाचनपछि यो प्रवृत्ति विकसित भएको मानिन्छ ।

ऋण आदान प्रदानका रूपमा
कतिपयले उम्मेदवारलाई दिने ऋणमार्फत समेत आफ्नो अवैध सम्पत्तिको शुद्धीकरण गरिरहेका हुन्छन् । अनि यस्ता ऋण तिर्न प्रयोग हुने रकमबाट पनि फेरि अर्को चरणको शुद्धीकरण हुने गर्दछ ।

विप्रेषणका रूपमा
निर्वाचनको बहानामा विदेशबाट समेत अवैध रकम भित्रिन सक्छ । अहिले चर्चामा आएको गभर्नर प्रकरणमा पनि यस्तै चुनाव खर्चसँगको साइनोको गन्ध आएको भन्ने केही व्यक्तिहरूको अनुभव रहेको छ ।

मादक तथा लागूपदार्थका रूपमा
निर्वाचनको माहोलमा अधिक मात्रामा हुने अवैध नगद कारोबार, मादक तथा लागू पदार्थ सेवन जस्ता क्रियाकलापले पनि प्रत्यक्ष रूपमा वित्तीय जालझेलतर्फ नै संकेत गरेको हुन्छ ।

गतवर्ष भएको भारतको निर्वाचनमा करीब १५ अर्व मूल्य बराबरको मादक तथा लागू पदार्थ बरामद गरिएको यथार्थले पनि यही कुराको पुष्टि गर्छ । निर्वाचनमा यसरी विविध स्वरूपमा हुने अवैध रकमको कारोबारका अतिरिक्त औपचारिक रूपमा हुने खर्चमार्फत समेत अप्रत्यक्ष रूपमा वित्तीय अपराध हुने गरेको छ । एक अध्ययनअनुसार २०७४ सालको स्थानीय निर्वाचनमा मात्र प्रतिमतदाता करीब ५ हजार र समग्रमा करीब ५१ अर्ब बराबर खर्च भएको थियो । त्यसका अतिरिक्त निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार उसले मात्र साढे १८ अर्ब जति खर्च गरेको थियो । औपचारिक रूपमा सार्वजनिक गरिएको यस्तो निर्वाचन खर्चको कुल राशीमध्ये अनियमित तथा अपारदर्शी ढंगले हुने खर्चले अधिकांश अंश ओगट्ने हुनाले पनि निर्वाचनमार्फत हुने वित्तीय जालझेलको यथार्थ आकलन दुरुह नै देखिन आउँछ ।लेखक बैंकर हुन् । साभार

  • १५ बैशाख २०७९, बिहीबार प्रकाशित

  • Nabintech