१३ बैशाख २०८१, बिहीबार

निर्यात क्षेत्रको सबलीकरणमा मानित निर्यात
  • न्युज मानसराेवर

मानित भन्नाले उही प्रकृतिको कार्य गर्ने भन्ने पक्षलाई बुझिन्छ । मानित निर्यात भन्नाले पनि निर्यात सरहको निर्यात भन्ने अर्थ लाग्छ । मानित निर्यात पनि आर्थिक कारोबारमा निर्यातको हैसियत प्राप्त निर्यातको एउटा मोड हो, जो स्वदेशभित्र नै कारोबार हुने गर्छ । सारमा भन्नुपर्दा मानित निर्यात दुई देशका वैधानिक सिमाना वारपार नभई हुने निर्यात व्यापारको एकप्रकार हो । मानित निर्यातका सम्बन्धमा सामान्य मान्यता यही सेरोफेरोमा केन्द्रित रहे तापनि यसको व्याख्या भने देशअनुसार फरकफरक हुने गरेको छ ।

संयुक्त राज्य अमेरिकाको वाणिज्य विभागअन्तर्गत रहेको उद्योग तथा सुरक्षा ब्युरोको परिभाषाअनुसार मानित निर्यात भन्नाले संयुक्त राज्य अमेरिकामा बसोवास गर्ने विदेशी नागरिकलाई संरक्षित प्रविधि अर्थात् सोर्स कोड विक्री गर्नुलाई मानिएको छ । यो प्रविधि या सोर्स कोड जुन देशको नागरिकले खरीद गर्छ यो निर्यात पनि सोही देशतर्फ हुने कानूनी व्यवस्था संयुक्त राज्य अमेरिकाको एक्सपोर्ट एडमिनिस्टे«शन रेगुलेशन (ईएआर) को धारा ३४४.१३ (बी)मा रहेको छ ।

बंगलादेशले विदेशमा सीधै निर्यात नगर्ने तर विदेशी मुद्रा प्राप्त गर्ने ब्याक टु ब्याक प्रतीतपत्रका आधारमा निर्यात उद्योगलाई आपूर्ति गर्ने सहायक आपूर्तिकर्ताको आपूर्तिलाई मानित निर्यात मानेको छ ।

मानित निर्यातमा भारतको परिभाषा अझ बृहत् र विशिष्टीकृत रहेको छ । विशेष गरी जीएसटी गणनामा यसको प्रयोग अधिक हुने हुँदा मानित निर्यातको परिभाषा यसरी बृहत् र विशिष्टीकृत हुन पुगेको हो । आपूर्ति गरिएका वस्तु सीमा पार नगर्ने र भुक्तानी भारतीय वा परिवर्तित विदेशी मुद्रामा हुने वस्तुहरूको कारोबारलाई मानित निर्यात मानिएको छ, जो निर्यातझैं जीएसटी छूट सुविधाको दायराभित्र पर्ने गर्छन् । यस्ता आपूर्तिकर्तामा उत्पादक, प्रधान र सहायक कन्ट्र्याक्टरलाई दायराभित्र राखिएको छ । यस्ता मानित निर्यातलाई चारओटा भागमा वर्गीकृत गरिएको छ । यी चारओटा वर्गमा एडभान्स अथोराइजेशन (निर्यातसँग जोडिएका आयातहरू) का आधारमा आपूर्ति हुने वस्तुहरू, पूँजी निर्माणका वस्तुहरूको आपूर्ति, एक्सपोर्ट ओरिएन्टेड युनिटका आपूर्तिहरू तथा बहुपक्षीय, द्विपक्षीय एजेन्सीबाट वित्त व्यवस्थापन गरिएका आयोजनाका आपूर्तिहरू, आणविक शक्ति परियोजना पर्छन् ।

यस्ता मानित निर्यातले सामान्य निर्यातझैं एडभान्स अथोराइजेशन, पूँजी निर्माणका वस्तुहरूको आपूर्तिका प्रावधानअन्तर्गत प्राप्त सुविधा, मानित निर्यात ड्युटी ड्रब्याक, जीएसटी सुविधामा छूट, अन्तःशुल्क फिर्ताजस्ता सुविधा पनि भारत सरकारले उपलब्ध गराएको छ । सारमा भन्नुपर्दा आयातमा छूट सुविधा प्राप्त गर्ने वर्गमा निर्यात उद्योगका कच्चापदार्थ, मेशिनरी, निर्यात गर्ने उद्योगमा वस्तुहरू तथा विदेशी सहयोग र ठेक्कावाला आयोजनाको आपूर्ति स्वदेशभित्रैबाट भए तापनि यस्तो कारोबारलाई मानित निर्यात मान्ने गरिएको छ ।

स्पष्ट रूपमा परिभाषित नगरिए तापनि विशेष आर्थिक क्षेत्र ऐन २०७३ को परिच्छेद ८ का प्रावधानहरूलाई हेर्दा नेपालमा पनि सेजमा गरिने सामान आपूर्तिलाई मानित निर्यातको दर्जा प्राप्त भएको मान्न सकिन्छ ।

ती प्रावधानअनुसार नेपालमा विशेष आर्थिक क्षेत्रका उद्योगलाई कच्चापदार्थ, सहायक कच्चापदार्थ वा प्याकेजिङ सामग्री आयात गरी आपूर्ति गरेमा त्यस्ता आयातमा लागेको भन्सार महसुल फिर्ता हुने व्यवस्था छ । यस्तै सेजमा स्थापित उद्योगलाई सामान आपूर्ति गर्ने स्वदेशी आपूर्तिकर्तालाई पनि करमा विशेष छूटको व्यवस्था गरिएको छ ।

नेपालको निर्यातक्षेत्रका प्रधान समस्याहरूमा प्रतिस्पर्धी क्षमतामा कमी हुनु पनि एक हो । यसै त भूपरिवेष्टित मुलुक भएको र इकोनोमी अफ स्केलको पक्ष कमजोर रहेको सन्दर्भमा इनपुटमा दिइने छूट र सुविधाको नेपाली निर्यातयोग्य क्षेत्रका लागि अझ महत्त्व राख्छ । यसरी निर्यात गरिने वस्तुको प्रतिस्पर्धी क्षमता अभिवृद्धि गर्ने एउटा उपाय भनेको मानित निर्यातको अवधारणालाई नेपालमा पनि लागू गर्नु हो । तसर्थ नेपालले यस्ता प्रावधान विशेष आर्थिक क्षेत्रमा स्थापित उद्योगहरूमा मात्र सीमित गर्नु हुँदैन । परन्तु यी प्रावधान अन्य निर्यातयोग्य उद्योगहरूमा पनि लागू गर्नुपर्छ ।

मानित निर्यातलाई नेपालको निर्यातयोग्य क्षमता अभिवृद्धिको औजारका रूपमा उपयोग गर्दा नेपाली निर्यातकर्तालाई देहायबमोजिम फाइदा हुने देखिन्छ ।सर्वप्रथम नेपाली निर्यातयोग्य उद्योगका लागि आवश्यक भौतिक आपूर्ति स्वदेशबाटै गर्न प्रोत्साहन मिल्नेछ । निर्यात गर्ने उद्योगलाई गरिने आपूर्तिलाई निर्यातसरह सुविधा प्राप्त हुँदा निर्यातमा लागत न्यून हुन गई नेपाली उत्पादन विदेशी बजारमा थप प्रतिस्पर्धी हुने देखिन्छ ।

यस्तै बहुपक्षीय र द्विपक्षीय सहयोगमा सञ्चालित आयोजनाहरूमा गरिने मालसामान आपूर्तिलाई पनि निर्यातसरह मान्यता दिँदा नेपाली आपूर्तिकर्ता करलगायत अनावश्यक बोझबाट मुक्त भई उनीहरूको आपूर्ति क्षमता पनि बढ्ने देखिन्छ । शाखमा मानित निर्यातले निर्यात उद्योगमा स्वदेशी इनपुटमा वृद्धि हुने र देशभित्र कच्चापदार्थ, मेशिनरी तथा प्रविधिजस्ता इनपुटमा आफ्नै आपूर्ति सञ्जालको बलियो संरचना खडा हुने निश्चित छ ।

यसका लागि मानित निर्यातलाई नेपालको निर्यातयोग्य क्षेत्रको क्षमता वृद्धि गर्ने एउटा उपायका रूपमा उपयोग गर्ने गरी आवश्यक नीतिगत, कानूनी र प्रशासनिक व्यवस्थाहरू गर्न आवश्यक छ । नीतिगत, कानूनी र प्रशासनिक व्यवस्थाहरू गर्न भारत सरकारले यस सम्बन्धमा लागू गरेका नीतिगत, कानूनी र प्रशासनिक व्यवस्थाहरू नेपालमा पनि अनुसरण गर्दा उपयुक्त हुन्छ ।

वाणिज्य नीति, नेपाल एकीकृत व्यापार रणनीतिमा मानित निर्यातलाई पनि विशेष स्थान दिइनु जरुरी छ । नीतिगत व्यवस्थाहरू पश्चात् मानित निर्यातलाई निर्यातसरह सुविधा र छूटहरू प्रदान गर्न करसम्बन्धी प्रावधानहरूमा पनि संशोधन हुन जरुरी छ । यसका लागि भारतले मानित निर्यातमा जसरी करसम्बन्धी छूटहरूको व्यवस्था गरेको छ, नेपालले पनि सोहीअनुसार मानित निर्यातमा छूटका व्यवस्थाहरू गर्न उपयुक्त देखिन्छ ।

सारमा भन्नुपर्दा नेपालको निर्यात क्षेत्रको सबलीकरणमा वर्तमान समयमा व्याप्त खण्डित पहुँचको स्थानमा एकीकृत पहुँचको अवधारणा लागू गर्दा मानित निर्यातलाई एक अभिन्न अंगका रूपमा सरकारका संयन्त्रमा आन्तरिकीकरण गर्नु जरुरी छ ।

यसका लागि तत्काल मानित निर्यातको क्षेत्र, नीतिगत, कानूनी, प्रक्रियागत र प्रशासनिक व्यवस्थाहरूका बारेमा नेपाल सरकारले पनि अध्ययन गरी नेपाल सुहाउँदो व्यावहारिक मोडलको विकास गर्नु आवश्यक रहेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, आन्तरिक राजस्व विभाग, भन्सार विभाग, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र तथा निजीक्षेत्रका प्रतिनिधिमूलक संघसंस्थाका प्रतिनिधिहरू र मानित निर्यातका क्षेत्रका विज्ञहरूको संयुक्त सहभागितामा मानित निर्यातका सम्बन्धमा एउटा ठोस कार्य हुन अत्यन्त आवश्यक देखिन्छ ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत बजगार्इंका यी विचार निजी हुन् ।

  • ९ असार २०७९, बिहीबार प्रकाशित

  • Nabintech