१३ बैशाख २०८१, बिहीबार

युवा बेरोजगारीको अन्त्य गर्ने बाटो
  • न्युज मानसराेवर

युवा देशका कर्णधार हुन्, निर्माता हुन् र सुधारक हुन् । सबै महान् र नवीन सृजना युवाबाटै आउँछन् । नयाँ, समृद्ध र सुखी विश्व उनीहरूले निर्माण गर्ने हो । नेपाललाई विकसित र सभ्य देशको दर्जामा उकास्न थुप्रै नवीन प्रयासको जरुरी छ । यसका लागि युवाको अन्तर्निहित क्षमताको हाम्रै विशिष्ट मौलिक धरातलमा विकास र उपयोगका लागि समुचित वातावरणको सृजना गरिनु आवश्यक छ ।

युवा जनसंख्या ४० प्रतिशत छ र यो जनसांख्यिकीय लाभको अवस्था पनि हो । तर, श्रमशक्ति सर्वेक्षण, २०१८ ले ९ लाख युवा बेरोजगार रहेको देखाएको थियो । कोभिड–१९ को महामारीले यो संख्या बढेको अनुमान गर्न सकिन्छ । यसले ‘खाली दिमाग, सैतानको बास’ भन्ने उखानलाई स्मरण गराएको छ । युवालाई योग्य बनाउने र योग्यताअनुसारको काम वा रोजगारीको सुनिश्चितता प्रदान गर्नु युवा आफै, घरपरिवार, समाज, राज्य र सरकार सबैको दायित्व हो । देशको विकास युवाको प्रभावकारी परिचालनविना असम्भवप्रायः छ । उनीहरूलाई समाज, अर्थतन्त्र, राजनीति र सरकारका सबै क्षेत्रमा निर्णायक भूमिका निर्वाह गर्न सक्ने ज्ञान, शीप र सकारात्मक प्रवृत्तिले भरिपूर्ण गर्दै ती क्षेत्रमा उच्च आदर्श स्थापित गर्न र नतीजा दिन सक्ने गरी परिचालन गरिनुपर्छ ।

पहिलो, युवालाई रोजगारीमा परिचालनका लागि पहिलो काम शिक्षाप्रणालीमा सुधार ल्याउनु हो । हाम्रो शिक्षाले आफ्नो मौलिक स्वरूप गुमाउँदै गएको छ । निजीकृत शिक्षा सेवामूलक र ज्ञानमूलकभन्दा नाफामूलक बनेको छ । जीवनका आधाररूपी ससाना तर महत्त्वपूर्ण संस्कारहरू लोप हुँदै जान लागेको अवस्था छ । शीपमूलक र मूल्ययुक्त शिक्षा छायाँमा परेको छ ।

युवालाई आवश्यक पर्ने परामर्श सेवासहितको रोजगार सेवाको कमी छ । कामको सम्मान गर्ने संस्कारको कमी छ । विदेशी मिडियाले हाम्रो संस्कृतिको जग हल्लाएको छ र नयाँ संस्कृतिको निर्माण गरिरहेको छ । विद्यार्थीहरूमा कसरी सबैको मेहनत र पौरखबाट हाम्रो भान्छामा खानेकुरा प्राप्त हुन्छ भन्ने चेतना र ती मेहनती हातप्रति अहोभावको कमी छ । सामाजिक रूपमा युवामा ससाना काम देशभित्रै गर्नेभन्दा जोखिमपूर्ण भए तापनि विदेशी कामप्रतिको आकर्षण छ । स्नातकोत्तरको शैक्षिक स्तर प्राप्त गरिसकेका समेत अधिकांश युवामा शीप, साहस र आत्मविश्वासको कमी देखिन्छ । जबकी यी विषय उच्च माध्यमिक तहमा नै प्राप्त हुनुपर्ने हो । परिवर्तित बजार वा अन्य कारणले गर्दा अन्तरपुस्ता शीप हस्तान्तरणप्रति पनि युवा उदासीन देखिन्छन् । गाँउ रित्याउँदै शीपविहीन नेपाली युवाको ठूलो लर्को दैनिक वैदेशिक रोजगारीमा जाने गरेको छ । यी सबै पक्षमा सकारात्मक सुधारका लागि शिक्षा प्रणालीमा आमूल परिवर्तनको जरुरी छ ।

दोस्रो, युवालाई काममा लगाउन रोजगारदातासँग समन्वय गरी कार्यस्थलमा आधारित तालीममा व्यापकता ल्याउनु जरुरी छ । औपचारिक शिक्षाले ज्ञान दिन्छ । तर, काम पाउन शीपसहितको ज्ञान चाहिन्छ । कोरा सैद्धान्तिक ज्ञानको माग श्रम बजारमा कमै हुन्छ । त्यसैले नेपालमा रोजगारदाताले माग गरेबमोजिमको जनशक्ति कतिपय क्षेत्रमा आपूर्ति हुन सकेको छैन । यस्तो कमीको फाइदा दशौं लाखको संख्यामा विदेशी कामदारले लिइरहेको देखिन्छ । नेपाली युवा उच्च शिक्षा प्राप्त गरेर पनि विदेशिएका छन् ।

तथ्याङ्कले पछिल्लो १० वर्षयता १८ देखि २४ वर्ष समूहका २ लाख युवाले उच्च शिक्षा प्राप्त गर्न देश छोडेको देखाउँछ । यसले नेपालबाट शिक्षाकै लागि अर्बौं रुपैयाँ र बहुमूल्य जनशक्ति वर्षेनि बाहिरिएको देखाउँछ । नेपाली श्रमबजारको बेमेललाई मिलाउन उद्योग–प्रतिष्ठानहरूमा केही अवधिको कार्यस्थलमै आधारित तालीमको व्यवस्था गरिनुपर्छ । उक्त अवधिको पारिश्रमिकको केही अंशमा सरकारले पनि लागत साझेदारी गर्नु आवश्यक छ । यसरी प्राप्त गरिने तालीमले जनशक्तिलाई व्यावसायिक शीपयुक्त बनाउँछ र बजारमा रोजगारी वा स्वरोजगारीका अवसरहरूमा पहुँचयोग्य बनाउँछ । यसले ज्याला दर बढाउन पनि मद्दत गर्छ । देशका युवाको यस प्रकारको परिचालनले नै देशको वास्तविक विकासको ढोका खोल्ने स्पष्ट छ । कार्यस्थलमै आधारित तालीमको सम्बन्धमा उद्योग र श्रम मन्त्रालयबाट केही पहल भएको भए तापनि नतीजा ननिस्केको अवस्था छ ।

तेस्रो, युवालाई रोजगारीमा आकर्षण गर्न प्रधानमन्त्री रोजगार कार्यक्रममा सुधार गरिनु अत्यावश्यक छ । यो कार्यक्रम देशव्यापी सञ्चालित छ । सूचीकृत बेरोजगारलाई न्यूनतम रोजगारी प्रदान गरी सामाजिक संरक्षणको दायरा विस्तार गर्नु यसको प्रमुख लक्ष्य भए तापनि यसमार्फत देशभरका युवालाई विभिन्न प्रकारको रोजगार सेवा प्रदान गर्न सकिने देखिन्छ । स्थानीय तह, निजीक्षेत्र, तालीम केन्द्र र शैक्षिक संस्थाहरूसँग सहकार्य गरी युवालाई तालीम, आन्तरिक रोजगारीको खोजी र सुरक्षित वैदेशिक रोजगारीको सहयोगका लागि समेत प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ७५३ ओटै स्तानीय तहमा स्थापित रोजगार सेवा केन्द्रले युवालाई लाभान्वित गर्न सक्छन् । साधनस्रोतले युक्त बनाउन सकेमा युवा बेरोजगारीको समस्या समाधानमा यी रोजागार सेवा केन्द्रको भूमिका उल्लेखनीय हुन सक्ने देखिन्छ ।

चौथो, युवाको उद्यमशीलता विकास र कर्जामा सुविधा प्रदान गर्नु जरुरी छ । यसले युवाको जागीरे मानसिकता तोडेर स्वरोजगार बन्ने र अरूलाई जागीर दिने कार्यमा महत्त्वपूर्ण भूमिका खेल्ने देखिन्छ । युवा उमेरमै उद्यमशील बनाउन सकेमा आजीवन आय आर्जनको सुनिश्चितता गर्न सकिनेछ । यसबाट आन्तरिक उत्पादन बढाउन, रोजगारी सृजना गर्न र बढ्दो आयात घटाउन सकिने छ । त्यसैले उद्यमशीलताका नवीनतम प्रयासलाई सरकारले सहुलियतपूर्ण कर्जा र अन्य सुविधा प्रदान गर्नुपर्छ । विदेशमा पनि यस्तो कार्य हुने गरेको छ । तर, युवाले खाली सरकारी सुविधा हुत्याउने खराब अभिप्रायले उद्यमशीलताको खोल ओढ्ने कार्य गर्नु हुँदैन । यस्तो कार्यको नकारात्मक सामाजिक र आर्थिक प्रभाव रहने भएकाले सरकारले पनि निरुत्साहनको डन्डा चलाउनुपर्छ ।

पाँचौं, युवालाई रोजगारीका लागि आन्तरिक उत्पादन, उपभोग र बजारको व्यवस्थामा जोड नदिई हुँदैन । जति आयात हुन्छ सोही दरमा देशको रोजगारी बाहिरिन्छ । देशभित्र जति उत्पादन हुन्छ, सोहीबमोजिम नै युवालाई रोजगारीका नवीन अवसरहरू सृजना हुन थाल्छन् । त्यसैले उत्पादन भनेको रोजगारी पनि हो भन्ने तथ्यलाई राम्ररी बुझ्नु आवश्यक छ । तर, स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न स्वदेशी वस्तुलाई माया गर्ने र उपभोग गर्ने संस्कृतिको पनि उत्तिकै जरुरी छ । युवा विदेशी वस्तुको फेशनमा फसेर देशमा उपलब्ध हुन सक्ने रोजगारीबाट विमुख हुनु हुँदैन । उनीहरूले यस्तो यथार्थको ज्ञान सबैलाई बाँड्नुपर्छ ।

गत आर्थिक वर्षमा नेपालीले करीब रू. ४ अर्बको विदेशी रक्सी पिएको सरकारी तथ्याङ्क छ । यस्तो उपभोग आवश्यक थिएन होला । उक्त रकम युवालाई उत्पादनशील काममा लगाउन सकिन्थ्यो वा स्वदेशी रक्सी नै खाएको भएमा स्वेदेशी रक्सी उद्योगमा रोजगारी सृजना हुन्थ्यो । देशको गार्हस्थ्य उत्पादन बढ्ने थियो र हामी धनी हुन्थ्यौं । यस्तो कामका लागि यसै आर्थिक वर्षदेखि शुरू हुनेगरी उद्योग मन्त्रालयअन्तर्गत ‘प्रधानमन्त्री नेपाली उत्पादन एवं उपभोग अभिवृद्धि कार्यक्रम’ को घोषणा बजेटमार्फत गरिएको छ । यसको प्रभावकारी कार्यान्वयन हुन सकेमा धेरै नेपाली युवाको देशभित्रै रोजगारी सपना साकार हुने र देश उन्नत बन्ने देखिन्छ । यसबाट वैदेशिक रोजगारीको सामाजिक लागत पनि घट्नेछ ।

रोजगारमूलक आर्थिक वृद्धिमा लगानी बढाउनु युवा परिचालनको दिशामा ठोस कार्य हुनेछ । हामीलाई रोजगारसहितको आर्थिक वृद्धिको आवश्यकता छ । कोरा र पूँजीलाई मात्र लाभ दिने आर्थिक वृद्धिले नेपाली युवाको समस्या समाधान गर्न सक्दैन । लगानीको प्राथमिकीकरण गर्दा रोजगारी सृजनालाई प्रमुख निर्धारक तत्त्वका रूपमा लिनुपर्छ । योजना आयोगले परियोजना चयनमा यसलाई महत्त्व दिएको देखिन्छ । प्रत्यक्ष वैदेशिक लगानीका क्षेत्रमा पनि यसलाई उपयोग गरिनुपर्छ । यसबाट नै देशको भविष्य–निर्माताका रूपमा रहेका युवाले लाभ पाउने छन् । कति नेपाली युवाले विदेशमा देशलाई उपयोगी हुने ज्ञान, शीप र उद्यमशीलता प्राप्त गरेका छन् । उनीहरूलाई देशमा आकर्षण गर्ने व्यावहारिक नीतिको आवश्यकता छ । यसकै लागि बेरन गेन सेन्टरको स्थापना गरी लगानी गरिएको छ । वास्तवमा युवालाई रोजगारी सुनिश्चित गर्ने लगानी नै वास्तविक र सबैभन्दा धेरै उत्पादनशील लगानी हो । नवीनतम रोजगारीका क्षेत्र पहिचान गर्न निरन्तर अध्ययन अनुसन्धानको आवश्यकता छ । राष्ट्रिय योजना आयोगमा कार्यरत डा. भुसालका यी निजी विचार हुन् ।

  • ३० श्रावण २०७९, सोमबार प्रकाशित

  • Nabintech