२०७२ को लोकतान्त्रिक गणतन्त्रको संविधान लागू भएपछि मुलुकमा दोस्रो संघीय र प्रादेशिक आम निर्वाचन हुन गैरहेको छ । यो निर्वाचन हुन अब थोरै दिनमात्र बाँकी छ । पहिलोपल्ट सम्पन्न संघीय र स्थानीय दुवै निर्वाचन मुलुकमा राजनीतिक स्थिरता र समृद्धिका लागि भएका हुन् । तर, देशी विदेशी चलखेलका कारण मुलुकमा न राजनीतिक स्थिरता कायम हुन सक्यो न त अपेक्षित समृद्धि नै । झण्डै दुईतिहाइ बहुमतको कम्युनिष्ट सरकारलाई अप्राकृतिक ढंगबाट अपदस्थ गरियो । जसले गर्दा राजनीति फेरि अस्थिर भयो ।
अहिले फेरि त्यही राजनीतिक स्थिरता र समृद्धिका लागि भनेर निर्वाचन हुँदैछ । विडम्बना छ, स्थिरता र समृद्धिमाथि दह्रो ‘ब्रेक’ हान्नेहरु पनि स्थिरता र समृद्धिकै लागि भनेर चुनाव लडिरहेका छन् । कांग्रेसलगायतका पाँच दलको सिद्धान्तहीन गठबन्धन गरेर तिनीहरुले अदालती फरमानमार्फत केपी ओलीको कम्युनिष्ट सरकारलाई ढालेका थिए । ढालेपछि ढल्यो भनेर बुझे हुन्थ्यो, त्यस्तो बुझेनन् । फेरि त्यसलाई ढाल्न गठबन्धनलाई बरकरार राखे ।
गठबन्धनका पाँच दल जो सरकारमा छन्, तिनीहरुले आफूले ढालेको भनेको एमालेसित एक्लाएक्लै लड्न सकेनन् । कांग्रेसलगायतका पाँच-पाँच दलको बल बाँधेर एमालेसित बहादुरीपूर्वक चुनाव लडिरहेछन् । यत्तिकै स्पष्ट छ- चुनाव एमालेले जित्छ । प्राविधिक रुपमा एमाले सरकारबाट ढले पनि जनमतबाट ढलेको छैन । फेरि चुनाव जित्छ र फेरि एमालेको स्थिर सरकार बन्छ । कुनै नियोजित तथा कुनै त्यस्तो अप्राकृतिक दुर्घटनाबाहेक एमालेको जीतलाई कसैले लल्कार्न सक्दैन । गठबन्धनको एकमात्र मुख्य उद्देश्य छ- जसरी पनि एमालेलाई हराऊ । एमालेलाई हराउन सके उद्देश्य पूरा हुन्छ ।
हो, चुनाव लडेपछि जीतको कल्पना जो कोही गर्छ, गठबन्धन पनि सो कल्पना गर्नसक्छ । कथंकदाचित झिनोमसिनो जीत भैहाले पनि गठबन्धनको जीतपछि एक्लाएक्लैको जीत हो । त्यसले कुनै गन्तव्य लिन सक्दैन । गठबन्धनको प्रकृतिलाई हेर्दा गन्तव्य लिनसक्ने स्थिति नै छैन । तसर्थ जनताले यस्तो जतिखेर पनि भताभुङ्ग हुनसक्ने भविष्यहीन बन्धनलाई विश्वास गर्ने कुरै आउँदैन । चुनावमा भोट माग्न रौतहट गएर गठबन्धनले भन्यो- हामीलाई भोट दिनुस्, तपाईंलाई विदेश जान फ्री भिसा, फ्री टिकट दिन्छौं । कुरा स्पष्ट छ- यिनीहरुलाई स्वावलम्बनसित पूरा विमोह छ ।
मुलुकका तन्नेरीहरुलाई विदेश पठाउने र तिनले पठाएको रेमिट्यान्स खाएर शासन गर्ने तिनको निहित स्वार्थ छ । आफ्ना युवालाई मुलुकमै राखेर तिनको श्रम र सीपबाट मुलुक बनाउने कुनै योजना छैन । स्वावलम्बनसित विमोह छ । परावलम्बनसित मोह छ । थुक्क नियति ! के के छन् के के चर्तिकला गठबन्धनका ।
एमसीसी पास गर्ने कुरामा यिनीहरु दुईथरि भए । एकथरिले जस्ताको तस्तै पास गरौं भन्यो । अर्काथरिले जस्ताको तस्तै पास गर्न सकिँदैन भन्यो । अर्काथरि क्रान्तिकारीले कहाँ हुन्छ ? साम्राज्यवादसित झुक्नै हुन्न भनेर ढुंगामुढा गरे, रेलिङ भाँचे । तर, आखिरीमा अर्थ न बर्थको व्याख्या थपेर लुत्रुक्क पास गरे । के खानु बाँगा मुख भने झैं खाना सोझै मुखले खाएको भए पनि हुन्थ्यो, बाँगै मुख खाए । उही तातो पानी नपाएपछि चिसै पानीले नुहाउने भने जस्तो ।
गठबन्धनलाई सरकारमा स्थापित गर्न मद्दत गर्ने देशी विदेशी शक्तिका लागि कम्फर्टेबल सरकार हो यो । यो कुरा गठबन्धनलाई कसैले लगाएको मिथ्या आरोप होइन, यसका मुख्य नेताकै भर्सन हो । भनेपछि यसलाई आफ्ना देशी विदेशी मद्दतगारहरुको मनोरथ पूरा गर्न जे पनि गर्नुपर्ने हुनसक्छ । कहिले करका दरहरु हेरफेर गरेर खुशी पार्नुपर्ने हुनसक्छ । कहिले सिंगै हाइड्रोपावर दिएर पनि खुशी पार्नुपर्ने हुनसक्छ । पश्चिम सेती हाइड्रोपावर जस्तै । उनीहरु यहाँ कुनै उद्योग, कलकारखाना खोलिदिनेवाला त छैनन्, बाँकी रहेका कलकारखाना बन्द गरेर निष्कन्टक बजार उपलब्ध गराउन पर्ने नै हो । यही सब गरिरहेका छन् यिनीहरु । कतिपय यस्ता कामलाई यिनले निरन्तरता दिएका छन् । आफ्नो डेढ वर्षे कार्यकालमा कतिपय नयाँ कोसेलीहरु पनि दिएका छन् । यही सब काम तमाम गर्न गठबन्धनलाई चुनावमा जीतको आवश्यकता छ, नेपाल र नेपालीको समृद्धिका लागि कदापि आवश्यक छैन ।
एमालेको लोकप्रियतालाई कम गर्न सकिन्छ कि भनेर यिनले जे पनि गरेका छन् । यस सिलसिलामा स्वास्थ्य जस्तो संवेदनशील कुरामा पनि प्रहार गर्न यिनीहरु हिच्किचाएनन् । दूरदराजमा स्वास्थ्यलाई सुलभ गराउन एमालेले देशैभरि एकैचोटि एक पालिका एक अस्पतालको योजना बनाएर ३५० अस्पताल निर्माणको अभियान सुरु गर्यो । पूर्वाधारको बजेटसहित शिलान्यास पनि गरेको थियो । तर, दुर्भाग्य गठबन्धन सरकारले आफूले बजेट बनाउँदा निर्ममतापूर्वक अस्पतालको बजेट काटिदियो । अस्पतालहरु एमालेका मात्र थिएनन्, सम्पूर्ण नेपाली जनताका थिए । एमालेसितको रिस पोख्न यसले जनताको स्वास्थ्यमाथि खुलमखुला खेलाँची गर्यो । कसका रिसले कसको काखमा ‘सु’ गर्ने भनेको यही त हो । यो चाहिं उसले गरेको सबभन्दा ठूलो पाप हो ।
नयाँ बनाउनु त छँदैछैन । बनेका र बनिरहेका कतिपय यी यस्ता विकास र समृद्धिका काम भत्काउँदा पनि गठबन्धन आफूलाई अग्रगामी भन्छ । विकास र समृद्धिको अभियन्ता एमालेलाई प्रतिगामी भन्न कत्ति लाज मान्दैन । प्रायोजित सत्ताको शक्तिमा धनमत्त, बलमत्त, बैंसमत्त गठबन्धन मदमत्ताका कारण भष्मासूर बनेको छ । मदमत्तताकै कारण जनबलबाट उसको बालुवाको घर जतिखेर पनि भत्कनसक्छ भन्ने कुरा उसलाई बोध हुन सकिरहेको छैन । लोकतान्त्रिक गणतन्त्रपछिको यो दोस्रो निर्वाचन पहिलो निर्वाचनभन्दा अलि फरक छ ।
पहिलो निर्वाचन गणतन्त्रको संविधानलाई कार्यान्वयन गर्ने मूल उद्देश्यसित सम्बन्धित थियो भने यो निर्वाचन देश, जनता र राष्ट्रले जित्ने कि परचक्रीलाई ‘कम्फर्ट’ हुने गरी जित्ने विषयसित सम्बद्ध छ । अर्थात स्वावलम्बनले जित्ने कि परावलम्बनले जित्ने भन्ने कुरासित सम्बद्ध छ । यस अर्थमा यस निर्वाचनलाई महानिर्वाचन भन्न पनि सकिन्छ । महामत संग्राम पनि भन्न सकिन्छ । गठबन्धनले सुकुम्बासीको लालपुर्जामाथि निकै ठूलो खेतीपाती गरेको छ । अहिले चुनावको मुखमा आएर भनिरहेछ- एमालेले तपाईंहरुलाई लालपुर्जा दिन्छु भन्थ्यो खै दिएको ? उसले कहाँ दिन्छ दिँदैन, हामीलाई भोट दिनुस् हामी तपाईंलाई लालपुर्जा दिन्छौं ।
एमालेको केपी ओली सरकारले अत्यन्तै मेहनत गरेर मुलुकभरिका सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या सदाका लागि समाधान हुने गरी ठोस योजना बनाएर योजनाअनुसार नियम-कानून तर्जुमा गरी तदनुसार अन द स्पट सर्वेक्षण गरी लालपुर्जा निर्माण गरिसकेको थियो । वितरण गर्नमात्र बाँकी थियो । वितरण भैदियो भने लामो समयदेखि थाती रहेको सुकुम्बासी समस्या समाधानको श्रेय एमालेलाई जाने भयो, तब त हामी चित पर्छौ भनेर गठबन्धनको प्रतिगामी सरकारले सुकुम्बासी समस्या समाधान आयोग नै भंग गरिदियो । तीन वर्षदेखिका समाधानका सम्पूर्ण प्रयास चकनाचुर भए । तर पनि लाजै नमानी गठबन्धन भनिरहेछ- तपाईंलाई लालपुर्जा एमालेले दिँदैन, हामी दिन्छौं । जसले हातमा पर्न लागेको लालपुर्जा खोस्छ त्यसले लालपुर्जा दिन्छ भनेर विश्वास गर्ने ठाउँ सुकुम्बासीहरुलाई छैन ।
उनीहरुका दुइटा आँखाले एमालेले सुकुम्बासीहरुका लागि र अव्यवस्थित बसोबासीहरुका लागि बकाइदा नियम बनाइ छानबिन गरी प्रमाणहरु जुटाई जग्गा दर्ताको सम्पूर्ण प्रक्रिया पूरा गरी लालपुर्जा निर्माण गरेको देखेका छन् । त्यसो भएर उनीहरु तिनका झूटा आश्वासनमा झुक्किनेवाला छैनन् । एमालेले आफूले लगाएर तयार गरेको खेती समयमा आफैंले स्याहार्छ । एमालेले आफू सरकारमा छँदा मुलुकको सम्मृद्धिका लागि कोरेको खाका, त्यसका लागि हालेको जग र चुच्चे नक्सा उसलाई चुनाव जित्न यथेष्ट छन् । त्यसमा आफ्नो बलियो पार्टी संगठन छँदैछ । यी पंक्तिहरु लेखिरहँदा माथि जुन इण्डिकेटरहरुको उल्लेख गरिएको छ, तिनको अन्तर्य पनि एमाले आऊ भन्ने हो । देश संकटमा छ, संकट मोचन एमालेबाट सम्भव छ भन्ने हो । प्रस्ट शब्दमा ती इण्डिकेटरहरुको भाव हो- एमाले आऊ देश बचाऊ ।
(लेखक ज्ञवाली रुपन्देहीका प्रेस स्वतन्त्रता सेनानी हुन् ।)