२२ माघ २०७९, आईतवार

दलित सौन्दर्यशास्त्र
  • न्युज मानसराेवर

दलित को हुन् र दलित किन भनियो ? आजको विषयारम्भ यसैबाट गरौँ । दलित भन्नुपर्ने र दलित किन भनिरहनेबीच आममान्छेमा पनि समान धारणा छैन । दलित शब्दलाई लिएर समस्या उत्पन्न भएको छ । स्वयं दलितमा यो शब्द प्रयोग गर्ने र यसको अर्थ निर्धारण गर्ने सवालमा एकरूपता छैन । दलनमा परेकाहरूलाई सम्बोधन गर्ने बृहत् अर्थ बोकेको शब्द दलित दलनविरुद्धको आवाज हो ।

को हुन् दलित ?

दलित शब्दले दबाइएको, उत्पीडनमा पारिएको, बहिष्करणमा राखिएको, कुल्चिएको वा हेपिएको अर्थ दिन्छ । दलित त्यो हो; जसको दलन गरिएको हुन्छ । दलन गरिएका जति दलित हुन् । त्यसो भए किन जात व्यवस्थाको उच्च भनिएका जातका मान्छे दलित भएनन् ?

दलनमा पर्नेको कुनै निश्चित जात, धर्म र भूगोल हुँदैन । त्यसैले दमन, शोषण र हेपिएका मान्छे सबै दलित किन नहुने ? दलित शब्द आफैँमा विभेदी छ । प्रश्न यसरी उठेका छन् । त्यसो भए दलित को हो ? राजनीतिज्ञ आहुति भन्छन्, “दलित भन्नु आफू तल भएको स्वीकार गर्नु होइन बरु आफूलाई अत्याचार गरिएको छ भन्नु हो । शासकले दलित हेपेर दिएको नाम होइन, हामी दलिएका र पेलिएका मान्छे हौँ । हामीलाई किनारामा धकेलिएको छ, त्यसैले हामी अन्यायमा परेका मान्छे हौँ भन्नु अपमानको विषय र हीनताबोधको कुरा होइन ।”

भारतको दलित आन्दोलनका योद्धा बाबा एम्बेडकरद्वारा स्थापित नामलाई नेपालमा पनि २०२४ सालबाट औपचारिक रूपमा प्रयोग गरिएको हो । नेपालको संविधान, २०७२ को धारा ४० मा दलित अधिकारको प्रावधान छ । दलित एउटा मानवतावादी आन्दोलनको साझा, छाता नाम हो । हजारौँ वर्षअघिदेखि सहेको पीडा बोल्ने, दलन झेलेका मान्छे हौँ भन्न दलित समुदायले धकाउनुपर्ने स्थिति छैन ? विश्वको सर्वहारा वर्गभन्दा पनि तल नेपालमा करिब १४ प्रतिशत जनसङ्ख्या छ, त्यसैले दलित सम्बोधन अमर्यादा र अपमानको विषय नभएर आन्दोलन र नयाँ पहिचानको विषय बनेको छ ।

शासक वर्गले हेपेर दिएको नाम कुजात, पाउनी, पानी अचल र अछुत हो । सबैभन्दा पेलिएको समुदाय कथित अछुत हो; तसर्थ त्यो समुदायलाई समष्टिमा चिनाउने शब्द दलित हो, त्यसैले अरू जातका दमन र उत्पीडनमा परेका मान्छे दलित होइनन् । हिन्दु वर्णवादी जात व्यवस्थाले शुद्र भनेर पिँधमा छोडेको हेला गरेको, मान्छे हुने हकबाट वञ्चित गरेको वर्ग र समुदाय हो । मानव–मानवबीच भिन्नता र वञ्चितीकरण गरेर पाखामा छोडिएको, सबै अवसरबाट अलग्गै राखिएको केवल सेवक ठानिएको समुदाय दलितको छाताभित्र अटाउने समुदाय बनेको छ । विभेदको अत्यन्तै अमानवीय पराकाष्ठा भोगेको वर्ग दलित हो । दलित व्यवस्था होइन, न हो जात; यो केवल अवस्था हो । सबभन्दा पुछारमा इतिहासविहीन, पहिचानविहीन र मर्यादाविहीन अवस्थामा रहेर पटक पटक मरेर बाँचेको समुदाय हो ।

जात, थर के हो ? 

थर पारिवारिक वंशीय परिचयको लहरो हो । अहिले जनावरको समेत वंशीय अभिलेख राखिन्छ र एकै वंशको प्रजनन गराउँदा हाडनाताभित्र पर्छ । हाडनाताको सन्तानोत्पादन वैज्ञानिक मानिन्न । फलस्वरूप पशुमा समेत हाडनाता वर्जित मानिन्छ, त्यसैले मान्छेको थर चिनारीको शृङ्खलाबद्ध आयोजना हो । आआफ्नो स्वतन्त्र अस्तित्व र पहिचानको निर्मिति थर हो । यो विभेदक अभिलक्षणका लागि नभएर चिनारी हो । थर, गोत्र र वंशभन्दा मान्छेको सोच, नियत, कुसंस्कार र व्यवहार समाजमा असमानता छ । विभेदका विरुद्ध मनोवैज्ञानिक उपचारको खाँचो छ । थर, वंश र गोत्रको लहरो चुँडाएर, थर फेरेर, विभेद अन्त्य गर्न सकिन्न ।

दलित सौन्दर्यशास्त्र 

सुन्दरताको अध्ययन गर्ने शास्त्र सौन्दर्यशास्त्र हो । सौन्दर्यशास्त्र पुँजीवादी, माक्र्सवादी, सामन्तवादीमा विभक्त छ । अब दलित सौन्दर्यशास्त्र पनि अस्तित्वमा आएको छ । दलित सौन्दर्यशास्त्र दलितलाई हेर्ने नयाँ विश्वदृष्टि बनेको छ । अब दलित सौन्दर्यानूभूति गरिनुपर्छ । दलितको समस्यालाई समाधान गरिने पक्ष खोजिनुपर्छ । दलित पक्षधर साहित्य लेखिनुपर्छ । दलित भाष्य लेखेर दलितप्रति हुने दमन, दलन र दबदबाविरुद्ध प्रतितन्त्रको वकालत गरिनुपर्छ । दलित साहित्य स्वयं दलितले नै धेरै लेख्नुपर्छ; जसमा सुहानुभूति बढी आउन सक्छ । औपचारिक ज्ञान र शिक्षाबाट वञ्चित गरेर, राजनीतिक, प्रसासनिक आर्थिक, सामाजिक र सांस्कृतिक मूल प्रवाहबाट पर राखेर वस्तुकरण गर्दै स्वाभिमान कहिल्यै उठ्न नदिने परिबन्द सिर्जना गरेर, चेतनाशून्य बनाएर राख्ने नियतलाई बन्द गरेर पढ्ने लेख्ने अवसर उपलब्ध गराउनु राज्यको दायित्व हो ।

दलित पक्षधर गैरदलितले पनि दलित भाष्यमा लेख्न सक्छन् । दलितको पीडा र दर्द दलितको हो तर समस्या दलितको मात्र नभएर आममान्छेको हो, सिङ्गो मानव सभ्यताको हो । संरचनामै विभेद गरिएको, खास जातिका खास संस्कृति र खास परिवेश हुन्छन् जस्तो श्रमजीवी वर्गको हात गोडा फुटेका धुस्रेफुस्रे हुन्छ । यसको पनि सौन्दर्यानूभूति गरिनुपर्छ । श्रम गर्नेको हातखुट्टा फुट्छ, शरीरमा पसिनाको गन्ध हुन्छ, कपडा मैलो देखिन्छ, त्यसलाई श्रमको सम्मान गर्ने संस्कृतिसँग जोडेर दलित सौन्दर्य नियाल्नुपर्छ । असुन्दर भनिएका चिज पनि सुन्दर हुन्छन्, सौन्दर्यको शासकीय मान्यता होइन भुइँ मान्छेले विकास गरेको श्रम, पसिना र कलाको मान्यता आवश्यक हुन्छ ।

माक्र्सले भनेका छन्, “श्रमिक संसारका चालक हुन् ।” तिनै चालक श्रमजीवी वर्ग कला, सीप र साधनका धनी वैज्ञानिक निर्माणकर्ता श्रमिक वर्ग विभेदको दलन भोग्न अभिषप्त छ । सुन्दरताको संस्कृति र सौन्दर्यशास्त्र यही समुदायको सम्मान र मर्यादाको खातिर निर्माण गरेर श्रम गर्ने मान्छे सबैभन्दा सम्मानित निर्माणकर्ता र पालनकर्ता हुन् भन्ने नवीन चिन्तन आवश्यक छ । श्रम नगर्ने, श्रम शोषण गर्ने, दलाली गर्ने र बिचौलियाभन्दा श्रम गर्नेहरू मात्र महान् हुन् । श्रम जीवन हो, श्रम गर्नेहरू सम्मानका लायक हुन्छन् ।

अल्छी गर्ने, काम चोर्ने र कर्तव्य निर्वाहमा चुक्ने मात्रै समाजका खराब प्रवृत्ति हुन् । यसरी असल र खराब उच र नीच प्रवृत्तिका आधारमा परिभाषित गरिनु ठीक हुन्छ । जात, थर, गोत्र विभेदको विषय किमार्थ बनाइनु हुन्न । श्रमको उचित मूल्याङ्कनले श्रमको उच्च स्थान निर्माण गर्छ । अबको संस्कृति श्रम, मर्यादा, सिर्जना र पसिनाको मूल्यबोध गर्ने सौन्दर्यमा आधारित हुन्छ । दलित सौन्दर्य मूलतः समानता, स्वतन्त्रता, मानवीय मूल्यको स्थापनार्थ लेखिनुपर्छ । समाजमा निर्मित आइडियोलोजीबाट मानिस अधीनस्थ र उपेक्षित दुवै बन्छ । जहाँ र जसको कोखमा जन्मे पनि मान्छे हुने हक खोसिनु हुँदैन । कर्मफलको भाष्य निर्माण गरेर मनोवैज्ञानिक रूपमा नै दासत्व स्वीकार गर्ने संस्कृतिका विरुद्ध, बुद्धिजीवीहरूले धेरैभन्दा धेरै लेख्नुपर्छ ।

धर्म संस्कृतिको आडमा गरिने अमानवीय विभेद र उपेक्षाको विरुद्ध क्रान्ति चेतना निर्माण गरेर दलन र पीडाको अन्त्य गर्न मनोवैज्ञानिक रूपान्तरणका लागि प्रयत्नशील बन्ने अवधारणा अपेक्षित छ । समाजमा दलनको समस्या निकै जटिल र भयानक छ । यसलाई इरेज गर्न मानवीय मनको फराकिलो इरेजरको खाँचो छ, त्यस्तो इरेजर कला, साहित्य, सङ्गीत, जागरण र समाज सुधारका अनेकन संस्कृति र धार्मिक परम्परा निर्माण गरेर तयार गर्न सकिन्छ । दलितलाई हेर्ने सामाजिक विषयमा एन्टिथेसिस लेखिनुपर्छ । दलितको समाजशास्त्रीय अध्ययन गरिनुपर्छ । दलित ज्ञानको प्रचारप्रसार र यो देश निर्माणमा आजसम्म उनीहरूले खर्चेको श्रम, सीप, योगदान र निरन्तरताको गाथा लेखिनुपर्छ । इतिहासदेखि भएको अन्यायको शोधभर्नाका लागि राज्यका हरेक निकायमा योग्य र दक्ष दलितको समस्या समाधानमूलक प्रतिनिधित्व हुनुपर्छ । संविधान र कानुनमा लेखेर मात्रै अपमान र अमर्यदाको शोध भर्ना हुन सक्दैन भन्ने देखिएको छ । संरचनागत लाभांश लिने र शासक वर्गले दलितको पीडा र समस्यालाई राष्ट्रको समस्याका रूपमा आत्मसात् गर्दैन, तबसम्म कानुन र संविधानका चिसा अक्षरले कागजका खोस्टामा लेखेर समता आउँदैन ।

संवैधानिक प्रावधान

श्री ३ जङ्गबहादुरले कानुन बनाएर संरक्षण गरेको जातीय छुवाछूत तथा भेदभावलाई राजा सुरेन्द्रले १९१० पुस २३ गते जारी गरेको कानुनको विरुद्धमा २००७ मा प्रजातन्त्र प्राप्तिपछि पहिलो पटक अन्तरिम विधान, २००७ (२६) को धारा १४ (१) राज्यले धर्म र जातजातिका आधारमा भेदभाव नगर्ने नीति लिएको छ भनेर लेखी कानुनले नै अपदस्थ गर्ने प्रयास गरेको आज ७२ वर्ष भइसक्यो । राजा महेन्द्रले २०२० मा जारी गरेको मुलुकी ऐनले जातीय भेदभाव गर्नेलाई दण्ड दिने व्यवस्था ग¥यो । बहुदलीय व्यवस्था स्थापनापछि २०४७ को संविधानले पनि जातीय भेदभाव तथा छुवाछूतलाई दण्डनीय मानेको छ । २०६८ मा जातीय भेदभाव तथा छुवाछूत कसुर सजाय ऐन जारी ग¥यो । अन्तिरम संविधान, २०६३ जेठ २१ गते नेपाललाई छुवाछूतमुक्त राष्ट्र घोषणा गरियो । २०७२ को नयाँ गणतान्त्रिक संविधानको धारा २४ मा छुवाछूत तथा भेदभावविरुद्धको हक र धारा ४० मा दलितको हक मात्र उल्लेख गरेको छैन, धारा २५५ मा संवैधानिक आयोगका रूपमा राष्ट्रिय दलित आयोगको व्यवस्थासमेत गरेको छ ।

जातीय छुवाछूतविरुद्ध प्रधानमन्त्रीस्तरीय घोषणा 

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले २०५८ साउन ३२ गते छुवाछूतलाई व्यवहारमै अन्त्य गर्ने घोषणा सार्वजनिक गर्नुभयो । २०६० माघ १० गते प्रधानमन्त्री सूर्यबहादुर थापाले जातीय भेदभाव र छुवाछूतसम्बन्धी मुद्दा सरकारवादी बनाउने निर्णय गर्नुभयो । २०६५ माघ १२ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रदेखि गाविस स्तरसम्म नै छुवाछूत हेर्ने निगरानी केन्द्रको स्थापना गर्ने र छुवाछूत हेर्ने छुट्टै इजलास बनाउने घोषणा गर्नुभयो । २०६६ मा प्रधानमन्त्री माधवकुमार नेपालले अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रोत्साहनस्वरूप एक लाख दिने निर्णय गर्नुभयो । बाबुराम भट्टराईले छुवाछूत उन्मूलन समिति नै गठन गर्नुभयो । केपी ओलीले २०७३÷७४ को बजेट व्यवस्थामा छुवाछूत उन्मूलनको प्रतिबद्धता नै जनाउनुभएको थियो ।

तथापि दलितमुखी घोषणा गरिएको नयाँ संविधान बनेको १० वर्ष नपुग्दै जातीय छुवाछूतजन्य प्रकृतिको भेदभावमा हजारौँ मान्छे पीडित छन् भने डेढ दर्जन मान्छेको ज्यान गएको छ । रुकुमको सोतीमा छ जना युवा एकै पटक यो जघन्य अपराधको सिकार भएका छन् । त्यसैले कागजी घोषणा र लिखित संवैधानिक डकुमेन्टले मात्र विभेद कम हुँदैन, त्यसका लागि नवजागरण र नवसंस्कृति निर्माणको अभियान जरुरी छ । दलित साहित्य, दलित सौन्दर्य ज्यादाभन्दा ज्यादा लेखिनुपर्छ । दलित विमर्श हुनुपर्छ । दलितको शक्ति सम्बन्ध रहनुपर्छ । दलित चेतना, दलित विद्रोह, दलित मानक, दलित सौन्दर्य, दलित विचार, दलित आन्दोलन, दलित पीडा र वेदना दलित समतामा आधारित विषयवस्तु विश्वविद्यालयमा पढाइने शोधको क्षेत्र मानिने नीति बन्नुपर्छ ।

दलित आन्दोलनले स्थापना गरेको सम्मान र मानक शब्दका रूपमा दलितलाई ग्रहण गरिसकेका छन् । साझा नाम बनेको कारण सबै खेमा राजनीतिसँग आबद्ध कार्यकर्ताले दलित शब्द प्रयोग गर्छन्; जसले संविधानमा समेत आफ्नो परिचय र अधिकार स्थापित गरेको छ । गर्व गर्न सकिने साझा नाम, परिचय र मानक बनेको छ– दलित शब्द । त्यसैले दलित शब्दमा अलमल, दोधार र अन्यमनस्क बनिराख्ने आवश्यकता छैन । सक्दो दलित भाष्य निर्माण गरेर, संस्कृति बनाएर, सौन्दय मानेर दलित विषयलाई फराकिलो आयाम दिँदा आहतमा राहत मिल्नेछ । दलन दलितको मात्रै निजी समस्या होइन, राष्ट्रको समस्या हो । दलित शब्द दर्द, अपमान, आक्रोश र विप्लवको दलनविरुद्धको राष्ट्रिय अन्तर्राष्ट्रिय आवाज हो ।

  • ३० पुष २०७९, शनिबार प्रकाशित

  • Nabintech