१४ बैशाख २०८१, शुक्रबार

कांग्रेसको कदमले देखिएका अशुभ संकेत
  • भानु बोखिम

सत्तामा रहने उत्कट चाहना र प्रयासका बाबजुद बाहिरिनु परेपछि नेपाली कांग्रेस रन्थनिएको छ। विशेषत यो पीडाले कांग्रेसको संस्थापन पक्षलाई बढी सताएको छ। यही कारण कांग्रेस सत्तामा फर्किने खेलमा लागिसकेको छ। कांग्रेसका यो चाहना व्यवहार र बोली दुवैमा अभिव्यक्त हुन थालेका छन्। देश, जनता र लोकतन्त्रको खातिर इतिहास रचेको कांग्रेसले सत्ताकै लागि मरिहत्ते गर्नु दुर्भाग्य हो, तर कांग्रेसमा यस्तो मनोविज्ञान अब नयाँ भने रहेन।

सत्तामा रहने शेरबहादुर देउवाको दाउपेचले प्रचण्डलाई निकै निराश बनाएको थियो। प्रचण्ड प्रधानमन्त्री बन्न चाहन्थे भन्ने कुरा पहिलै सार्वजनिक भएको कुरा हो। निर्वाचनपछि यो कुरा प्रचण्डले खुलेरै भनिरहेका थिए। अहिले उनी एमालेको समर्थन र केपी ओलीको कृपामा प्रधानमन्त्री बनेका छन्। तर उनको लागि यो रुची भन्दा पनि रहर परिपूर्तिको बाध्यता बनेको छ। प्रचण्ड त देउवा र नेपाली कांग्रेसको सहयोगमा प्रधानमन्त्री हुन चाहन्थे।

अफशोस ! देउवाको मनोविज्ञान निर्वाचन परिणामसँगै बदलिएको थियो। उनी नै प्रधानमन्त्रीको रुपमा दोहोरिन चाहन्थे। चाहना आफैं सत्तामा निरन्तर रहनु थियो तर उनले अन्य कांग्रेसी नेताहरुको दबाब रहेको बहाना गरे। त्यही दबाबका कारण प्रचण्डलाई प्रधानमन्त्री बनाउन नसक्ने खबर सुनाए। यो देउवाको बहानामात्र थियो भन्ने कुरा प्रचण्डलाई विश्वासको मत दिने कांग्रेसको निर्णयबाट पनि प्रमाणित भइसकेको छ। विश्वासको मत दिने निर्णय सिंगो कांग्रेसीको थिएन। सत्तामा फर्किन हतारमा रहेको कांग्रेसको एक समूहको निर्णय थियो जसको नेतृत्व देउवाले गर्छन्।

देउवाले प्रधानमन्त्रीमा निरन्तरता खोज्दा प्रधानमन्त्री पदमात्र गुमाएनन्। अर्काे निर्वाचनसम्मको अवधिमा आधा कार्यकाल प्रधानमन्त्री हुन पाउने सम्भावना पनि गुमाएका थिए। साथै नेपाली कांग्रेसले हासिल गर्ने अनेकन राजनीतिक अवसरमा तगारो लागेको थियो। कांग्रेस सम्भावनाको हिसाबले एकैचोटी शून्यमा झरेको थियो। प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल भएर रित्तो हुनु कुनै पनि राजनीतिक दललाई सह्य हुने कुरा हैन।

त्यही मनोदशाबाट नेपाली कांग्रेस अहिले गुज्रिरहेको छ। कुनै पनि हालतमा राजनीतिक लाभ लिने वा सत्तामा फर्किने रणनीति तय गर्नु नेपाली कांग्रेसको उद्देश्य हो। नेपाली कांग्रेसले यसको सुरुवात पर्याप्त समर्थन जुटाइसकेका प्रचण्डलाई विश्वासको मत दिएर गरेको छ। यसले कांग्रेसले सत्ता स्वार्थमा लोकतान्त्रिक संस्कार त भुलेको देखायो नै, साथै कांग्रेसमा जति भने पनि देउवाकै हालिमुहाली छ भन्ने तथ्य पनि स्थापित भएको छ।कांग्रेसको यो चलखेल सत्ता स्वार्थसँग जोडिएको छ भन्ने अभिव्यक्ति एकपछि अर्काे गरेर आइरहेका छन्। नेता रामचन्द्र पौडेलले विश्वासको मतलाई निर्वाचनअघिको गठबन्धन हाइज्याक भएकोले पुनः फर्काउने प्रयास भएको अभिव्यक्ति दिइसकेका छन्। यसको अर्थ प्रचण्ड र नेकपा माओवादीलाई केपी ओलीको चंगुलबाट फुत्काउनु हो।

त्यसपछि राजनीतिक लाभ हासिल गर्नु पनि हो, जसको पुष्टि शेखर कोइरालाको अभिव्यक्तिले गर्छ। उनले विश्वासको मत दिएका कारण माओवादीले राष्ट्रपतिको निर्वाचन सहयोग गर्ने अपेक्षा व्यक्त गरेका छन्। निश्चय नै ठूलो दलको हैसियतले सत्ता गठबन्धन जोगाउन नसक्नुमा गल्ती कांग्रेसको थियो। नेतृत्वको हिसाबले यसमा दोषी शेरबहादुर देउवा हुन्। तर सत्तामा गुमेपछि नेपाली कांग्रेसले राजनीतिमा नैतिकता प्रदर्शन गर्न सक्नुपर्थ्यो। लोकतन्त्र पार्टीले अंगीकार गरेको सिद्धान्तले मात्र सुनिश्चित गर्दैन, नैतिकता र आदर्शका औपचारिक र अनौपचारिक ब्यवहारहरुले तय गर्छन्। यो अर्थमा नेपाली कांग्रेस यसपाली नराम्ररी चुकेको छ।

लोकतन्त्रमा सिद्धान्त र निष्ठाका कुरा महत्वपूर्ण हुन्छन्। शक्ति र सत्ताको लागि जनमत र विधिको निर्णयलाई मान्नुपर्छ। नेपाली कांग्रेसका अन्धभक्तहरु विश्वासको मत दिएर पनि नेपाली कांग्रेसले प्रतिपक्षको भूमिका खेल्न सक्छ भनिरहेका छन्। यो नेपाली कांग्रेस र यसका भक्तहरुले बोल्ने कुरा भयो। विश्वासको मत दिएर प्रतिपक्षको भूमिका निभाउँछु भन्नु सरासर दुईजिब्रे कुरा हो। संसारमा यस्ता अभ्यास भएका होलान्, तर यसकै आधारमा नेपाली कांग्रेसको कदमलाई जायज मान्न सकिँदैन।

रामचन्द्र पौडेलले गठबन्धन फर्काउने प्रयास हो भन्नु, शेखर कोइरालाबाट राष्ट्रपतिको निर्वाचनमा माओवादीको सहयोगको अपेक्षा राख्नु र नेपाली कांग्रेस प्रतिपक्षमा बस्छ भन्नु युक्तिसंगत देखिँदैन। नेपाली कांग्रेसले प्रतिपक्षमा बस्ने वा प्रतिपक्षीको भूमिका निभाउने नैतिक हैसियत गुमाइसकेको छ। नैतिकवान वा विधिसम्मत् चलेका छौ भन्नको लागि त सार्वजनिक रुपमा अनेक तर्क–कुतर्क गर्न सकिन्छ, तर विश्वास गर्न सकिँदैन।नेपाली कांग्रेसले लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना र जनताको हकहित तथा देशको समृद्धिको लागि पटक पटक लडेको थियो। यसरी कांग्रेसले विद्रोह गर्दा र हतियार उठाउँदा जायज थियो, किनभने त्यो बेला नेपाली कांग्रेस देशको राजनीतिक प्रणालीभन्दा बाहिर थियो। वा विद्यमान राजनीतिक प्रणालीमा नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक दल अटाउन सक्दैनथ्यो। अहिले संविधान त स्थापित राजनीतिक प्रणालीभित्र नेपाली कांग्रेस अटाएको छ। यस्तोमा सधैं सत्ताभित्र रहन खोज्नु भनेको अनेकन बेथिति निम्त्याउनु हो।

लोकतन्त्रमा राजनीतिक दलहरु स्थापित राजनीतिक प्रणालीभन्दा बाहिर हुँदैनन्, तर सत्ताबाहिर हुनुचाहिँ सामान्य हो। किनभने लोकतान्त्रिक परिपाटी भएको देशमा एकै समय सबै दल सरकारमा अटाउँदैनन्। यो तत्कालिन जनमत र राजनीतिक घटनाक्रमले तय गर्ने कुरा हो। तर जसरी पनि सत्तामा रहनुपर्छ भन्नु लोकतन्त्रको लागि खतरनाक हुन्छ।

लोकतन्त्र खतरामा हुनु भनेको विधिको शासन ओझेल पर्नु हो। बेथिति र षड्यन्त्रले प्रभाव बढ्दै जानु हो। नेपाली कांग्रेसको लोभ र उसले त्याग्दै गरेको निष्ठाको राजनीतिले यस्तै अशुभ संकेत गरिरहेको छ।नेपाली कांग्रेसले सुरुमै सत्ता गठबन्धनलाई टिकाउन सक्नुपर्थ्यो तर भएन। हुन नसक्नुमा नेपाली कांग्रेसभित्रको अलोकतान्त्रिक अभ्यास र शैली बढी जिम्मेवार छ। तर पार्टीभित्रको अलोकतान्त्रिक सोच र अभ्यासलाई नेपाली कांग्रेसले सिंगो राजनीतिमा छताछुल्ल पारेको छ। यो नेपाली कांग्रेसको लागि त दुर्भाग्य हो नै। देश र जनताको लागि हितकर कुरा हैन।

  • ३ माघ २०७९, मंगलवार प्रकाशित

  • Nabintech