१६ चैत्र २०८०, शुक्रबार

कम्युनिष्ट आन्दोलनमा युवाको बाटो
  • हेमन्त शिशिर

अध्ययनकर्ताहरूका अनुसार अहिलेको मार्क्सवादी आन्दोलन धरापमा पर्दै जानुको मुख्य कारण भनेको बदलिँदो विश्व परिवेशलाई अंगीकार नगर्नु हो। पछिल्लो समय विश्वमा विज्ञान प्रविधिको विकास अविश्वसनीय तबरले द्रूत वेगमा भइरहेछ। विज्ञान प्राविधिले अहिलेको विश्वलाई एकीकृत सभ्यताका रूपमा विकसित गरिदिएको छ। विज्ञानले समाजिक प्रणालीहरूमा नै उथलपुथलको अवस्था सिर्जना गरिदिएको छ। यतिमात्र होइन पछिल्लो समय मानव समाजको सङ्गठनात्मक दिशा नै परिवर्तन भएको छ भन्नु गलत हुँदैन। तर यी यावत् कुराहरूलाई मध्यनजर गर्दै मार्क्सवादले जसरी आफूलाई संशोधन गर्न सक्नुपर्ने थियो त्यो भएको छैन। फलस्वरूप मार्क्सवादी आन्दोलन अहिलेको विश्वमा कमजोर  बन्दै गएको देखिन्छ।

मार्क्सवादलाई संसारभर एकै दृष्टिकोणबाट हेर्नु अथवा एकै किसिमबाट बुझ्नु हुँदैन। मार्क्सवादी आन्दोलनको व्याख्या, विश्लेषणमै संसारभर विविधता छ। यदाकदा यसको गतिशीलता र वैज्ञानिकतामाथि पनि बेलाबखत  प्रश्न भने नउठेका होइनन्। यो टिप्पणी विषेशगरी कम्युनिष्ट आन्दोलनको लामो ऐतिहासिक र सैद्धान्तिक व्याख्या भन्दा पनि अब नेपाली युवाहरूले कम्युनिष्ट आन्दोलनमा खेल्नुपर्ने भूमिका र यस आन्दोलनलाई युवाहरूले कसरी जनउपयोगी बनाउने भन्ने दिशातर्फ केन्द्रीकृत रहनेछ।

विविधतापूर्ण वर्गीय समाज र पछिल्लो समयमा विकसित आर्थिक सामाजिक संरचना हेर्दा एकै किसिमको आन्दोलन र क्रान्तिबाट जनताले महसुस गर्नेगरी नेपाली समाजको आर्थिक विकास, समृद्धि र भौतिक विकास यथास्थितिमा असम्भव रहेको छ। पछिल्लो समय समाजमा एउटा यस्तो वर्ग स्थापित भएको छ, जोसँग  स्रोतसाधन तथा  सेवाको पहुँच अधिक छ। फलस्वरूप यो वर्गका निम्ति कतिपय अवस्थामा आफ्नो शारीरिक तथा मानसिक स्वास्थ्य व्यवस्थापन नै चुनौतीपूर्ण बनेको छ। यो वर्ग नै वर्तमान अवस्थाको पूँजीपति वर्ग हो। यसैगरी हाम्रो समाजमा एउटा अर्को वर्ग छ जो विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट ऋण लिएर आफ्नो व्यापार व्यावसाय तथा जीवनशैलीलाई सरलीकरण गरिरहेको छ। यस वर्गभित्र पनि ठूलासाना गरी विभिन्न शाखा वर्गहरू स्थापित छन्। नेपाली समाजमा यस्तो एउटा अर्को पनि वर्ग छ जसलाई आफ्नो दैनिकी गुजारा गर्न र हातमुख जोर्न समेत अप्ठ्यारो परिस्थिति छ। यो वर्ग पनि विभिन्न तहहरूमा विभाजित रहेको छ। यस वर्गको सबैभन्दा तल्लो तह भनेको वास्तविक सुकुम्बासी र सडक मानवहरूको समूह हो।

यस्तो अप्ठ्यारो किसिमको सामाजिक बनोट रहेको समाजको समग्र विकास गर्दा कुनै पनि व्यक्ति, समुदाय, क्षेत्र र वर्ग भने मारमा पर्नु हुँदैन। विभिन्न युद्ध र सडक आन्दोलनबाट प्राप्त अहिलेको लोकतान्त्रिक गणतन्त्रमय व्यवस्थामा पनि नयाँ क्रान्तिका लागि युद्ध र सडक आन्दोलनका बाटाहरू रोज्नु उपयुक्त हुँदैन। आर्थिक क्रान्ति आजको समाजको प्रथम र अनिवार्य लक्ष्य भएको बेला आर्थिक क्रान्तिको कार्यक्रम र  लक्ष्य निर्धारित गर्नुपर्छ, आफ्नो कार्यक्रम निश्चित गर्नुपर्छ। अहिले नेपाली समाजमा आर्थिक क्रान्तिको अनिवार्यता छ। यसैलाई प्राथमिकता दिनु जरुरी छ।

वर्तमान युगको विकसित मार्क्सवाद औद्योगिक सर्वहारा वर्गको मात्र होइन, किसानहरूको सामाजिक मुक्ति र राष्ट्रिय स्वाधीनताको मार्गदर्शक सिद्धान्त पनि हो। २०४९ साल माघमा एमालेको पाँचौं महाधिवेशनबाट पारित भएको जबजको यही लाइनलाई आधार मान्ने हो भने पनि प्रयोगसिद्ध कम्युनिष्ट सिद्धान्त केही असफल जस्तो बन्दै गएको देखिन्छ। यस्तो अवस्थामा अझै नयाँ युग र परिवेशमा हुर्केको कम्युनिष्ट युवा पुस्ताले अब कस्तो बाटो लिने प्रश्न निकै जटिल बनेको छ।

अहिले विभिन्न विद्युतीय सञ्जालहरूको प्रयोगबाटै आन्दोलनको मूलधारमा उल्लेख्य जनमत सिर्जना गर्न सकिने अवस्था रहेको छ। अबको कम्युनिष्ट आन्दोलनलाई सफलताको उच्च विन्दुमा पुर्याउँदै नेपालको आर्थिक, सामाजिक राजनीतिक क्षेत्रमा अग्रगामी छलाङ मार्नका लागि सबैभन्दा पहिले हरेक युवाले आफ्नो सोच बदल्नु पर्ने हुन्छ, नियत बदल्नु पर्ने हुन्छ। हामीले कस्तो संसार निर्माण गर्ने भन्ने कुरा हाम्रो सोचमा निर्भर रहन्छ, हामीले सकारात्मक भावना बोक्यौं भने त्यसको प्रत्यक्षमा असर हाम्रो सम्पूर्ण वातावरणमा पर्न जान्छ र हाम्रो वरिपरि नै सुन्दर संसारको सिर्जना हुँदै जान्छ। होइन भने  फेरि पनि युवाहरूले उही महाभारतीय दाउपेजको राजनीति अभ्यास गर्दै जाने हो भने वातावरण नकारात्मक कुराको प्रवाह उच्च हुँदै जान्छ जसले गर्दा हाम्रो धर्तिमा परिवर्तनका किरणहरूले कहिल्यै स्पर्श गर्नै पाउँदैनन्।

हामीले समयअनुसार मार्क्सवादी चिन्तनलाई गतिशीलता दिनुपर्ने आवश्यकता रहेको छ। सेवाका क्षेत्रमा युवाहरू एकजुट भएर विज्ञान प्रविधिमैत्री सेवाको सञ्चालन संगठित रूपमै गर्न सकियो भने पक्कै कुनै दिन त्यो नयाँ आन्दोलन र नौलो जनवादको रूपमा स्थापित हुनसक्छ। शिक्षक, विधार्थी, डाक्टर, युवा सम्पूर्ण क्षेत्रमा भातृ संस्थाहरूको स्थापना गरेका अर्थात् भातृ संस्था हरूमा आवद्ध रहेका विभिन्न कम्युनिष्ट पार्टीहरूका युवाहरूले छिटो, छरितो संगठित रूपमै समाजमा सेवाहरूको प्रवाह गर्न सक्दैनन्? कम्युनिष्ट पार्टीका युवाहरूले सेवा तथा उत्पादनको क्षेत्रमा हस्तक्षेप गर्न सक्ने हो भने हाम्रो ठूलो मुद्रा देशमै सञ्चित हुनजान्छ।

यसबाट निश्चित पूँजीपति वर्गहरूले मनग्य कमाउन सक्ने वातावरणको अन्त्य भइ कार्यकर्ताहरूमा रोजगारीको सिर्जना हुन्छ र सिंङ्गो पार्टी नै लाभमा रहन्छ। पार्टी भनेकै त समुदाय त होला नि के यसरी हाम्रो सिंङ्गो समाज समृद्ध हुन सक्दैन त? के यो आन्दोलन होइन? के यो वर्ग संघर्ष होइन?  के यो नयाँ क्रान्ति होइन? अर्टिफिसिअल इन्टेलिजन्सको यत्रो विकास भैसकेको अहिलेको विश्वमा कार्यकर्ता बटुलेर चोकतिर नारा लाउँदैमा सबैचिज सम्भव होला त?  कुनैकुनै बेला त्यो परिस्थिति  पनि आउन सक्छ त्यतिबेला सडक आन्दोलन जायज हुन्छ तर हरेक किसिममा परिवर्तनहरू सडकबाट मात्रै सम्भव छन् भन्ने किसिमको भाष्य स्थापित हुनु हुँदैन। पक्राउ परेर अथवा जेलनेल भोगेरमात्र नेता भइन्छ भन्ने किसिमको स्कुलिङको अन्त्य कम्युनिष्ट पार्टीका युवा पुस्तामा हुनैपर्छ।

सहि समयमा गतिको नियमलाई सहि तरिकाले समात्न सकियो भने मात्र अहिलेको कम्युनिष्ट युवा राजनीति सफलताको शिखरमा पुग्न सक्छ। यसका लागि संगठन भित्रै  पनि विभिन्न कुराहरूको व्यवस्थापनका लागि समय सुहाउँदो प्रविधिको प्रयोग गर्न सकिन्छ र बदलिँदो समयको गतिलाई समाउन सकिन्छ। त्यसो त यसको छिटफुट अभ्यास भने सुरू भैसकेको छ। भर्खरै सम्पन्न अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनमा प्रयोग भएको विद्युतीय भोटिङ प्रणालीलाई हामी उदाहरणको रूपमा लिनसक्छौँ। पछिल्लो समय व्यापक रूपमा उठिरहेको अनलाइन भोटिङ सिस्टम हुनुपर्छ भन्ने आवाजको पक्षमा पनि युवा कम्युनिष्टहरूले घनिभूत अध्ययन अनुसन्धान गरी समर्थन जनाउनु जरुरी छ। तर त्यसका लागि सबैभन्दा पहिले यसको  पारदर्शितामाथि  उठ्ने गरेको प्रश्नमा भने गहन छलफल र अनुसन्धान जरुरी नै रहन्छ। यसो गर्न सकियो भने  विभिन्न बाध्यताका कारण विश्वभर रहेका सम्पूर्ण नेपाली समुदायको मताधिकार सुरक्षित गर्न सकिन्छ र यस्ता किसिमका क्रियाकलापहरूले समुदायलाई जोड्ने काम गर्छन्। विज्ञान प्रविधिले ग्लोबल भिलेज बनाइदिएको  यो पृथ्वीमा यी कार्यहरू मार्क्सवादलाई गतिशीलता दिने नयाँ सेतु बन्न  पनि सक्छन्।

परिस्थिति र अवस्थाहरू सधैं एकै खालका रहँदैनन्। वर्तमान अवस्थामा मिश्रित अर्थप्रणाली अवलम्बन गर्नुको विकल्प छैन। तर सम्पूर्ण युवाहरूले राज्यले निजी क्षेत्रलाई चुस्त रूपमा नियमन गर्नुपर्छ भन्ने कुरामा  र निजी क्षेत्रमा बढेको दलालतन्त्रको नयाँ रूप विचौलियातन्त्रलाई पूर्ण रूपमा राज्यले नै नियन्त्रण गर्नुपर्छ भन्ने कुरामा सधैं आवाज उठाइरहनुपर्छ। सरकारी क्षेत्रमा रहेको ढिलासुस्ती, बिचौलियातन्त्र ,भ्रष्टाचार जस्ता विकासमा बाधा पर्ने तथा जनस्तरमा प्रत्यक्ष असर पार्ने कुराहरूको अन्त्य गर्नका लागि आम कम्युनिष्ट युवाहरू अन्तिम सास रहेसम्म लडिरहनुपर्छ र हार्नु हुँदैन। जोखिमपूर्ण अवस्थामा देशको रक्षा गर्न सैनिकहरू मात्र होइन आम जनताहरू पनि राष्ट्रको रक्षाका लागि युद्धमा होमिए जस्तै वर्तमान परिस्थितिमा हरेक कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरू देशको आर्थिक स्थिति सबलिकरणका लागि नयाँ उर्जाका साथ उत्पादनको क्षेत्रमा संगठित रूपमै होमिनु आवश्यक छ। यसरी हामी हाम्रा परनिर्भरताहरूलाई निरूपण गर्दै कम्तीमा कृषिमै भए पनि पूर्ण आत्मनिर्भर भएर समाजवादी राज्यको एउटा आधार तयार गर्न सक्छौं।

यहाँ वृद्ध नेतृत्वले युवाहरूलाई लगाउने गरेको अर्को  गम्भीर आरोप भनेको नेतृत्वका लागि युवापुस्ता तयार भएकै छैन भन्ने पनि हो। वास्तवमा युवा भनेको कुनै उमेर समूह भन्दा पनि चेतना हो। शरीरिक रूपमा उर्जावान समूहसँग युवा चेतना हुने हो भने देशले नयाँ छलाङ मार्नका लागि खासै समय लाग्दैन। उर्जा सहितको चेतनशील दक्ष युवाहरू नै उन्नत समाजवाद निमार्णका लागि प्रयोग हुने ईट्टाहरू हुन्। अबका कम्युनिष्ट युवाहरूले आफ्ना संघ ( संगठनहरू भित्र अध्ययन गर्ने संस्कारको विकास गर्नुपर्ने देखिन्छ यसरी वैचारिक तथा संगठनिक रूपमा युवाहरू एकआकार हुनेँ हो भने नेताहरूको दैलोमा गएर नेतृत्व माग्ने भन्दापनि सहजै नेतृत्व आफै लिन सकिने परिस्थितिको सिर्जना हुन्छ। आफू सक्षम र योग्य बन्ने भन्दा पनि नेताहरू सँग चुनावको टिकट माग्नका लागि ढोका ढकढाउने प्रवृत्ति एउटा गतिशील कम्युनिष्ट विचारधारा बोकेको युवाको लागि शोभनीय हुँदैन र आम कम्युनिष्ट युवाहरूले यस्तो प्रवृत्तिको आफैँबाट अन्त्य गर्नुपर्छ।

  • १२ चैत्र २०७९, आईतवार प्रकाशित

  • Nabintech