१६ चैत्र २०८०, शुक्रबार

मानिसको जीवनमा शान्ति
  • प्रेम रावत

एउटा सानो बाटो तपाईँको घरदेखि शुुरु भई मूल बाटोमा गएर जोडिन्छ । तपाईँ हरेक दिन त्यही बाटो हुँदै हिँडिरहनुहुन्छ । त्यसको छेउतिर एक ठाउँमा एउटा निकै ठूलो काँचको टुक्रो जमिनमा देखा परेको छ । तपाईँ आउँदा–जाँदा हरेक पटक त्यो काँचको टुक्रोलाई देखिरहनुहुन्छ । तपाईँ बाल्यावस्थामा हुँदा तपाईँले सोध्नुहुन्थ्यो, ‘यो के हो ?’ कसैले भनिदिए, ‘काँचको टुक्रो हो ।’ तपाईँले यही कुरालाई मान्नुभयो । त्यसपश्चात् हरेक दिन तपाईँ त्यही काँचको टुक्रो भएको स्थान हुँदै जानुहुन्छ । तपाईँको मनमा के कुरा खेल्छ ? ‘काँचको टुक्रो !’ एकदिन एकजना मानिस तपाईँसँगै गइरहेका थिए । उनले त्यो काँचको टुक्रोलाई देख्छन् । तपाईँको हातमा समातेर तपाईँलाई रोक्छन् । तपाईँ भन्नुहुन्छ, ‘किन रोक्नुभएको ?’

उनी भन्छन्, ‘हेर्नुहोस्, त्यो के हो ?’ तपाईँ भन्नुहुन्छ, ‘के हो र ! काँचको टुक्रो हो । यसलाई त मैले बाल्यकालदेखि नै देखिरहेको छु । मलाई यो के देखाइरहनुभएको छ ! अब जान दिनुहोस् !’ उनी भन्छन्, ‘यो काँचको टुक्रो होइन । यो त हीरा हो, हीरा !’ तपाईँ भन्नुहुन्छ, ‘छोड्नुहोस्, यसलाई त म बाल्यावस्थाबाटै देखिरहेको छु । यो काँचकै टुक्रो हो । यदि हीरा हुँदो हो त अहिलेसम्ममा कसैले लगिसक्थ्यो ।’ उनी भन्छन्, ‘साथी, तपाईँ मान्नुहोस् या नमान्नुहोस्, मलाई थाहा छ– यो हीरा नै हो । म यसलाई लैजान्छु । हीरा पसलेलाई देखाउँछु, यसको मूल्य कति पर्छ ! हिँड्नुहोस्, यदि मसँगै जानुभयो भने तपाईँ आपैmँले थाहा पाउनुहुनेछ ।’ त्यो चीज लगेर हीरा पसलेलाई दिन्छन् । पसलेले भन्छन्, ‘कत्रो ठूलो हीरा रहेछ ! कति सुन्दर हीरा पो रहेछ ! यसलाई खुर्केर, टल्काएपछि यो त टल्किनेछ । यो त सुन्दर रहेछ । एकदमै आकर्षक रहेछ ।’

एकातिर यो काँचको टुक्रो छ अनि तपाईँ आपूmलाई हेरेर भन्नुहुन्छ, ‘मेरो भाग्य कहिले खुल्ला ? म कहिले धनी बनुँला ?’ म त्यही मानिस हुँ अनि म भन्ने गर्छु, ‘यो काँचको टुक्रो होइन । यो हीरा हो ।’ तपाईँ भन्नुहुन्छ, ‘होइन, यो त काँचकै टुक्रो हो । मलाई यो काँचको टुक्रो हो भन्ने कुरा थाहा छ ।’ म भन्छु, ‘यो काँचको टुक्रो होइन । यो हीरा हो । हीरा ! अनमोल हीरा हो । यो तपाईँलाई प्राप्त भएको छ ।’

आइन्स्टाइनको एउटा भनाइ छ, ‘एउटै खालको काम गर्नुहुन्छ अनि फरक परिणामको अपेक्षा गर्नुहुन्छ ।’ पहिलादेखि गर्दै आएको काम नै गरिरहनुहुन्छ अनि परिणाम फरक होओस् भन्ने चाहना राख्नुहुन्छ । नतिजा फरक भइरहोस् भन्ने ठान्नुहुन्छ । आइन्स्टाइनको भनाइ अनुसार ‘यदि कसैले यस्तै आशा राख्छ भने ऊ पागल हो ।’ तपाईँ के गर्नुहुन्छ ! बिहानदेखि साँझसम्म त्यही काम गरिरहनुहुन्छ अनि कस्तो आशा राख्नुहुन्छ ? ‘हे, सृष्टिकर्ता ! आजको दिन राम्रोसँग बितोस् !’

तपाईँ जन्मदा सबैको ध्यान एउटै कुरामा थियो– श्वास चलिरहेको छ कि छैन ? यदि श्वास नचलेको भए के तपाईँ घर जान पाउनुहुन्थ्यो होला ? जब तपाईँको अन्तिम घडी आउनेछ, डाक्टरले के हेर्छन् ? सास चलिरहेको छ या छैन । यो श्वास चलिरहेसम्म तपाईँमाथि ती सृष्टिकर्ताको कृपा भइरहेको छ । के तपाईँलाई ती सृष्टिकर्ता छन् अनि ती तपाईँभित्रै छन् भन्ने कुरा थाहा छ ? आपूmभित्र गएर त्यस चीजलाई अनुभव नगरेसम्म सबै कथा अपूरोको अपूरै रहन्छ ।

एक उनी नै हुन् । तिनलाई नामको आवश्यकता नै पर्दैन । त्यहाँबाट हिँडेर यहाँ आउनुपर्ने कुनै आवश्यकतै पर्दैन । उनलाई यात्रा गर्नुपर्ने आवश्यकत नै पर्दैन । ती सबैतिर छन् । उनी नभएको त कुनै स्थान नै छैन । तिनकै कारणले समय छ । समयका कारणले उनी भएका होइनन् । तिनै एक हुन् जो समयभन्दा पनि पर छन् । जो समयभन्दा पहिला पनि थिए, अहिले पनि छन् अनि समयभन्दा पछि पनि रहनेछन् । उनी हरेक मानिसमा छन् । उनका कारणले मानिसले आफ्नो जीवनमा शान्ति प्राप्त गर्न सक्छ ।

आजको युगलाई विज्ञानको युग भनिन्छ । यस संसारमा मानिसले आफ्नो सुख–सुविधाका लागि के–के मात्रै गरेको छैन र ! तैपनि आज यो संसारको अवस्था राम्रो छैन । बुद्धिमान मानिसहरूले त यस्ता–यस्ता यन्त्रको आविष्कार गरिसके, जुन पृथ्वीको आकर्षण शक्तिलाई पनि छोडेर अन्तरिक्षमा जान सक्छन् र विभिन्न किसिमका कार्यहरू गर्न सक्छन् । असम्भव लाग्ने कुराहरूलाई पनि सम्भव तुल्याइरहेका हुन्छन् । क्यामेरा, टेलिफोन, नेभिगेसन (जहाजको दिसा नियन्त्रण गर्ने प्रणाली) लगायत अरू थुपै्र आविष्कार गरेका छन् । एक ठाउँबाट अर्को ठाउँसम्म जानलाई मानिसले आफ्ना लागि कस्ता–कस्ता सुविधाहरूको विकास गरेको छ ? पृथ्वीमा बसी–बसी हज्जारौँ–करोडौँ माइल टाढा हेरेर ‘आकाशको तारा कति ठूलो छ भन्न सक्छ । जसरी मानिसले ती सबै सुविधाहरू आफ्ना निम्ति सम्भव बनाएको छ त्यसै गरी यो संसारमा शान्तिलाई सम्भव बनाउनका लागि पनि मानिसले नै पाइला चाल्नुपर्छ ।

एउटा कथा छ । एकजना मानिस आफ्नो साइकलमा चढेर आवश्यक कामका लागि कतै गइरहेका थिए । यत्तिकैमा अचानक उनको साइकलको टायर पङ्चर भयो । दुःखी भएर उनी आफ्नो नजर यताउता डुलाइरहेका थिए, कुनै साइकल मर्मत गर्ने पसल भए यो समस्या हल हुने थियो भनेर । उनी घडी हेर्दै सोच्न थाले, ‘ओहो ! म, पुग्नुपर्ने ठाउँमा त समयमा पुग्न नसक्ने भएँ ।’ उनलाई यो कुराको चिन्ताले सताउन थाल्छ । उनी भन्छन्, ‘यो त राम्रो हुने भएन ।’

यत्तिकैमा उनले केही पर साइकल मर्मत गर्ने एउटा सानो पसलमा बसिरहेका पसलेलाई देखे । बिचरा उनी साइकल मर्मत गर्नका लागि थोरै सामग्री पसलमा राखी उदास भएर बसेका रहेछन् । किनभने उनीकहाँ साइकल बनाउनलाई कोही पनि गएका थिएनन् । सबैका साइकल राम्रैसँग चलिरहेका थिए । यत्तिकैमा ती साइकल पङ्चर भएका मानिस त्यहाँ पुगेर भन्छन्, ‘यो साइकलको टायर पङ्चर भयो । यसलाई बनाइदिनुहोस् न ।’ उनलाई देखेपछि ती पसले खुशी भएर मनमनै भन्छन्, ‘हे भगवान् ! तिमीलाई लाखौँलाख धन्यवाद ! यी मान्छेको साइकल पङ्चर भएर राम्रो भयो । अब म यिनको साइकल बनाउँछु अनि मलाई खानका लागि केही पैसा प्राप्त हुनेछ ।’

यसको अर्थ, यस संसारमा सुख–दुःख त भइरहन्छ । कसैलाई दुःख हुन्छ त कतिलाई त्यही दुःखका कारणले खुशी प्राप्त हुन्छ । तर, मानिस यो कुरालाई बुझ्न चाहँदैन । शान्तिसँग रहेर यो जीवनलाई सफल बनाउने जुन मूल लक्ष्य छ त्यही कुरालाई बिर्सन्छ ।

एकखालको शान्ति त त्यो पनि हो, जुन परिस्थितिमा निर्भर रहन्छ । सबै कुरा ठीक भएपछि त्यसको अनुभव हुन्छ । तर, अर्को शान्ति त्यो हो जसमा जुनसुकै परिस्थिति होओस् मानिसले आपूmभित्र त्यो शान्तिलाई महसुस गर्न सक्छ । मानिसले संसारमा शान्ति ल्याउनका लागि सम्भव हुन सक्ने हरेक प्रयास गरिरहेको छ, जुन उसले गर्न सक्छ । तर, उसले ‘त्यो शान्ति’ लाई आपूmभन्दा टाढा छैन भन्ने कुराका बारेमा जान्ने कोशिशै गर्दैन, त्यो त ऊभित्रै छ । त्यही शान्ति पाउन मानिसले विभिन्न किसिमका औजारहरू बनाइरहेका छन् । त्यसबाट शान्ति त होइन, क्रान्ति भने अवश्य भैरहेको छ । किनभने, शान्ति त अनुभव गर्ने कुरा हो ।

खुशीको खबर के छ भने, जुन शान्तिको खोजी हामीलाई छ, त्यो हामीबाट टाढा छैन । त्यो हामीभित्रै छ । मानिसले भित्रको शान्तिलाई प्राप्त नगरेसम्म चाहे उसले जतिसुकै कोशिश किन नगरोस्, ऊ व्याकुल रहनेछ । हरेक व्यक्ति–व्यक्तिलाई शान्तिको अनुभव भएपछि मात्रै यो पृथ्वीमा शान्ति सम्भव हुन्छ ।

यो कुरालाई एउटा उदाहरणद्वारा बुझ्न सकिन्छ । यदि एउटा स्टेडियमलाई प्रकाशै प्रकाशले उज्यालो बनाउनु छ भने त्यसमा जडान भएका हरेक बल्वलाई बाल्नुपर्छ । यो पृथ्वी पनि एउटा स्टेडियमजस्तै हो अनि हरेक मानिस एउटा बल्व हो । स्टेडियमको सबैतिर उज्यालो बनाउनका लागि प्रत्येक बल्व बल्नु आवश्यक भएजस्तै सबै मानिसमा त्यो सम्भावना छ । उसले आफ्नो जीवनमा शान्तिलाई अनुभव गर्न सक्छ । यसबाट पृथ्वीभरि नै शान्ति सम्भव हुन सक्छ । प्रत्येक मानिसलाई शान्तिको आवश्यकता छ । हरेक व्यक्ति–व्यक्तिको हृदयभित्र शान्तिको सम्भावना छ । हृदयमा शान्तिको अनुभूति भएपछि मात्रै जीवन पनि सफल हुनेछ । नत्र यस संसारमा आयौँ अनि एकदिन यहाँबाट जानुपर्छ । मानिसहरू भन्छन्, ‘खाली हात आएका थियौँ र खाली हात नै जानुपर्नेछ ।’ तपाईँ यो संसारमा अवश्य पनि खाली हात आउनुभएको थियो तर खाली हात नै जान आवश्यक छैन । यदि कुनै लिएर जान सकिने चीज छ भने एउटा मात्रै चीज छ र त्यो हो– शान्ति ।
यदि हामी संसारमा शान्ति होओस् भन्ने चाहन्छौँ भने पहिला हामीले अफ्नै सानो संसारमा शान्तिलाई स्थापना गर्नुपर्छ । यदि कतै अशान्ति भइरहेको छ भने त्यसको कारण अरू कोही होइन, मानिस आफैँ हो । वास्तविक शान्ति त्यो हो जसलाई मानिसले आपूmभित्र अनुभव गर्न सक्छ । यदि मानिसभित्र शान्ति छैन भने बाहिरको शान्ति असम्भव छ ।

मानिसलाई ‘मभित्रै शान्ति छ’ भन्ने कुरा महसुस हुनुपर्दछ । ‘म पनि यो शान्तिको हिस्सेदार हँु र यो ममाथि निर्भर हुन्छ । यदि मैले प्रयास गरेँ भनेँ साँच्चै नै शान्ति सम्भव छ ।’ यसका लागि प्रत्येक मानिस सहभागी भएर ‘एक पाइला शान्तितर्फ’ चाल्नुपर्छ ।

(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलित एवं प्रस्तुतीकरण : डा. प्रेमराज ढुङ्गेल ।)

  • २ जेष्ठ २०८०, मंगलवार प्रकाशित

  • Nabintech