६ जेष्ठ २०८१, आईतवार

पर्यटन नीतिमा पर्यावरणका विषय समेटिनु आवश्यक
  • भीमप्रसाद पन्त

विश्वका प्रमुख गन्तव्यमा देखिएको भीडका कारण त्यहाँको पर्यावरणमा क्षति पुगेको, स्थानीयलाई असर पारेको तथा भौतिक निर्माणमा असर परेको भन्दै यस्ता भीडभाड ठाउँमा पर्यटकलाई नजाऊ भन्ने सन्देश अहिले प्रचार हुन थालेको पाइन्छ । यो अभियानमा लाग्नेहरूले अहिले विश्वका सबैभन्दा बढी पर्यटक जाने ठाउँमा नजान सल्लाह दिएका छन् । यसमा नेपालको सगरमाथा पनि परेको छ । १ हजारभन्दा बढी मान्छे पुगेको सगरमाथामा पनि वातावरणीय समस्या बढेको उल्लेख गरिएको छ । यसले पर्यटनका क्षेत्रमा नयाँ बहस शुरू गरेको छ । अबको पर्यटन भीडभाड जम्मा गर्ने र पैसा कमाउनेमा मात्र सीमित हुनु हुँदैन, प्राकृतिक वातावरण नबिगार्ने, स्थानीयलाई कम असर पार्ने तथा पूर्वाधारमा क्षति नपुग्ने गरी पर्यटन गतिविधि गर्नुपर्छ । नेपालको पर्यटनमा संख्यात्मक हिसाबले भीडभाडयुक्त छ जसले गर्दा पर्यावरणीय क्षति पुगेको देखिन्छ । जहाँजहाँ पर्यटन गतिविधि भएका छन् ती ठाउँमा फोहोर देखिन्छ जसबारे अब चिन्ता गर्नुपर्ने भएको छ ।

पर्यावरण बिगारेर पर्यटनको दिगो हुन सक्दैन । त्यसैले अहिले नेपालले पर्यावरण र प्रकृतिलाई सँगसँगै लैजाने गरी पर्यटन गतिविधि सञ्चालन गर्नु अनिवार्य छ । प्रकृतिमा असर नपारी, प्राकृतिक सौन्दर्यमा हस्तक्षेप नगरी यहाँ पर्यटन गतिविधि सञ्चालन गर्न अब ढिला गर्नु हुँदैन । नेपालमा पर्यटन गतिविधिले प्रकृतिमाथि निकै थिचोमिचो भएको पाइन्छ । जहाँ पर्यटन गतिविधि भएका छन्, त्यहाँ प्लास्टिक, बोटललगायत निकै प्रकारका फोहोर थुप्रिएको यत्रतत्र देख्न सकिन्छ । सन् १९८० को दशकदेखि पर्यटनका माध्यमबाट जैविक तथा सांस्कृतिक विविधताको संरक्षण, दिगो उपयोग तथा सामाजिक आर्थिक लाभको समन्यायिक वितरण गर्नुपर्छ भन्ने सोच विकास भएको पाइन्छ ।

पर्यटकको अत्यधिक चहलपहलका कारण प्राकृतिक सन्तुलनमा पक्कै पनि नकारात्मक असर पर्छ । यही कारण पर्यटन व्यवसाय र स्थानीय बासिन्दाबीच द्वन्द्व पनि हुन सक्छ । पर्यटक आगमनबाट स्थानीय क्षेत्र प्रभावित भए पनि त्यसको लाभ आफू ले नपाएको भनी स्थानीयले असन्तुष्टि पोखेको पाइन्छ । पर्यटन गतिविधि गर्दा स्थानीय बासिन्दालाई उपेक्षा गरियो भने त्यो दिगो पनि हुँदैन ।

पर्यटकीय स्थलको वातावरण, प्राकृतिक स्रोतको संरक्षण, स्थानीय संस्कार र संस्कृतिको जगेर्ना र स्थानीयवासीको जीवनस्तर उकास्ने गरी पर्यटन गतिविधि सञ्चालन गरिनुपर्छ । पर्यटन र प्रकृतिबीच सम्बन्ध छ । त्यसैले पर्यावरणप्रति सचेत भई सेवाप्रदायक होटेल तथा लजले पर्यटकको सेवा सत्कारपछि उत्पन्न हुने फोहोरमैलाको पुन: प्रशोधन, पुन: प्रयोग, पुनर्लाभ तथा न्यूनीकरण गर्ने विषयमा ध्यान दिनु जरुरी छ । यसलाई नै जिम्मेवारपूर्ण पर्यटन व्यवसाय भनिन्छ । प्रकृतिकै कारण पर्यटक आउने भएकाले प्रकृतिको संरक्षण गर्नु पनि पर्यटन व्यवसायसँग जोडिएको विषय हो ।

पर्यटनको विस्तारसँगै प्राकृतिक क्षेत्रआसपास जनसंख्याको चाप बढ्छ । मानिसको चाप बढेपछि फोहोरमैला पनि बढ्छ । मानिसको आवागमन बढेपछि वन्यजन्तु तथा वनस्पतिमा समेत नकारात्मक असर पर्छ । त्यसैले बढी पर्यटक ल्याउनभन्दा खर्चालु गुणस्तरीय पर्यटकमा ध्यान जानुपर्छ । हुन त नेपालमा कम खर्च गर्ने पर्यटक पनि आवश्यक छ । तैपनि पर्यावरणका दृष्टिले हेर्दा भने संख्यामा जोड दिनु उपयुक्त देखिँदैन ।

हिमाल, पहाड, तराई, भोट र मधेशको प्राकृतिक स्वरूप तथा सांस्कृतिक सम्पदा हेर्न र साहसिक क्रियाकलाप गर्न नै प्राय: पर्यटक आउँछन् । त्यसैले यसलाई जोगाएर पर्यटन गतिविधि गरिनुपर्छ । पर्यटक आउँछन् र जान्छन् । तर, तिनीहरूले वातावरणमा नकारात्मक प्रभाव पार्नु हुँदैन । यसो भयो भने अहिले बढेको पर्यटकको संख्या घट्न थाल्छ । शुद्ध हावा र स्वच्छ पानी, भू–स्वरूपको सौन्दर्य र शान्त वातावरण, वन–वनस्पति र वन्यजन्तुको बाहुल्य नै दिगो पर्यटनको आधार हुन् । त्यसैले तिनमा क्षति पुर्‍याउनु हुँदैन । स्थानीय जनसमुदायको जीविकोपार्जन र अन्य आर्थिक लाभलाई हेरेर पर्यटन विकास र व्यवस्थापन हुनुपर्छ । पर्यटनबाट हुने आम्दानी स्थानीय बासिन्दाका साथै स्थानीय प्रकृतिको संरक्षण र संवद्र्धनमा पनि खर्चिनुपर्छ । अहिले यसो हुन सकेको छैन । पर्यटनबाट राज्यले र व्यवसायीले लाभ लिए पनि प्रकृतिको संरक्षणमा त्यो मुनाफाको अंश खर्च खासै भएको छैन ।

विश्वभरिका पर्यटकको रोजाइ अहिले केही फेरिएको विश्लेषकहरूको भनाइ पाइन्छ । अहिलेका पर्यटकले मनोरञ्जनलाई मात्र उद्देश्य बनाउँदैनन् । आफ्नो खर्चले प्रकृतिमा कम असर गरोस् भन्नेमा पर्यटकहरू सचेत हुन थालेको पाइन्छ । यद्यपि यस्तो संख्या कम छ ।

नेपालमा आउने पर्यटक धेरैजसो प्राकृतिक सौन्दर्य हेर्न नै आउँछन् । अथवा साहसिक गतिविधिका लागि आउँछन् । पोखरा पर्यटकको रोजाइमा परेको क्षेत्र हो । त्यस्तै अन्नपूर्ण पदमार्ग पनि बढी पर्यटक जाने रूट हो । तर, पोखराको फेला ताल प्रदूषणको चपेटामा छ । पदमार्गमा पनि फोहोरलगायतका वातावरणीय समस्या बढेको छ । पोखरा पहिलेजस्ता सफा पनि छैन । यसले पोखरा आउने पर्यटकको संख्या प्रभावित हुन सक्छ ।

विश्वका धेरै पर्यटकीय क्षेत्रमा सरसफाइ निकै राम्रो हुन्छ तर नेपालमा त्यस्तो छैन । यसो हुनुको कारण पर्यटनलाई प्रकृतिसँग जोड्न नसक्नु नै हो । अब पर्यटन प्रवर्द्धनका कार्यक्रम ल्याउँदा, पर्यटकीय गतिविधि गराउँदा प्रकृतिमा कम हस्तक्षेप होस् भन्ने कुरामा ध्यान दिनुपर्छ । सौराहामा जीप वा हात्ती सफारीमा जानेले फालेका प्लास्टिकका बोतल र अन्य फोहोर त्यस क्षेत्रमा देख्न सकिन्छ । यसलाई रोक्न स्थानीय पर्यटन व्यवसायीको पहल कम छ । यसबाट आम्दानी लिइरहने हो भने यहाँको प्राकृतिक वातावरण स्वच्छ राख्नु अनिवार्य हुन्छ ।

विश्वका धेरै पर्यटकले स्थानीय संस्कृति र समुदायमा भ्रमण गर्न जान रुचाएको पाइन्छ । धेरै पर्यटकले कार्बन उत्सर्जन घटाउन धेरै टाढा नजाने बताएका छन् । यसका लागि सानो सानो समूह बनेर पर्यटनमा जाने, हाइकिङ वा पदयात्रामा जानेजस्ता क्रियाकलाप यसमा पर्छन् । यो प्रवृत्तिलाई नेपालले पनि आत्मसात् गर्नुपर्छ ।

पर्यटनबाट प्राप्त आम्दानीबाट समाजको आर्थिक, शैक्षिक, सामाजिक, भौतिक, सांस्कृतिक आदि सबै क्षेत्रको विकास हुनुपर्छ । यस्तो प्राकृतिक र सांस्कृतिक सम्पदामा पर्यटक रमाउँछन् । त्यहाँका बासिन्दाहरूले होटेल, पथप्रदर्शक, नृत्य, गायन, घरेलु उत्पादनका सामग्री विक्रीलगायत सरल र सहज माध्यमद्वारा पैसा कमाउँछन् । यूरोपका धेरै पर्यटकीय स्थल यस्तै खालका छन् । नेपालले पनि आफ्नो सांस्कृतिक क्षेत्रको मौलिकता जोगाएर त्यहाँ सवारीसाधनको भीडभाड कम गरी स्वच्छ बनाउन सके प्रशस्त पर्यटक भित्त्याउन सक्छ ।

नेपालमा पर्यटनको स्पष्ट दिशा, गति र नीति नै छैन भन्दा हुन्छ । अर्थात् पर्यटनको नीतिमा गुणस्तरीय बनाउने भन्ने पनि छ र संख्या बढाउने कुरालाई पनि प्राथमिकता दिइएको छ । बढी संख्यामा पर्यटक आउँदा प्रकृतिमा कसरी कम असर पार्ने, त्यहाँ हुने फोहोरमैला कसरी सफा गर्ने जस्ता पक्षमा नीतिमा स्पष्टता छैन । नेपालको पर्यटन पूर्वाधार नै प्रकृति हो । ताल, नदी, हिमाल, पहाडहरू नै पर्यटक तान्ने आधार हुन् । ती आधारलाई कमजोर बनाएर अर्थात् फोहोर बनाएर पर्यटकलाई तान्न सकिँदैन ।

पर्यटकीय क्षेत्र ठमेल, काठमाडौं उपत्यकाका सम्पदा क्षेत्रहरू हेर्दा नेपालको पर्यटनमा सुधारको खाँचो देखिएको छ । अहिले वसन्तपुर दरबार क्षेत्रमा सवारीसाधन प्रवेश निषेध गरिएको छ । यस्ता क्षेत्रमा सवारीसाधन पूर्ण निषेध गरिनुपर्छ । कतिपय स्थानमा विद्युतीय सवारीमात्रै सञ्चालन गर्न दिनु उपयुक्त हुन्छ । यसले स्थानीयलाई केही समस्यामा पारे पनि त्यसको लाभ स्थानीयले नै बढी पाउने भएकाले यसमा सम्बद्ध सबै पक्षले मिलेर काम गर्नुपर्छ । प्राकृतिक सौन्दर्य र सांस्कृतिक धरोहरूमा कुनै असर नपर्ने गरी पर्यटन गतिविधि सञ्चालन गर्नु आजको आवश्यकता हो । यसमा सरकार र व्यवसायी दुवै गम्भीर हुनै पर्छ ।

लेखक पर्यटन व्यवसायी हुन् ।

  • २७ असार २०८०, बुधबार प्रकाशित

  • Nabintech