३ असार २०८१, आईतवार

लघुवित्त जोगाउने कि नजोगाउने ?
  • कृष्ण प्रधान

यतिखेर नेपालको लघुवित्त क्षेत्रमा पहिले कहिल्यै नसोचिएका र नदेखिएका घटनाहरू हुन थालेका छन् । त्यो देख्दा लाग्छ ३ दशकअगि यसैको सपना देख्ने लघुवित्त क्षेत्रकै पिताका रूपमा चिनिएका डा. हरिहरदेव पन्तले कोरेको मार्ग आगामी समयमा कतातिर मोडिने हो ? भन्ने अर्को चिन्ता थपिनु स्वाभाविकै हो । खासगरेर कुनै बेला (अझैसम्म पनि) अभियानका रूपमा सञ्चालित लघुवित्तीय क्षेत्रमा आज तिनकै केही सेवाग्राहीहरूबाट सडकमा विरोधका आन्दोलनहरू प्रदर्शित हुनु, त्यसका माध्यमबाट लघुवित्तीय संस्थाहरूको खारेजीको माग हुनु, हालसम्म लिइएका सम्पूर्ण ऋणको मिनाहामा साथै निब्र्याजी सापटीका मुख्य मागहरू राखेर लघुवित्तीय प्रणालीमाथि नै धावा बोल्ने कामहरूले यो क्षेत्रको आगामी दिन कस्तो हुने हो ? यसमा लाग्नेहरूको भविष्य के हुने हो ?

गरीबी निवारणका लागि कुनचाहिँ अर्को संस्था र प्रणालीले काम गर्ने हो ? भन्ने अनेकौं संशयहरू उठेका छन् । करीब २ वर्षअघिदेखि सञ्चालित त्यस्तो सडक आन्दोलन अझै मथ्थर भएको छैन । उल्टै, कुनै अमुक राजनीतिक दलका भ्रातृ संगठनका झण्डाहरू तिनका आन्दोलनमा प्रदर्शित हुनथालेका छन् । यसलाई बेलैमा चिर्न सकिएन भने त्यसले यो क्षेत्रलाई नै तहसनहस गर्ने त छँदै छ गरीबी निवारणका लागि अर्को कुनचाहिँ वित्तीय वा अरू कुनै वैकल्पिक प्रणालीको खोजी गर्ने भन्ने थप चुनौती पनि नीतिगत तहमा बस्नेहरूका लागि तेस्र्याएको छ ।

ठीक यस्तै बेला, उनै पन्तको आठौं वार्षिक पुण्यतिथिका अवसरमा लघुवित्तीय कर्जा लिएर सफल र उदाहरणीय काम गर्ने सातै प्रदेशका महिला उद्यमी, व्यवसायीमध्येबाट सात जनालाई निर्धन संस्थाले जनही रू. ५० हजार राशिको उत्कृष्ट महिला उद्यमी पुरस्कार वितरण गरिरहेको दृश्यले भने मलाई एकखाले सन्तोष र साथसाथै अनौठो दिग्भ्रमको सृजना गर्‍यो । सन्तोष यस कारणले कि डा. पन्तले ३ दशकअघि देखेको सपना त पूरा भएकै रहेछ । दिग्भ्रम यस कारणले कि कर्जाको सदुपयोग नगर्ने, नगराउनेहरूलाई पो सडक आन्दोलनको हुट्हुटी लागेको त होइन ? निर्धन संस्थाले विगत ८ वर्षदेखि यस्तो पुरस्कार वितरण गर्दै आएको छ भने लघुकर्जा लिएर सफल व्यवसाय गर्नेहरूको संघर्ष र सफलताको कथा समेटिएको ग्रन्थ : समृद्धिको मार्गसमेत हरेक वर्ष प्रकाशन गर्दै आएको छ ।

नेपालमा यो क्षेत्रमा खासगरेर लघुकर्जाका सेवाग्राहीलाई उनीहरूको कामको सम्मान गर्ने, पुरस्कृत गर्ने संस्था बिरलै छन् । सम्भवत: निर्धन मात्रै पो हो कि ? बैंक वित्तीय क्षेत्रका सेवाग्राही ऋणीहरूलाई त खोइ कुनै कर्जा प्रवाह गर्ने संस्थाहरूले पुरस्कृत वा सम्मान गरेकै पो देखिएन, निक्षेपकर्ताहरूको त कुरै परको भयो । असल उदाहरण पेश गर्ने, गरेका सफल व्यवसायी ऋणीहरूलाई कर्जा प्रवाह गर्ने बैंक वित्तीय संस्थाहरूले बेला बेलामा पुरस्कार वा सम्मान गर्ने, इज्जत गर्ने संस्कारको खाँचो पनि देखाइदिएको छ निर्धनको यस्तो परम्पराले ।

बैंकिङ क्षेत्रबाट कमसे कम सामाजिक उत्तरदायित्वको सानो अंश मात्र पनि यस्ता कर्ममा जाने हो भने त्यसले नेपाली बैंकिङ प्रणालीमा असल अभ्यासको थालनीको संकेत मात्र गर्ने छैन वित्तीय सेवामाथिको हालको आम दृष्टिकोणमा समेत परिवर्तन आउने सम्भावना छ । अर्बौं रुपैयाँको खुद मुनाफा गर्ने वित्तीय संस्थाहरूले तिनलाई त्यसरी मुनाफा दिलाउन सघाउने कमसेकम केही असल उद्यमी, व्यवसायी र निक्षेपकर्तालाई कुनै न कुनै रूपले सम्मान वा पुरस्कृत गर्ने सोच कहिले आउला ? कमसे कम आफूले कतिपय अन्तरराष्ट्रिय (दि बैंकरजस्ता पत्रिकाको) र कहिलेकाँही राष्ट्रिय (अभियान, बिजनेश एजको) समेतको अवार्ड पाएपछि त यस खाले सोच आउनुपथ्र्यो, तर उसो भइरहेको देखिएन ।

विनाधितो लगानी बैंकिङ परम्परामै सर्वथा नौलो अभियान हो, एक अर्थमा राज्यले नगरेको र उसले कहिले नसोेचेको प्रणाली पनि । यो कार्य नेपालमा डा. पन्तले नै आरम्भ गरेका हुन् । लघुकर्जाको थालनी पहिले सरकारी ग्रामीण बैंक (२०४९ सालमा) र अझ त्यसअघि वाणिज्य बैंकहरूमा सघन बैंकिङ कार्यक्रम (२०३८ सालमा) मार्फत पनि त्यसखाले कर्जाको आरम्भ गर्ने काममा उनकै परिकल्पनाले काम गरेको हो । त्यसबेला नै सघन बैंकिङ कार्यमा उत्कृष्ट कार्य गर्ने कार्यक्रम सञ्चालन भएका बैंकका कर्मचारीहरूलाई सघन बैंकिङ राष्ट्रिय पुरस्कार (स्वर्ण पदक, २४ क्यारेट सुनकै पदक) ले प्रोत्साहित गर्ने कार्य पनि यिनकै परिकल्पना थियो, भलै त्यो नेपाल राष्ट्र बैंकले प्रदान गरेको किन नहोस् । लघुकर्जा प्रणालीमा पुरस्कारको आरम्भ र अन्त्य पनि त्यही पुरस्कार नै बनिरहेको पृष्ठभूमिमा निर्धन संस्थाले विगत केही वर्षदेखि वितरण गर्दै आएको विद्यमान पुरस्कार प्रणालीको गरिमालाई मूल्यांकन गर्न सकिन्छ । सरकारी कर्मचारीतन्त्र हाबी हुनेलगायत अनेकौं खाले सरकारी रोगका कारण पछि सघन बैंकिङले राम्रो नतिजा भने देखाउन सकेन । उनले आफ्नै साधन र प्रयासमा ग्रामीण मोडेलको बेग्लै लघुकर्जा प्रणाली आरम्भ गरे, एक्शन रिसर्चका नाममा र बाँकी जीवन त्यसैमा समर्पण गरे ।

लघुवित्तीय प्रणालीमा आज धेरै उपलब्धि भएका छन् । प्रणालीको विकास भएको छ । नियमन फराकिलो र चुस्त पनि छ । संस्थागत प्रतिस्पर्धा पनि छ तर त्यसको सही प्रयोग भने भएको छैन । जनशक्तिको विकास भएको छ । संस्थागत व्यवस्थाको विकास भएको छ । रोजगारी सृजना भएको छ । त्यो भन्दा पनि प्रमुख कुरा त महिलामा आएको वित्तीय जागरण र सशक्तीकरणका पक्षमा धेरै परिवर्तन देखिएका छन् । तर, त्यसको सही अध्ययन भने भएको छैन । लघुवित्तीय सेवाले देखाइदिएको यस्तो परिवर्तनका बारेमा भने सरकारको कानमा कहिल्यै बतास लागेन । कानमा कपास कोचेर बस्ने प्रवृत्ति भएका नीति निर्माताहरूका लागि भने डा. पन्तलाई जीवनकालमै सम्मान र पुरस्कृत गर्नुपर्छ भन्ने सोच कहिल्यै आएन ।

आज नेपालको लघुवित्तीय प्रणाली यहाँसम्म आइपुग्न र ल्याउनमा उनको यो सोच, चेतना र अभ्यासले काम गरेको कुरालाई कहिल्यै बेवास्ता गर्न सकिँदैन । यो क्षेत्रको भलो चिताउने हामीजस्ताले लघुवित्तको अभियानदेखि अहिले विरोधको सडक आन्दोलनसम्मको प्रयोग पनि हेर्न पाएका छौं । तर, यही क्षेत्रमा ४ दशकभन्दा पनि अधिक (२०३७–२०८०) को यो लेखकको अनुभवले के भन्छ भने लघुवित्तीय सेवाको विकल्प भनेको लघुवित्त नै हो ।

प्रधान नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् ।

  • २ आश्विन २०८०, मंगलवार प्रकाशित

  • Nabintech