५ जेष्ठ २०८१, शनिबार

जलवायु परिवर्तनको प्रभाव
  • न्युज मानसराेवर

नेपालमा यस वर्ष गत जेठ ३१ मा प्रवेश गरेको मनसुन असोज २८ मा पूर्ण रूपमा बाहिरिएको छ । यस वर्ष वर्षा औसतभन्दा कम भएको छ । कमजोर मनसुनका कारण वर्षामा कमी आएको छ भने यसले रोपाइँमा समस्या उत्पन्न भएको थियो तर कमजोर मनसुनको बिच पनि देशको विभिन्न भागमा आएको भीषण वर्षाले बाढी पहिरो आएर जनजीवन आक्रान्त बन्यो ।

विशेष गरी पहाडी तथा हिमाली भेक यस वर्ष बाढी पहिरोको मारमा परेको छ भने प्रायः डुबानमा पर्ने तराईको समथर मैदान मनसुनकालको पछिल्लो समयबाहेक अरू बेला सुक्खा जस्तै भयो ।मनसुनी गतिविधिलाई दृष्टिगत गर्दा यस वर्ष मनसुन आगमनको केही दिनपछि नै असारको पहिलो हप्ता पूर्वी नेपालको पहाडी जिल्लामा बाढी पहिरोको प्रकोप देखा प¥यो ।

जसले गर्दा ताप्लेजुङ र पाँचथरका विभिन्न भागमा क्षति हुन पुग्यो । भारी वर्षाकै कारण सङ्खुवासभाको हेवा खोलामा आएको बाढीले जनधनको विनाश भयो तर खण्ड वृष्टिका कारण यो बेला देशको मध्य तथा पश्चिम भेगमा भने टन्टलापुर घामले सुक्खा मौसम अनुभूति भइरहेको थियो । देशको विभिन्न भागमा क्षणिक वर्षा भए पनि असार बितिसक्दा पनि मनसुन सक्रिय नहुँदा वर्षाको अभाव महसुस भइरहेको थियो । यसबाट धानको मुख्य उब्जनी स्थलका रूपमा रहेको तराईको समथर मैदानको अधिकांश भागमा रोपाइँ प्रभावित हुन पुग्यो ।

देशको विभिन्न भागमा आंशिक बदली भई कतैकतै वर्षा भए पनि मौसममा आएको सुधारले सामान्यतया मनसुनकालमा हुने मध्य तथा सिमसिमे वर्षामा भारी कटौती भएको महसुस भएको छ तर पहाडी तथा हिमाली भेगमा भने छोटो समयमा भारी वर्षा हुने क्रम वृद्धि भएको छ । कमजोर मनसुनकै कारण सबैभन्दा बढी वर्षा हुने समयका रूपमा चिनिने असार १६ देखि साउन १५ सम्म यस वर्ष वर्षा न्यून रह्यो तर साउनको तेस्रो हप्तातिर देशव्यापी रूपमा तीन÷चार दिन लगातारको वर्षाले वितण्डा मच्चियो ।

राजधानीलगायत देशको विभिन्न स्थानमा बाढी पहिरोले जनजीवन अस्तव्यस्त बन्यो । सहरी इलाकामा बाढी पसी जनजीवन प्रभावित भयो । यही बेला तराईको केही स्थान डुबानमा प¥यो भने वर्षाका कारण साउनको अन्त्यतिर मुस्ताङको कागखोलामा अकल्पनीय बाढीको प्रकोप देखा प¥यो । बाढीले त्यहाँको प्रसिद्ध स्थल बगरमा परिणत भएको छ भने कागवेनी बजारको बस्ती उजाडिएको छ ।

हिमाली क्षेत्रमा बाढी आउनु एउटा अस्वाभाविक प्रक्रिया हो । वैज्ञानिकहरू यसलाई खतराको सङ्केत मान्छन् र हिमाली क्षेत्र अब बाढीले सुरक्षित नभएको बताउँछन् । मौसमी आँकडा अनुसार कागखोलामा बाढी आएको दिन जोमसोममा २४ घण्टामा २५.४ मिमी वर्षा मापन भएको थियो जब कि त्यहाँको अगस्त महिनाको औसत वर्षा ४६.८ मिमी छ । एक दिनमा यति वर्षा हुनुले हिमाली भेकमा मौसममा बदलावको सङ्केत गर्छ ।

सन् २०२१ को जुनमा पनि हिमाली क्षेत्र मनाङमा भारी वर्षाका कारण सदरमुकाम चामेलगायत त्यस भेकको अन्य भाग क्षति भएको स्मरण हुन्छ । त्यस बेला मनाङमा एक दिनमा २१२ मिमी वर्षा मापन भएको थियो जब कि त्यहाँको औसत वार्षिक वर्षा ३०० मिमी छ । त्यस्तै उच्च पहाडी भेकस्थित मेलम्ची र इन्द्रावती खोलामा आएको बाढीले मेलम्ची बजार ध्वस्त भएको थियो । यस्तो घटनाले सो क्षेत्रमा वर्षामा वृद्धि भइरहेको आभास दिन्छ ।

यसै सन्दर्भमा यस वर्षको मनसुनकालमा सगरमाथा बेसक्याम्पमा स्थापित मौसमी केन्द्रले गएको जुन १ देखि अगस्त १० सम्ममा हिउँ तथा वर्षा गरी २४५.५ मिमी मापन गरेको उल्लेख छ । त्यसमा ७५ प्रतिशत वर्षा भएको बताइएको छ । यसले त्यस क्षेत्रमा हिउँभन्दा वर्षामा वृद्धि हुन थालेको प्रस्ट हुन्छ भने यो स्नो लाइन माथि सर्दै गइरहेको सङ्केतका रूपमा लिन सकिन्छ । नेपालमा मात्र नभई यस वर्षको मनसुनकालमा भारतको उत्तर पश्चिम हिमाली भेकस्थित हिमाञ्चल प्रदेश र उत्तराखण्डमा पनि वर्षामा वृद्धिका कारण बाढी आई जनधनको क्षति भएको छ । विगत केही वर्षदेखि दक्षिण एसियाका विभिन्न हिमाली भेकमा यस्तो मनसुनी गतिविधि देखा पर्न थालेको छ र यो मानव जीवनका लागि चिन्ताको विषय भएको बताउँदै बैज्ञानिकहरूले यसको गहन अध्ययनको आवश्यकता औँल्याएका छन् ।

एक अध्ययन अनुसार मनसुनकालमा देखा परेको यस्तो मौसमी गतिविधि र हिमाली भेकमा आएको बाढीको प्रमुख कारण विश्वव्यापी रूपमा देखा परेको जलवायु परिवर्तनले निम्त्याएको उष्णीकरण रहेको छ । हाल जलवायु परिवर्तनको कारण हिमाली क्षेत्र सबभन्दा बढी तातिरहेको अध्ययनले देखाएको छ । पृथ्वीको सतह तात्नाले मौसममा अस्थिरता पैदा हुने गर्छ । यो बेला हिमाली भेकमा हिउँ पग्लिनु स्वाभाविक प्रक्रिया हो तर महत्वपूर्ण कुरा पृथ्वीको सतह तातिनाले संवाहन प्रव्रिmया तेजिलो हुन जान्छ । जसले गर्दा वायुमण्डलमा जलवाष्पको मात्रा वृद्धि हुन थाल्छ । मनसुनकालमा यस्तो बेला समुद्री सतहबाट चल्ने जलवाष्पयुक्त हावाले थप जलवाष्प आपूर्ति गरी त्यस क्षेत्रमा बादल निर्माण प्रक्रिया तीव्र हुन थाल्छ । उच्च पहाडी तथा हिमाली भेकमा यस्तो मौसमी गतिविधिलाई त्यस क्षेत्रमा वर्षा वा हिमपात निम्त्याउने प्रारम्भिक प्रक्रियाका रूपमा लिन सकिन्छ ।

संवाहन प्रक्रियाले आकाशमा एक किसिमको पानी पार्ने खालको क्युमलोनिम्बस नामको बादल निर्माण प्रक्रिया सक्रिय हुन थाल्छ । यो बादलको प्राकृतिक स्वभाव अनुरूप यसको निर्माण सँगसँगै त्यस क्षेत्रमा मेघ गर्जनसहित क्षणभरमै वर्षा हुने सम्भावना बढ्न थाल्छ । हाल जलवायु परिवर्तनको कारण विश्वमा छोटो समयमा भीषण वर्षा हुने क्रम बढ्न थालेको छ । वैज्ञानिक अध्ययनले हिमाली भेकमा वर्षामा वृद्धि हुनुको अर्काे कारण मनसुनकालमा दक्षिण एसियामा देखापर्ने वर्षा रेखा अर्थात् ‘मनसुन ट्रफ’ को सीमाङ्कनमा परिवर्तनलाई उल्लेख गरेको छ । सामान्यतया मनसुनकालमा मनसुन ट्रफ थार मरुभूमिसँग जोडिएर पाकिस्तान र भारतको उत्तर पश्चिम भेकबाट नेपालको बाटो हुँदै दक्षिण पूर्व तेर्सिएर बङ्गालको खाडीमा फैलिने गर्छ । केही वर्षदेखि यो ट्रफ उत्तरतिर ढल्कँदै उत्तर उत्तर पश्चिमबाट दक्षिण पूर्वतिर तेर्सिन थालेको छ ।

मनसुन ट्रफ जता फैलिन्छ, त्यहाँ वर्षा हुने हुँदा मनसुनकालमा यसको महत्वपूर्ण भूमिका रहेको हुन्छ । जलवायु परिवर्तनले निम्त्याएको उष्णीकरण र हिमाली भेकमा तापमान वृद्धिले मनसुन ट्रफको सीमाङ्कनमा फेरबदल आएको बैज्ञानिकहरूको ठहर छ । उनीहरू यसलाई दक्षिण एसियाको उत्तरी भेकस्थित हिमाली क्षेत्रमा वर्षामा वृद्धि हुनुको कारण भएको बताउँछन् । भारतको उत्तरी भेकस्थित हिमाञ्चल प्रदेश र उत्तराखण्डलगायत नेपालको हिमाली भेकमा वर्षामा वृद्धि हुनुमा यसको महìवपूर्ण भूमिका मानिएको छ । यस्तो मौसमी गतिविधिले दक्षिण एसियामा रेनवेल्ट उत्तर पश्चिमतिर सर्न थालेको बताइएको छ । मनसुन प्रत्येक वर्ष देखा पर्ने एउटा प्राकृतिक प्रक्रिया हो । पहाडी मुलुक नेपाल जहाँ पर्याप्त मात्रामा सिँचाइ सुविधा उपलब्ध हुन सकिरहेको छैन; त्यहाँका लागि यो वरदानतुल्य छ तर यसले निम्त्याउन सक्ने भयावह स्थिति मानवीय जीवनमा अभिशाप सिद्ध हुन्छ । तसर्थ आजको आधुनिक युगमा मौसमसम्बन्धी वैज्ञानिक अध्ययन र पूर्वानुमानलाई सशक्त बनाई यसबाट बढीभन्दा बढी फाइदा लिनेतिर लाग्नुपर्ने देखिन्छ ।

  • ४ कार्तिक २०८०, शनिबार प्रकाशित

  • Nabintech