२२ बैशाख २०८१, शनिबार

मुद्राबजारप्रति बेवास्ता
  • द्वैपायन रेग्मी

कुनै पनि मुलुकको मुद्राबजारले उक्त मुलुकको अर्थतन्त्रको प्रमुख सूचकलाई निर्धारण गर्छ । अर्थतन्त्रको तरलता व्यवस्थापन गर्न, ब्याज दर निर्धारण गर्न, कर्जा बजार व्यवस्थापन गर्न, सरकारलाई आर्थिक सहयोग गर्न, जोखिम व्यवस्थापन गर्न, विदेशी विनिमय बजार व्यवस्थित गर्न, मौद्रिक नीतिलाई कार्यान्वयन गर्न मुद्राबजारको भूमिका प्रमुख रहन्छ । समग्रमा वित्तीय स्थिरता निर्धारण गर्नेदेखि आर्थिक सुधारसम्म मुद्रा बजारको भूमिका रहन्छ । नेपाली परिप्रेक्ष्यमा निक्षेप संकलन, ट्रेजरी बिल्स खरीद, रिपो, रिभर्स रिपो, अन्तरबैंक कर्जालगायत उपकरणमा मुद्राबजार सीमित छ । मुद्राबजारका अन्य प्रचलित उपकरणहरू सर्टिफिकेट अफ डिपोजिट्स, कमर्सियल पेपर, बैंकर्स पेपरलगायत उपकरण नेपालमा छैन ।

मुद्राबजार बलियो हुँदा अर्थतन्त्र सुधार हुन्छ, लगानीकर्ता आकर्षित गर्न सकिन्छ । पारदर्शिता निर्माण गरेर तरलता व्यवस्थापन र समग्र अर्थ नीतिलाई सुधार्नसमेत सहयोगी हुन्छ । तर, नेपालमा यो ओझेलमा परेको देखिन्छ । कलिलै अवस्थामा रहेको मुद्राबजारलाई विस्तार गर्न आवश्यक छ । केन्द्रीय बैंकमा आबद्ध विभाग होस् या वाणिज्य बैंकहरूको ट्रेजरी विभाग जो यो बजारमा प्रत्यक्ष आबद्ध छन्, ती नाफामा भन्दा तरलता व्यवस्थापनमा केन्द्रित हुन जरुरी छ । मुद्राबजारलाई सरकार र केन्द्रीय बैंकले महत्त्व नदिएको देखिन्छ । छिमेकी मुलुकका मुद्राबजार हेर्ने हो भने त्यहाँ विभिन्न आधुनिक रणनीति मात्र नभएर उच्च प्राथमिकता दिइएको छ । केन्द्रीय बैंकले सरकारका निमित्त आन्तरिक ऋण उठाउने भएपछि उसको आफ्नो अभिभारा नहुनु स्वाभाविक पनि हो । बैंकहरू यही बजारबाट कमाई खाने, नाफा आर्जन गर्न केन्द्रित रहँदा यसले जुन आकार पाउनुपर्ने थियो त्यो नपाएको स्पष्ट देखिन्छ ।

मुद्राबजारबारे ज्ञानको अभाव छ र यसका लागि आधारभूत तालीमको व्यवस्था पनि छैन । मुद्राबजारबारे पर्याप्त समाचार पनि आउँदैन । वित्तीय विषयमा अध्ययन हुने भए तापनि व्यावहारिक पक्षको ज्ञानको अभाव देखिन्छ । प्राविधिक पक्षको मूल्यांकन गर्दा पनि मुद्राबजार प्राथमिकतामा नपरेको देखिन्छ । अझै पनि मुद्राबजारको उपकरणहरू प्रयोग गर्न अभौतिकीकरणको व्यवस्था हुन सकेको छैन । डी–म्याटमा उक्त उपकरण ल्याउन नसक्नुले प्राथमिकताको तह स्पष्ट झल्कन्छ । अझै पनि यी मौद्रिक उपकरण दोस्रो बजारमा कारोबार गर्न सकिएको छैन । ९१ दिनको ट्रेजरी बिल कसैसँग छ भने उक्त रकमको भुक्तानी पाउन ९१ दिनको समाप्ति कुर्नुको विकल्प देखिन्न । दोस्रो बजारमा यदि कारोबार हुँदो हो त आवश्यकताअनुसार, बजारको मूल्यअनुसार जसरी डिबेन्चरको कारोबार हुन्छ त्यसरी नै कारोबार गर्न सकिन्थ्यो । दोस्रो बजारमा यसको कारोबार हुन नसक्नुले सम्बद्ध संयन्त्रले यस क्षेत्रलाई प्राथमिकता नदिएको स्पष्ट झल्काउँछ ।

मुद्राबजार आफैमा एउटा गहिरो विषय हो, तर यहाँ कसैको ध्यान गएको देखिँदैन । यसमा चाहिने आवश्यक अध्ययनमै कमी देखिन्छ । अध्ययन गर्नुपर्ने निकाय केन्द्रीय बैंकबाहेक अन्य क्षेत्र शायदै यसमा कुनै प्रकारको चासो राख्छन् । हाम्रो शिक्षण प्रणाली मात्रै हेर्ने हो भने त्यहाँ आधारभूत हिसाब गर्ने बाहेकको ज्ञान मुद्राबजारबारे दिएको देखिँदैन । पाठ्यक्रम निर्माण गर्ने जनस्रोतको अभाव भएर पनि परिष्कृत पाठ्यक्रम निर्माण नभएको हुन सक्छ । नेपालको आर्थिक अवस्थाअनुरूप मुद्राबजारलाई प्रभाव पार्ने पक्षसमेत मूल्यांकन गर्न सकेको छैनांै, जसले मुद्राबजारको यथार्थ चित्रण गर्छ । मुद्राबजारको एउटा उपकरणलाई मात्र लिएर पनि अध्ययन गर्ने हो भने धेरै पक्ष पाइन्छन् । तर, प्राथमिकतामा नपर्दा न समाचारको विषय बन्छ, न बहसको, न अध्ययनको नै ।

हुन त नेपालमा पूँजी बजार होस् या मुद्राबजार, दुवै अस्तव्यस्त नै देखिन्छ । स्वामित्व कसैको नहुँदा यो बेवारिसेझैं देखिन्छ । केन्द्रीय बैंकलाई लाग्दो हो, यो नेपाल सरकारका लागि गरिएको कार्य हो, किन प्राथमिकता दिने । नेपाल धितोपत्र बोर्डलाई लाग्दो हो, यो सबै हाम्रो विषय होइन किन महत्त्व दिने । अनि, बैंकहरूलाई त आफ्नो लक्ष्यसँग मतलब हुन्छ, मुद्राबजार विस्तार र सुधार उसको कार्यक्षेत्रभित्र नै पर्दैन । यसरी हेर्दा, यहाँ जोडिएको सबै पक्ष छन्, तर स्वामित्व कसैको छैन जसले गर्दा मुद्राबजारले गति लिन सकेको छैन । मुद्राबजार यस्तो हुनुपर्छ भनेर सल्लाह सुझाव दिने पक्षहरूसमेत राष्ट्रिय र अन्तरराष्ट्रिय तहबाट भए तापनि यसका लागि स्वामित्व बोकेको भने कोही व्यक्ति वा संस्था छैन, जसले गर्दा मुद्राबजारप्रति जिम्मेवार कुनै निकाय छैन ।

वित्तीय साक्षरताअनुरूप मुद्राबजारको विषय पनि आबद्ध गरेर व्यापक रूपमा प्रचार गर्न आवश्यक छ । मुद्राबजार व्यवस्थित हुनु भनेको कुनै एक निकाय सम्पन्न हुनु होइन । एउटा स्थान निर्माण हुनुसरह हो, जसले गर्दा सम्पूर्ण क्षेत्रलाई लाभ हुन्छ । जसरी एउटा बजार स्थापना हुँदा विक्रेता र खरीदकर्ता दुवैलाई लाभ हुने हुन्छ त्यसैगरी मुद्राबजारबाट धेरै पक्षले लाभ लिन्छन् । मुद्राबजार सम्बन्धमा आवश्यक तालीम दिन छिमेकी मुलुकबाट दक्ष जनशक्ति ल्याउनुपर्ने हुन्छ । बृहत् छलफल र योजनासमेत निर्माण गर्न सकेमा नेपाल एउटा सानो बजार भए तापनि असीमित अवसर प्राप्त हुने थियो ।

व्यवस्थित, पारदर्शी मुद्राबजारले समग्र आर्थिक व्यवस्थालाई समेत झल्काउँछ र आर्थिक पाटो बलियो बनाउँछ । तरलताको उचित व्यवस्थापनदेखि लिएर ब्याजदर निर्धारण गर्नसमेत सहयोग गरेर आर्थिक पक्ष सजग बनाउन र छोटो समयको व्यवस्थापन गर्नसमेत सहयोग हुन्छ । यसका लागि कुनै एक पक्ष मात्र नभएर, समस्त सरोकारवाला सक्रिय हुन आवश्यक छ ।

रेग्मी बैंकर हुन् ।

  • ८ पुष २०८०, आईतवार प्रकाशित

  • Nabintech