१७ फाल्गुन २०८०, बिहीबार

कङ्गाल बनेको समाज !

गरिबसँग ‘भोट’ र धनीसँग ‘नोट’ लिने हाइब्रिड उपलब्धि र परिवर्तन ‘संसदीय लोकतन्त्र’ बनेर मुलुक प्रवेश

  • दीपेन्द्र पाण्डे

भनिन्छ, आधुनिक राज्यले नागरिकको अधिकार र सुरक्षाको ग्यारेन्टी गर्दछ । निरन्तर सतर्कता, जवाफदेहिता र समयमै न्यायको अभावमा आधुनिक राज्यको औचित्य समाप्त हुनेछ । रचनात्मक सोच र संरचना मुलुकले खोजिरहेको छ । पटके राजनीतिक परिवर्तनका बाबजुद नागरिकको आवश्यकता र आशा पूरा हुन सकिरहेको छैन । नियन्त्रित राजनीतिक अस्थिरताको आडमा स्वार्थको द्वन्द्व गज्जबले मौलाएको छ । जसले गर्दा सुशासन र पारदर्शिता मुलुकबाट गायब भएको छ । दुःखको साथ भन्नु परिरहेको छ- परिवर्तनको नाममा हामीलाई कङ्गाल बनाइएको छ । झन्डै ३५ वर्ष खर्चेर हामीले मुलुक र आफूलाई बर्बाद गर्न सफल भएका छौँ । सामान्य अनुशासनसमेत मिल्काएर आफ्नै चिहान खन्न व्यस्त समाज खोक्रो आडम्बरमा बाँचिरहेको छ ।

पुर्खाले समाज र जीवनलाई गरिमामय बनाइराख्न बनाएका नैतिक मूल्य र सिद्धान्तलाई भौतिकवादले कप्लक्क निल्दैछ । समाज निर्माणमा महत्त्वपूर्ण भूमिका र योगदान पुऱ्याएका ज्ञानीहरूले अनेकौँ हन्डर र ठक्कर खाँदै निर्माण गरेका नैतिकता ध्वस्त गर्न दिनरात एक गरिरहेको कथित राजनीति र भौतिकवाद सफलताको उचाइ चढ्दै छ । इमानदारी, कर्तव्य पालन, सहानुभूति, परोपकार, आत्मत्याग जस्ता मानवीय गुण त्याग्न हतारिएको व्यक्तिहरूलाई समाजले सजिलै स्वीकार गरिरहेको छ । जसले मुलुकलाई नराम्रोसँग सताउँदै छ ।

वैश्य युगको चेपुवामा अनैतिक बन्न विवश मानिसलाई हदैसम्म लखेट्ने प्रशासनले कानुनको छिद्र प्रयोग गर्दै अनैतिकतामा राजशी जीवनशैली बिताएको देख्दैन । जीविकोपार्जनको निम्ति सामान्य गडबडी गर्ने मानिसप्रति राज्य निर्मम ढङ्गले प्रस्तुत भइरहेको छ । ठुला-ठुला आर्थिक अपराध गर्दा सामान्य सजाय पाउने कानुनी व्यवस्थाको फाइदा उठाउन मरिहत्ते गरेका व्यक्ति र शक्तिले समाजलाई बर्बाद गरिरहेको छ । फगत व्यक्तिगत स्वार्थ, महत्त्वाकाङ्क्षा र भौतिक सुख सुविधा प्राप्त गर्न हदैसम्म गिर्न तयार पछिल्लो पुस्ताले समाजको जग ‘सहमति, सहयोग र सद्गुण’लाई अनावश्यक विषय मानिसकेको छ, जसले हामीलाई औपचारिक रूपमा ‘दुईखुट्टे पशु’ बनाएको छ ।

प्रकृतिका बहुआयामिक चुनौती पार गर्दै आएको समाजले मानवताको अस्तित्व चटक्कै भुलेको छ । भौतिक स्रोतको असीमित उपभोग गर्ने मानसिक सोचले समाजको स्थिरता डग्मगाएको छ । विरोधाभासले भरिएको संसारमा मानव ज्ञान थलापरेका छन् । केही वैज्ञानिक सिद्धान्तहरू पूर्णतया बेतुकका देखिएको झोँकमा समाजले बहुमूल्य धारणा, शुद्धता र स्पष्टता गुमाउँदै छ । विज्ञान र भौतिक सुखको पछि दौडिएको पछिल्लो पुस्ताले विगतका अनुभव, विधि र साधनहरू बेकार देख्न थालेको छ । राजनीतिक, आर्थिक महत्त्वाकाङ्क्षा पूरा गर्न समाजको सम्पत्तिको रूपमा रहेका आध्यात्मिक र नैतिक अनुशासनमाथि आक्रमण तीव्र बनाइएको छ । ‘मुलुक र समाज’ विश्वव्यापी मूल्य, मान्यता र प्रभावको पछि दौडिने नाममा आफ्नै अस्तित्वमाथि खेलबाड गर्दैछ । मानव ‘मन’ र समाजको मूल ‘सार’ राजनीतिक परिवर्तनको नाममा समाप्त गरिएको छ । व्यक्ति र समाजको सांस्कृतिक, नैतिक, बौद्धिक चेतना कसरी नष्ट भयो भन्नेबारेमा मुलुकले सोच्न छोडेको छ ।

गरिबसँग ‘भोट’ र धनीसँग ‘नोट’ लिने हाइब्रिड उपलब्धि र परिवर्तन ‘संसदीय लोकतन्त्र’ बनेर मुलुक प्रवेश गरेको छ । सांसदको टाउको गन्ने तौल नहेर्ने संसदीय व्यवस्थाले आफ्नो सामाजिक दायित्व निर्वाचनको समयमा गज्जबले देख्ने गर्दछ । निर्वाचनको समयमा मतदातालाई भगवान् भन्ने, जनार्दन देख्ने लोकतन्त्रले जनताको अमूल्य ‘मत’ संसद् प्रवेशको ‘गेट पास’ बनेको भोलिपल्ट बिर्सन्छ ।

यतिबेला नेपाली समाजको पतन उकालो चढिरहेको छ । विनाशका साधनहरूको असीमित प्रयोगले समाजलाई विचित्रको सङ्कटमा पुऱ्याएको छ । मुसादौड (पेटपालन)मा निस्कन बाध्य व्यक्तिले विकास, सिद्धान्त र सभ्यताको माला जपेर बस्न चाहँदैन/सक्दैन । बालबच्चाको पालनपोषण, शिक्षा र विकासमा आधारित सुरक्षा खोज्ने हुटहुटीले समाजको सोच र उद्देश्य बदलिएको छ । औद्योगिक सम्भावना समाप्त पारिएको, भौतिकवादले गाँजेको, सामाजिक र आर्थिक सम्बन्धको अपराधीकरण सामान्य भएको परिवर्तनमा समाजले आफूलाई नौतिकवान बनाइराख्न सकेन, जसले गर्दा प्रगति र पतनलाई समाजले महत्त्व दिन छोडिसकेको छ । ऐतिहासिक विकासको चक्रीय नियम भताभुङ्ग भएको समयमा समाजको नजरमा तमाम कर्म-कुकर्म जायज देखिएको छ । आत्मअनुशासन, गोपनियता र सही सूचना फाल्तु विषय बनेका छन् । सांस्कृतिक, आर्थिक अपराध गर्दा अपराधीले प्राप्त गर्ने सजायसमेत पुरस्कार जस्तो भएको मुलुकमा समाजले नैतिकतालाई ‘अनैतिक र अनुपयुक्त’ विषय मान्नु स्वाभाविक छ ।

गरिबसँग ‘भोट’ र धनीसँग ‘नोट’ लिने हाइब्रिड उपलब्धि र परिवर्तन ‘संसदीय लोकतन्त्र’ बनेर मुलुक प्रवेश गरेको छ । सांसदको टाउको गन्ने तौल नहेर्ने संसदीय व्यवस्थाले आफ्नो सामाजिक दायित्व निर्वाचनको समयमा गज्जबले देख्ने गर्दछ । निर्वाचनको समयमा मतदातालाई भगवान् भन्ने, जनार्दन देख्ने लोकतन्त्रले जनताको अमूल्य ‘मत’ संसद् प्रवेशको ‘गेट पास’ बनेको भोलिपल्ट बिर्सन्छ । यहीँबाट सुरु हुने गडबडीले नागरिक समाजलाई गिजोलेको छ । सत्ताप्राप्तिको निम्ति तमाम नैतिकता, मूल्य, मान्यता, बिसाउन मरिहत्ते गर्ने कथित नेतृत्वले समाज, धर्म, संस्कार, रीति, थिति, विधि, पद्धतिलाई जति धेरै भत्काउने सफलता पाउँछन्, त्यति धेरै नेताको अधिकार र क्षेत्र बढेको ठान्दै आएको छ ।

मुलुक जिम्मा लिएको नेतृत्वको कथित सोच, शैली, गैरजिम्मेवार व्यवहारलाई शब्दमा समेट्न मुस्किल छ । सामाजिक विघटन, पारिवारिक कलह, झैझगडा, अंशमुद्दा, पारपाचुके, दलाली, कीर्ते, ठगी, भ्रष्टाचार बढ्दा आफ्नो राजनीतिक आयु लम्बिएको ठान्दै आएको छ । आफ्नै स्वार्थमा अल्झिएको तथाकथित परिवर्तनले केवल विदेश जानकै निम्ति सहोदर दाजुले बहिनीसँग ‘विवाह’ गरेकोमा चिन्ता गर्न जरुरी ठान्दैन । राजनीतिक नेतृत्वको देखासिकी गर्दै विदेशीभूमिको कागज बनाउन मातापिताको मन्जुरी पाएका छन् । यस्तो भयावह नैतिक पतनपश्चात् वर्तमान व्यवस्था, सिंहदरबार र समाजसामु गम्भीर प्रश्नहरू तेर्सिएका छन् ।

काम, क्रोध, लोभ, मोह, अहङ्कारले शासन गरेको वैश्य युगमा नैतिक मूल्य कतै भेटिँदैन । पुर्खाले निर्माण गरेका मूल्य, मान्यता, अध्यात्मलाई चटक्क छोडेर भौतिकतातर्फ लम्किएको पछिल्लो पुस्ताले पैसाको निम्ति सबै जायज देख्न थालेको छ । आधुनिकता, प्रविधि, स्वार्थीसोचले परिवार र समाजको जग भत्किएको छ । एकाङ्की जीवनशैलीले समाजप्रतिको उत्तरदायित्व बिर्साएको छ । नैतिकता, इमान, इज्जत ‘गौण’ र सुखसुविधा अनि पैसाप्रधान मान्ने पछिल्लो सोचले सोसल इन्जिनियरिङ चकनाचुर हुँदैछ ।

नैतिकता र व्यवहारिक ज्ञान नदिने शिक्षानीतिले शिक्षित युवायुवतीलाई अन्धकारतर्फ धकलेको छ । पछिल्लो कालखण्डमा अनिवार्य बनिसकेको टेलिभिजन कार्यक्रम, विज्ञापनले भुसुक्कै बिर्सेको नैतिकता समाजको निम्ति महँगो बनिरहेको छ । समाजमा अनैतिकताको प्रतिस्पर्धा चलिरहेको छ । पावर पोलिटिक्स, नैतिकवान मानिस राजनीतिबाट भाग्ने अवस्थाले खराब मानिसको बोलवाला छ । यतिबेला पुर्खा, मुलुक, कानुनलाई अपमान गर्ने फेसन चलेको छ । दुराचारीको बोलवाला छ । सनातन धर्मले जीवनमा सकारात्मकता ल्याउने छ र अज्ञानले समाजलाई थप पखाल्दैछ भन्ने मान्न वर्तमान पुस्ता तयार छैन ।

वैश्य युगमा समाज र व्यक्तिको हरेक गतिविधिलाई विज्ञानले प्रभावित गरिरहेको छ । व्यक्तिगत स्वार्थको निम्ति मानिसले प्रकृतिलाई दोहन गरिरहेका छन् । धनी र गरिबबीच गहिरो खाडल बनिरहेको छ । समाजवादउन्मुख संविधानपश्चात् समाजमा डरलाग्दो आर्थिक असमानता चुलिएको छ । सामाजिक मूल्य गिर्दै गएको छ । संयुक्त परिवार लोप भएर एकल परिवारमा सीमित भएको छ । पारिवारिक संस्कार, सामाजिक चालचलन हराउँदै छ । हाम्रा जीवनशैली, चालचलन र सोच बदलिएका छन् । खानपान, बोलचाल, सत्कार र आशीर्वाद बदलिएका छन् । विगतमा सन्तानले डाँडा खोला ढाकुन् भन्ने आशीर्वाद आउटडेटेड भइसकेको छ । साइँलो, काइँलो, अन्तरे, जन्तरे जस्ता नाता लोप भएका छन् । नेपाली समाज झल्काउने परम्परागत आशीर्वाद डिट्ठा, विचारी, मुखिया, सुब्बा, हाकिम, ठेकदार, सांसद, मन्त्रीबाट एडभान्स हुँदैछ । अध्यापक, प्रोफेसर, इन्जिनियर, डाक्टरसमेत मुलुक छोड्न हतारिएको पछिल्लो समयमा अष्ट्रेलिया, क्यानडा, अमेरिका, बेलायतको भिसा लागोस् भन्नेमा पुगेको छ । प्लस टु गरेपछि मुलुकमा बस्नु भनेको असफल या नालायक हुनु हो भन्ने मान्यता स्थापित गरिँदैछ ।

बेरोजगारी, अवसरको अभाव, गरिबी र असुरक्षाले मानिसलाई अपराधतर्फ धकेल्दै छ । परम्परागत पुरुषत्वको दबाबले युवालाई सताउँदै छ । निराश र कमजोर व्यक्तिहरूको शोषण र सङ्गठित अपराध थप मौलाउँदै छ । समस्याहरू नयाँ आवरणमा प्रकट भएका छन् । प्रक्रिया मिलाएर राज्य र व्यक्तिलाई ठग्ने अभियान छेडिएको छ । विश्वासमा ठगिएका नागरिक न्याय खोज्दै सडकमा भौँतारिँदै छन् । दुर्भाग्यवश राज्यको उपस्थिति कतै देखिँदैन ।

मुलुक ‘सोसल मिडिया युग’मा फसिसकेको छ । नजिकका नाता भत्किएका छन् । सम्बन्ध पातलो भएका छन् । टाढाको, अपरिचितसँग अनौपचारिक सम्बन्ध चुलिएको छ । बनावटी र देखावटी व्यवहार चुलिएको छ । सोसल मिडिया कल्चर मौलाएको छ, जसले नागरिकको जीवन खलबलिएको छ । सामाजिक मूल्यमा अकल्पनीय गिरावट आएको छ । भौतिकवादले सताएको समाजमा मोबाइल र इन्टरनेटले नागरिकको शान्ति खोसेको छ । सामान्य घटनालाई अतिरञ्जित गर्दै नागरिकको असन्तुष्टि भड्काउने काम चुलिएको छ । अश्लील सामग्री, अराजकता र उच्छृङ्खलताले पारिवारिक जीवन भत्काउँदै छ ।

वैश्य युगमा फगत पैसाको निम्ति गरिने मानवतस्करी तथा मानव बेचबिखन, बन्धक, श्रम र यौन शोषण जस्ता अपराधलाई समाजले पचाउन थालेको छ । बेरोजगारी, अवसरको अभाव, गरिबी र असुरक्षाले मानिसलाई अपराधतर्फ धकेल्दै छ । परम्परागत पुरुषत्वको दबाबले युवालाई सताउँदै छ । निराश र कमजोर व्यक्तिहरूको शोषण र सङ्गठित अपराध थप मौलाउँदै छ । समस्याहरू नयाँ आवरणमा प्रकट भएका छन् । प्रक्रिया मिलाएर राज्य र व्यक्तिलाई ठग्ने अभियान छेडिएको छ । विश्वासमा ठगिएका नागरिक न्याय खोज्दै सडकमा भौँतारिँदै छन् । दुर्भाग्यवश राज्यको उपस्थिति कतै देखिँदैन ।

भनिन्छ, गरिबीबाट उदाएको नेता अत्यन्त रफ्तारमा हुन्छ, जसले समाज र राजनीतिलाई अनैतिक बनाउन कुनै कसर छोड्दैन । पावर गेमको नसामा उसले अगाडि रहेका डरलाग्दा चुनौतीको बारेमा सोच्दैन । अधिक आत्मविश्वासको जेलमा तमाम सम्भावनाहरू मौलाएका हुन्छन् । ध्वस्त हुनुभन्दा अगाडि ध्वस्त बनाउने राजनीतिक अभियान चलेको/चलाइएको मुलुकमा अनैतिकहरूको नजरमा लोकतान्त्रिक प्रक्रियासमेत वरदान बन्ने गर्दछ । यथास्थितिमा परिवर्तन र लोकतान्त्रिक प्रक्रियाको सुदृढीकरण खोजिरहेको समस्याग्रस्त मुलुकमा टपरटुइँयाहरूको रहरलाग्दो छलाङलाई युवायुवतीले परिवर्तन ठान्न हौसिन्छन् । अनैतिकहरूले परिवर्तनको नारासमेत अपहरण गरेका छन् । कथित बयानबाजीलाई पछिल्लो पुस्ताले नैतिक अनैतिकताको तराजुमा जोख्न जरुरी देख्दैन । यसले गर्दा युवापुस्ता र समाजको शिक्षित वर्गलाई ‘ग्याल्भनाइज नैतिकता’को पछाडि दौडाउँदै छ ।

अन्तमा, महात्मा गान्धी ‘भगवान् राम’को प्रखर भक्त थिए । दुर्भाग्य ! उनको हत्याराको नाम पनि नाथुराम थियो । अर्थात्, नाथुसँग ‘राम’ जोडिएको थियो । गान्धीले नाथुरामको चित्त बुझाउन सकेनन् । नाथुरामले गान्धी मारेर ‘राम’को इज्जत बचाउन खोजे । नाथुराम भगवान् रामको घर बचाउन चाहन्थे । भारतीय लोकतन्त्रले उनलाई बाँच्न दिएन । लोकतन्त्रमा यस्तो हुनु अस्वाभाविक होइन । दुर्भाग्यवश अनेकौँ हन्डर र ठक्कर खाँदा पनि नेपाली समाजको आँखा खुलेन । हामी समाजको ‘गान्धीपन’ मार्दै नाथुराम बन्दैछौँ । समाज भत्काएर समाज निर्माणको वकालत गरिरहेका छौँ । नेपाल र नेपालीपन मारेर नेपाली भएकोमा गर्व गर्दैछौँ ।

  • २१ माघ २०८०, आईतवार प्रकाशित

  • Nabintech