२० बैशाख २०८१, बिहीबार

‘काङ्ग्रेस अब सक्किएकै हो त ?
  • ज्यो. रत्ननिधि रेग्मी ‘शुक्राचार्य’

लामो इतिहास बोकेको नेपाली काङ्ग्रेस यतिबेला बाटो बिराएको यात्रीजस्तो, अझ भनौँ कुबाटोमा हिँडेको वा सोझो अर्थमा पथभ्रष्ट पार्टीमा परिणत हुन लागिरहेको त हैन ? आजभोलि प्रश्न उठ्न थालेको छ । २०४६ को परिवर्तनपछि लामो समय काङ्ग्रेस सत्तामा रह्यो । २०४८-२०५१ को समय गिरिजाकाल थियो, जसले भ्रष्टाचारलाई संस्थागत गरेको थियो । गिरिजापछि देउवाकाल आयो, देउवा काल भनेको बेथिति र अराजककाल रह्यो । काङ्ग्रेसमा गिरिजाद्वारा स्थापित परिवारवाद देउवाकालमा चरमोत्कर्षमा पुगिरहेको छ । आज जो-कोहीलाई पनि म काङ्ग्रेस हुँ भन्न लाजलाग्दो अवस्था बनिरहेको छ ।

बीपी, गणेशमान वा किशुनजीकालमा काङ्ग्रेस भन्नेवित्तिकै आमजनताको असीम श्रद्धा प्राप्त हुन्थ्यो । आजको काङ्ग्रेसले बीपीको समाजवाद त खायो-खायो, गणेशमानको त्याग र किशुनजीको आदर्शलाई समेत लत्याइदिएको छ । पछाडि फर्केर हेर्ने हो भने प्रदीप गिरी, महेन्द्रनारायण निधि, सीके प्रसाईं, भीमबहादुर तामाङ, रामहरि जोशी, शैलजा आचार्यजस्ता आदर्शवान्, चरित्रवान् छविको समेत आज अपमान भएको छ । आज काङ्ग्रेसको नेतृत्वतहमा भ्रष्ट, नाफाखोर, भ्रष्ट र तस्करको बोलवाला छ । अहिले कम्तीमा पनि अर्जुननरसिंह केसी, रामहरि खतिवडा, विश्वप्रकाश शर्मा तथा चन्द्र भण्डारी जत्तिका पनि नेतृत्वतहमा नहुनुले काङ्ग्रेस सक्किनलागेको तर्फ सङ्केत गर्छ ।

अहिले काङ्ग्रेसमा त्याग, तपस्या र बलिदान गर्नेको खोजीभन्दा चौधरीहरूसित गला जोड्नेहरूको बिगबिगी छ । नैतिकता त कता हो कता भनेझैँ हुन पुगेको छ । नेपाली काङ्ग्रेससँग आज के नीति छ ? के ऊसित समाजवाद छ ? के प्रजातन्त्र छ ? अहँ छैन । मात्र परिवारवाद छ, भ्रष्टाचारले दङ्दङ्ती गनाइरहेका एक दर्जन अनुहारहरू छन्, बेथितिका संवाहक र पहरेदारहरू मात्र छन्, आजको काङ्ग्रेस नेतृत्व सिद्धान्तविहीन छ । भन्ने हो भने बीपीको प्रजातान्त्रिक समाजवाद नै काङ्ग्रेसमा नरहेपछि अब काङ्ग्रेस भनेकै सक्किन लागेको पार्टी बन्न पुगेको जस्तो देखिन्छ । के अब काङ्ग्रेस सक्किएकै हो त ?

रवि लामिछाने प्रकरणले पनि यो सिद्ध गरिरहेको छ । पञ्चायतकालमा काङ्ग्रेसले स्वतन्त्रता, प्रजातन्त्र, मानवअधिकार र कानुनी राज्य स्थापनाका लागि सङ्घर्ष गरेकै हो र बहुदलीय व्यवस्था ल्याएकै हो । तर अहिले काङ्ग्रेस आफूले ल्याएको व्यवस्थाकै बर्खिलाफ उत्रिएको छ । कानुनी राज्यको सिद्धान्तमा अदालतले दण्डित नगरुञ्जेल कसैलाई अपराधी घोषित गर्न पाइँदैन, त्यो मानवअधिकारको ठाडो उल्लङ्घन ठहरिन्छ । प्रसङ्ग गृहमन्त्री तथा रास्वपा अध्यक्ष रवि लामिछानेमाथि काङ्ग्रेसले गरेको व्यवहार मानव अधिकार विरोधी त छँदैछ साथै कानुनीराज्यको सिद्धान्तविपरीत पनि छ । रवि लामिछोमाथि केही आरोपहरू लागेका छन्, तर अदालतले उनलाई दोषी प्रमाणित गरेको छैन, भनौं भने काङ्ग्रेसले आज जुन मुद्दा उठाएको छ, त्यो मुद्दाको त झन् प्रमाणै छैन, रविविरुद्ध कसैले कहीँ कतै मुद्दा हालेकै छैन, मुद्दै नहालेको विषयमा काङ्ग्रेसले रविलाई नैतिकताका आधारमा राजिनामा दे भनेर सदन नै अवरुद्ध गरिरहेको छ । त्यत्रो प्रजातन्त्रको लागि लडेको काङ्ग्रेस रवि लामिछानेसित डराएर थुर्थुर काँप्नु पर्ने किन ? यसले पनि काङग्रेस सक्किँदै जान लागेको त होइन भन्ने प्रश्न खडा भएको छ ।

काङ्ग्रेसजस्तो प्रजातन्त्रका लागि लडेको पार्टीले भ्रष्टाचारी, दूराचारी आदिलाई पाता कसेर स्वच्छ शासनको प्रत्याभूति दिलाउनुपर्नेमा उल्टै भ्रष्टाचारी तथा अनैतिकहरूलाई जोगाउन लागिपर्नु सुहाउँदिलो विषय होइन । यसले प्रजातन्त्र, स्वतन्त्रता र मानव अधिकारका क्षेत्रमा लागेका जो-कोहीको पनि मान मर्दन भएको प्रतीत हुन्छ ।

पछिल्ला कालखण्डमा काङ्ग्रेसको मुख्य काम नै भ्रष्टाचारी जोगाउनु रहिआएको छ । जब रविले भ्रष्टाचारीलाई छाड्दिनँ भनेर उद्घोष गरे, तब काङ्ग्रेस रविको विरुद्ध उभिएको देखियो । भ्रष्टलाई कार्वाही गर्ने काममा काङ्ग्रेसले रविलाई साथ दिने कुरा गरेको भए त्यो काङ्ग्रेसका लागि जायज पनि हुन्थ्यो होला । अहिलेको केसले काङ्ग्रेस थप अलोकप्रिय बन्दैजान थालेको छ । आज काङ्ग्रेस भनेको देउवा परिवारमा रुमल्लिइरहेको छ । यो स्थिति २०८४ सम्म रहिरह्यो भने काङ्ग्रेस २०-२५ सिटमा थन्किन बेर छैन । गिरिजा-हठले एकपल्ट काङ्ग्रेस सिला खोज्नुपर्ने अवस्थामा पुगिसकेको थियो भने अब देउवा-हठले पार्टीलाई कहाँ पुऱ्याउँछ ? हरेक काङ्ग्रेसीजनले सोच्नुपर्ने बेला छ ।

काङ्ग्रेस नेतृत्वमा रहेको परिवारवाद र भ्रष्टको बोलवालाले कतिपय असल काङ्ग्रेस कार्यकर्ताहरू अन्य पार्टीतिर गइरहेका छन् । नेतृत्वको गलत रवैयाले गएको उपनिर्वाचनमा काङ्ग्रेसले दुवै सीट गुमायो । यति हुँदा पनि काङ्ग्रेस चेतेको छैन । हो, निश्चय नै रविको रास्वपा नयाँ पार्टी हो, खासमा भन्ने हो भने यो पार्टीको सिद्धान्त बनेको पनि छैन । उदीयमान पार्टीमा काम गर्ने शैली तीव्रगतिमा हुने गर्छ, पछि त्यो पनि ढिलासुस्तीमा गइहाल्छ । तसर्थ काम गर्ने शैलीमा रविको केही तीव्रता होला, त्यसलाई लिएर काङ्ग्रेस नेतृत्व किन अत्तालिएको हो भन्ने थाहा पाउन गाह्रो छैन । सुनिन्छ, प्रचण्डले काङ्ग्रेससितको गठबन्धन तोड्नासाथ काङ्ग्रेसले रविलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको थियो, आफ्नो प्रस्ताव नमानेकाले रविमाथि काङ्ग्रेस खनिएको हो भने यो त झन् केटाकेटी कुरा भयो ।

मुख्य रूपमा भ्रष्टाचारीमाथि कारवाही गरिने कुराले काङ्ग्रेस डराएको हो । यसमा दुईमतै छैन । रविको भाषामा भन्नु पर्दा काङ्ग्रेस दूधले नुहाएको पार्टी होइन होला । सानातिना कमीकमजोरीलाई नियाल्दै जाने हो भने अहिलेको संसद् नै खाली नहोला भन्न सकिँदैन । काङ्ग्रेसजस्तो प्रजातन्त्रका लागि लडेको पार्टीले भ्रष्टाचारी, दूराचारी आदिलाई पाता कसेर स्वच्छ शासनको प्रत्याभूति दिलाउनुपर्नेमा उल्टै भ्रष्टाचारी तथा अनैतिकहरूलाई जोगाउन लागिपर्नु सुहाउँदिलो विषय होइन । यसले प्रजातन्त्र, स्वतन्त्रता र मानव अधिकारका क्षेत्रमा लागेका जो-कोहीको पनि मान मर्दन भएको प्रतीत हुन्छ । हुन त अहिले रविको खुलेरै विरोधमा लागेका देउवा परिवार, महत परिवार र गगन, शेखरजस्ता केही मानिसहरूका कारण सिङ्गो काङ्ग्रेस बद्नाम हुँदैछ । अब सच्चा काङ्ग्रेसीजनले यी पात्रहरूलाई जरैदेखि उखालेर फ्याँक्न जरुरी भइसकेको छ । अन्यथा यसले सिङ्गो काङ्ग्रेसलाई असर नपार्ला भन्न सकिँदैन ।

समाजशास्त्रको नियमअनुसार जहिले पनि दुर्बल र कमजोरले बलियाको विरोध गर्छ । बलियोले कमजोर पक्षलाई विरोध गर्दैन । हात्तीले खरायोमाथि जाइलाग्दैन, बाघले पनि बलियोमाथि आक्रमण गर्छ । यो संसारकै नियम हो । यहाँनेर के बुझ्नु जरुरी छ भने काङ्ग्रेस यति कमजोर भइसक्यो कि अब ऊ रवि लामिछानेसित पनि डराउने भैसक्यो । रविको छायासित पनि काङ्ग्रेस तर्सिने भैसक्यो । यसले काङ्ग्रेस आज कति निरीह भएछ ? कति गएगुज्रेको भैसकेछ ? र कति दारुण अवस्थामा पुगिसकेछ ? हाय काङ्ग्रेस नेतृत्व ? यहाँभन्दा लाजमर्दो विषय अरू के बन्नसक्ला ?

बीपीको पालामा काङ्ग्रेस गरिबको पार्टी कहलिन्थ्यो । देउवाको पालामा काङ्ग्रेस भ्रष्टको पार्टी बन्न पुगेको छ । यो आम प्रजातन्त्रप्रेमीका लागि शरमको विषय भएको छ । आम काङ्ग्रेसले रवि लामिछाने होइन, देउवा परिवार, महत परिवार, शेखर, गगनजस्ता गनाएका मान्छेलाई फ्याँक्नुपर्ने अवस्था भएको छ । पार्टी भनेको कार्यकर्ताको हो, यी २/४ जना टपरटुइँयाहरूको होइन । र, २/४ जना भ्रष्ट नेताहरूको कमाइखाने भाँडो पनि होइन । जसले बीपीको समाजवाद खाए, गणेशमान र किशुनजीको आदर्श मेटाए, यस्ता नेताको पछि लागेर हिँड्न सच्चा काङ्ग्रेसलाई सुहाउँदैन । अब सबै काङ्ग्रेसीजनले बीपी, गणेशमान, किशुनजीको आदर्श, त्याग र निष्ठाको स्मरण गर्नुपर्ने बेला आएको छ । त्यो आदर्श र निष्ठाको सम्मान त्यतिबेला हुन्छ, तब यस्ता भ्रष्ट नेताहरूलाई नालीमा लगेर फ्याँकिन्छ । बीपीले भन्नुभएको पनि छ, कुनैबेला भ्रष्ट नेताहरूको पार्टीमा वर्चस्व बढ्छ, त्यतिबेला काङ्ग्रेसी कार्यकर्ताले आफ्नै नेतृत्व विरुद्धमा कठोर सङ्घर्ष गर्नुपर्ने छ । बीपीको यो भनाइ आज पनि उत्तिकै सान्दर्भिक छ, किनकि आज काङ्ग्रेस भ्रष्टाचारको दलदलमा भासिएको छ, सामाजिक रूपमा बद्नाम भएको छ र नैतिकताका दृष्टिले पतित भइसकेको छ । तसर्थ म आम काङ्ग्रेसी कार्यकर्तालाई वर्तमान भ्रष्ट नेतृत्व विरुद्ध सङ्घर्षमा उत्रन आह्वान गर्दछु । यो मात्र काङ्ग्रेसको हितमा हुनेछ भन्ने कुरा स्मरण गराउन चाहन्छु ।

  • २० चैत्र २०८०, मंगलवार प्रकाशित

  • Nabintech