कोहलपुर,बाँके:उखरमाउलो गर्मी । त्यसमाथि खुल्ला आकाशमुनि सानो छातालाई ठडाएर आगोको छेउमा हातमा फलामको चिम्टा ।चिम्टाले आगो ठोस्दै मकै पोल्दै आफ्नो गुजारा चलाउँदै आउनुभएकी भगवती केसी । कोहलपुर ११ की केसी उमेरले ६३ पुग्नुभयो । तर बाध्यता भनौँ या दैनिकी यसो नगरी परिवारको गुजारा चल्दैन । टाउकामा रुमाल अनि निधारभरि पसिना रुमालले पुछ्दै मकै पोलेर बेच्न थालेको एक दशक बढी भयो ।
विगत चार दशकदेखि कोहलपुरमा बस्दै आउनुभएकी केसीले साँझ अबेर सम्म यसरी नै चोकमा बसेर मकै पोल्दै बेच्ने गर्नुहुन्छ । सधैँजसो कोहलपुरको व्यस्त चोक साझा चोक निरको एक पाटी प्यालेसको छेउमा बसेर मकै पोल्नुहुन्छ । ‘बिहान सबेरै मकै लिन आफु राप्ति पारी किसानको खेतमै पुग्छु, उहाँले भन्नुभयो–‘ हरियो मकै ल्याएर बोरा काँधमा हाल्छु अनि चोकमा आएर न घाम न पानी परिवार पाल्नै परयो, रोजीरोटी चलाउनै परयो ।’ उहाँले दिउँसो टन्टलापुर घाममा छातालाई छडीमा अड्काएर उखरमाउलो गर्मी छल्दै निधारभरिका पसिना रुमालले पुछ्दै र साँझ भएपछि छडीको छाता हटाएर दैनिक कहिले चार पाँच सय त कहिले छ सात सयको मकै बेच्नुहुन्छ।
यस्तै कोहलपुरकै अर्की मनमाया केसीले पनि कृषि हाट बजारमा वर्षौँदेखि निरन्तर मकै पोलेरै आफ्नो जीवनयापन चलाउँदै आउनुभएको छ । जतिसुकै चर्को घाम होस् वा बादल गर्जेर पानी पर्न लागेको अवस्था होस् काम नगरी जीवन गुजारा गर्न गाह्रो भएको उहाँ बताउनुहुन्छ ।
त्यसो त सडक छेउछाउमा जीविकोपार्जन गर्ने महिलाहरू, जसले न लाज मान्छन्, न गाह्रो अप्ठेरो । पुस माघको जाडो होस या वैशाख जेठको को टन्टलापुर घाममा पनि आगोको रापमा मकै पोलेर जीवन धान्दै आइरहेका छन् ।
मध्य दिनको चर्को घामको समेत परवाह हुँदैन बाँकेको बैजनाथबाट कोहलपुरको कृषि हाट बजारमा आएर मकै पोल्दै आफ्नो परिवार पाल्दै आउनुभएको छ रिता कुमारी थारु । उहाँलाई परवाह छ त मकैका कति घोगा बिक्री भए, छिन छिनमा बिक्री गरेर बचत भएको पैसाले सिङ्गो परिवारको जीवन चलाउने सोच मात्र आउँछ । मकै पोल्दै बिक्री गरेर नै जीवनयापन गर्न बलियो आधार समेत भएको उहाँको भनाई छ । मकै पोलेर आफ्नो आधाभन्दा बढी जीवन बितेको उहाँ बताउनु हुन्छ । ‘यिनै मकैका घोगालाई नै जिउने आधार बनाएको छु’ रिता कुमारीले भन्नुभयो,– ‘यो काम गरेन भने साँझ बिहान हातमुख जुटाउनै समस्या हुन्छ ।’
भनिन्छ, इच्छा भए उपाय अनेक त्यसको गतिलो उदाहरण बनेका छन्, कोहलपुरका यी जाँगरिला महिलाहरू । कोहलपुरको व्यस्त कृषि बजारमा बसेर दिनमा छ सात सयसम्म र मासिक दशदेखि पन्ध्र हजार कमाउँदै आएको बताउँछन् । भगवती , मनमाया र रिताकुमारी जस्ता धेरै महिलाहरूले कोहलपुरको चोक–चोक र कृषि बजारमा मकै पोलेर थुप्रै महिलाहरूले मकै पोल्दै गुजारा चलाउँदै आएका छन् ।
कोहलपुर लुम्बिनी प्रदेश कर्णाली प्रदेशको मुख्य द्वार भएको हुँदा यहाँ जस्तोसुकै व्यापार व्यवसाय गरे पनि टिक्न सकिन्छ। त्यसैले कोहलपुरमा मकै पोल्ने जुत्ता सिलाउने अटो चलाउने धेरै जसो व्यवसायमा महिला दिदी बहिनीहरू लागेको पाइन्छ।













