८ श्रावण २०८१, मंगलवार

एसईईपछि के पढ्ने ? के भन्छन शैक्षिक बिज्ञहरु !
  • पुस्पा पौडेल

केही दिनअघि मात्रै माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आएको छ । फलामे ढोका मानिने एसईईको नतिजा सार्वजनिक भएसँगै विद्यार्थी र अभिभावकमा उत्साह ल्याएको छ । योसँगै अब के गर्ने ? कुन विषय पढ्ने ? कहाँ पढ्ने भन्ने अन्योल पनि छ । यतिबेला राम्रा पढाइ हुने कलेजको खोजीमा छन् अभिभावक र विद्यार्थी ।  यस वर्ष एसईईमा ४८ प्रतिशत विद्यार्थीले मात्र कक्षा ११ पढ्न पाउने ग्रेड पाएका छन् । प्राप्त नतिजाले कुन विषय अध्ययन गर्न पाउने वा नपाउने वा के कस्तो अध्ययन गर्ने भन्नेजस्ता दुविधामा भने अझै पनि आम विद्यार्थी रुमल्लिइरहेका देखिन्छन् ।

सामान्यतया बालबालिकाले १५ देखि १६ वर्षको उमेरमा एसईई दिइसकेका हुन्छन् । पहिले कक्षा १० सम्मको पढाइलाई स्कुल शिक्षा र कक्षा ११ देखि माथिको पढाइलाई उच्च शिक्षाको रूपमा लिने गरिन्थ्यो । तर, पछिल्लो समयमा नेपालमा कक्षा ११ र १२ लाई पनि विद्यालय माध्यमिक शिक्षाअन्तर्गत राखिएको छ ।

त्यसो त कक्षा १० पढ्ने विद्यार्थीहरूलाई अब के पढ्ने, कुन विषय पढ्दा व्यावहारिक हुन्छ भन्ने ज्ञान कमै हुन्छ । त्यसैले उनीहरूले शिक्षक, अभिभावक र साथीहरूको सल्लाहमा विषय छनोट गर्ने गरेको पनि पाइन्छ । त्यो मात्रै नभएर कक्षा १० सम्मको तहमा विद्यार्थीहरूलाई धेरै विषय छनोट गरेर पढ्ने सुविधा पनि हुँदैन ।

कक्षा १० पास भइसकेपछि अर्थात् एसईई उत्तीर्ण गरेपछि विद्यार्थीहरू के पढ्ने र आगामी दिनमा आफू कस्तो मान्छे बन्ने भनेर सोच्ने कोसिस गर्छन् । एसईईसम्मको स्कुलको पढाइ एउटा सीमामा आधारित रहेर हुने र त्यसपछिको ११, १२ र ए लेभलजस्तो तहमा जाँदा पढाइको तहगत खाडल हुने हुन्छ । विद्यार्थीले विद्यालय शिक्षाभन्दा फरक आधारमा पढाइ हुने संकाय र विषय क्षेत्रसँग सम्बन्धित आ–आफ्नो क्षमता पहिचान गर्न सके मात्र उनीहरूको पढाइ भविष्यको मार्गचित्र कोर्न सफल हुनेछ । तर, विद्यार्थी आफैँले आफ्नो क्षमता कसरी थाहा पाउने ?

पछिल्लो समय एउटा ट्रेन्ड नै भएको छ कि आफ्नो मिल्ने साथी जुन कलेजमा गयो, आफू पनि त्यहीँ जाने । परीक्षामा नतिजा राम्रो आएकै भरमा, आफ्ना परिवार र साथीभाइले ‘तिम्रो त ए प्लस वा ए आएको रहेछ, किन विज्ञान वा प्राविधिक विषय नपढ्ने ?’ भनेको भरमा आफ्नो रूचिबेगरको विषयमा प्रवेश गरेको पनि पाइन्छ । कुनै एउटा विद्यार्थीको नतिजा ‘ए प्लस’ आएकै भरमा विज्ञान विषयमा अब्बल हुन्छन् भन्ने भ्रम पनि त्याग्नुपर्ने अवस्था सिर्जना भएको छ । कतिपय अभिभावकले पनि आफ्ना बालबालिकाको रूचि र क्षमता नबुझी ‘यो विषय पढ्नुपर्छ, भविष्यको लागि राम्रो हुन्छ’ भन्ने दबाब सिर्जना गरेको पाइन्छ, जुन गलत हो ।

कुन क्षमताका विद्यार्थीले के पढ्ने ?

हिसानका अध्यक्ष रमेश सिलवालका अनुसार विद्यार्थीले आफ्नो रूचि, चाहना, क्षमता, सीप र दक्षताका आधारमा विषय छनोट गर्नुपर्छ । राम्रो ग्रेड आउनेबित्तिकै सो विद्यार्थीले विज्ञान विषय अर्थात् प्राविधिक विषय पढ्नुपर्छ र अलिक कम ग्रेड आउनेलाई कमर्स वा मानविकी पढ्नुपर्छ भन्ने सल्लाह दिनु गलत मान्छन् उनी । अभिभावकले पनि आफ्नो बालबालिकाको क्षमता, रुचि र प्रवृत्ति के–कस्ता कुरामा छन्, त्यसबारे राम्ररी बुझ्नुपर्ने उनी बताउँछन् ।

‘यी चार कुरालाई महत्त्व दिएर विद्यार्थीले पढ्ने विषय र उसको भविष्यको सल्लाह दिन सकियो भने विद्यार्थीको पढाइ राम्रो हुन्छ र उसलाई दिएको सुझावको पनि महत्त्व हुन  आउँछ । तर, काउन्सिलिङ भनेर केही क्षेत्रलाई मात्र महत्त्व दिइन्छ, त्यो भने गलत हो,’ उनले भने ।

त्यसैले विज्ञको सल्लाह लिएर वा अभिभावक आफैँले पनि बच्चाको करिअर काउन्सिलिङ गर्न सक्ने उनी बताउँछन् । ‘विद्यालयस्तर सकिएपछि अब के पढ्ने त ? भविष्यमा के बन्ने भन्ने कुरामा विद्यालयले पनि बच्चाहरूलाई केही सहयोग गर्नुपर्ने हुन्छ । शिक्षकलाई ती विद्यार्थीको रूचि क्षमता थाहा हुन्छ । सोहीअनुसार कुन बच्चा कस्तो छ र उसले कुन विषयमा राम्रो गर्न सक्छ भनेर अभिभावकलाई सहयोग गर्न सक्छन्,’ अध्यक्ष सिलवालले भने ।

हाल नेपालमा आईबी, सीबीएसई, सीटीईभीटी, ए लेभल र प्लस टु गरी ५ किसिमको शिक्षा प्रणाली सञ्चालन भइरहेको छ । विद्यार्थीले आफूले पढ्ने विषय के हो र भविष्यमा यो विषय कति उपयोगी हुन्छ भन्ने विषयमा भने काउन्सिलिङ लिन आवश्यक हुने अध्यक्ष सिलवाल बताउँछन् । विद्यार्थीले छनोट गर्नुपर्ने पहिलो कुरा भनेको विषय नै हो । त्यसपछि आफूले पढ्ने विषयअनुसारको सिस्टम हेर्नुपर्‍यो । तेस्रो भनेको कुन स्कुलमा पढ्ने हो, अर्थात् संस्थाको विषयमा राम्रोसँग बुझ्नुपर्ने सिलवाल बताउँछन् ।

‘अभिभावकले आफ्नो बालबच्चा पढाउन लैजाँदा सुरुमा त्यो संस्थाको उद्देश्य के, के प्रयोजनका लागि खुलाइएको स्कुल/कलेज हो, त्यो संस्थाको भिजन मिसन, अब्जेक्टिभ हेर्नुपर्‍यो । फ्याकल्टी मेम्बर, भौतिक अवस्था, एकेडेमिक पर्फर्मेन्स, ईसीए, सीसीए, स्पोर्ट्समा कत्तिको जोड दिन्छ, रिजल्ट र संस्कारमा कत्तिको ध्यान दिन्छ, त्यसका आधारमा स्कुल छनोट गर्नुपर्छ,’ उनले भने ।

सरकारले सबै ठाउँमा काउन्सिलिङ गर्ने व्यवस्था गर्छु भन्नु पैसा खर्च गर्ने बाटो देखाउनु मात्र भएको उनको ठम्याइ छ । उनले भने, ‘बेस्ट काउन्सिलर भनेको विद्यालय नै हो । सम्बन्धित स्कुल/कलेज नै पहिलो काउन्सिलर हो, दोस्रो काउन्सिलर भनेको अभिभावक नै हुन सक्छन ।’

बच्चाको रुचि के विषयमा छ भन्ने कुरामा ध्यान नदिएर उसलाई आफूले चाहेको विषय पढाउन खोजियो भने उनीहरूले त्यो विषयमा राम्रो नतिजा नपाउने बताउँछन् काठमाडौं विश्वविद्यालयका प्राध्यापक डा. बालचन्द्र लुइँटेल । ‘त्यसैले बालबालिकालाई आफ्नो इच्छाअनुसार भन्दा पनि उनीहरूको रुचिको विषय रोज्न दिनुपर्छ । बालबालिकाका लागि सबैभन्दा राम्रो विकल्प के हुन सक्छ, त्यसमा अभिभावकले ध्यान दिनुपर्छ,’ उनले भने ।

कक्षा १० सम्म विद्यार्थीले निश्चित पाठ्यक्रम पढेका हुन्छन् । तर, कक्षा ११ मा पाठ्यक्रम र विषयमा विविधता हुन्छ । विभिन्न समूहबाट विषय छनोट गर्नुपर्ने भएकाले यसमा विद्यार्थीहरू अलमलिन सक्छन् । विद्यार्थीले आफ्नो लक्ष्यलाई आधार बनाएर नभई अभिभावकको दबाब, सञ्चारमाध्यमको प्रभाव, आफूले भ्रमण गरेका कलेजको भौतिक अवस्था, अध्ययन शुल्कको तुलनात्मक विश्लेषणका आधारमा मात्र विषय वा संकाय छनोट गर्ने प्रचलन त्याग्नुपर्ने बताउँछन् काठमाडौं विश्वविद्यालयका प्राध्यापक डा. बालचन्द्र लुइँटेल ।

लुइँटेलले भने, ‘कुनै पनि विषय वा संकाय आफैँमा नराम्रा र राम्रा छैनन् । आफ्नो रूचि र क्षमताका आधारमा हरेक विषय वा संकायबाट विद्यार्थीहरू सफल बन्न सक्छन् । सबै विद्यार्थीलाई विज्ञान अर्थात् प्राविधिक धार पढ्नतर्फ मात्र उत्प्रेरित गर्ने होइन कि सबै पेसा वा विषयक्षेत्रको प्रतिष्ठा उत्तिकै छ भन्ने बुझाउन सक्नुपर्‍यो । कुनै विषयलाई राम्रो अथवा नराम्रोभन्दा कसरी अध्ययन गर्ने अनि कसरी उच्च सफलता हात पार्ने भन्ने कुरालाई मध्यनजर गर्नुपर्ने आजको आवश्यकता हो ।’

एसईईपछि कुन विषय पढ्ने भन्ने विषयमा स्कुल करिअर काउन्सिलिङ गर्नुपर्ने बताउँछन्, केयूका प्राध्यापक बालचन्द्र लुइँटेल । ‘पटक–पटक शिक्षा मन्त्रालयमा हामीले ध्यानाकर्षण गराइराखेका छौँ कि विद्यालय शिक्षापश्चात् के गर्ने भन्ने कुरामा विद्यार्थीलाई परामर्शको आवश्यकता छ भनेर । तर, सरकार विद्यार्थीको हितका लागि कार्यक्रम सुरु गर्नुभन्दा विदेश जाने लाइसेन्स हातमा थमाइदिन तयार भयो । यस कारण पनि विद्यार्थी अन्योलमा परेका छन,’ उनले भने ।

विद्यार्थीले एसईईपछिको अध्ययनका लागि प्रत्येक संकायका उच्चतम सम्भावनाबारे जानकारी राख्ने, ती सम्भावनाबाट आफ्नो स्वभाव र सामर्थ्य मिल्ने एउटा लक्ष्य छनोट गर्ने, आफूले छनोट गरेको लक्ष्यमा नमुना व्यक्ति पत्ता लगाउने अनि मात्र लक्ष्यलाई सघाउने खास संकाय र विषय छनोट गर्नुपर्ने उनको बुझाइ छ । ‘विषय छनोट बुबाआमा, साथी वा अन्य कसैका लागि नभएर केवल आफ्नै इच्छा, रुचि, लक्ष्य र पेसागत आकर्षणका लागि हुनुपर्छ । राम्रो वा नराम्रो विषय हुँदैन, आफूले राम्रो वा नराम्रो हिसाबले अध्ययन गर्ने कुराले आगामी भविष्यलाई पूर्ण रूपमा नियन्त्रण गर्छ,’ उनले भने ।

हरेक व्यक्तिको सामर्थ्य र क्षमता फरक हुन्छ । कोही व्यक्ति जन्मजातै खेलाडी, कवि लेखक वा चित्रकार बन्ने क्षमताको हुन सक्छ  भने कोही व्यक्तिको रूचि डाक्टर इन्जिनियर बन्छु भन्ने हुन सक्छ । कक्षा १० सम्म अध्ययन गर्दैगर्दा कुन बच्चामा के कस्तो रूचि छ र उसको क्षमता कति छ भन्ने विषयमा विद्यालयका शिक्षकलाई नै बढी थाहा हुन्छ ।

त्यसैले, विद्यार्थीको सर्टिफिकेट दिँदा नै सम्बन्धित स्कुल वा शिक्षकले विद्यार्थीको क्षमता कुन विषयतर्फ छ भनिदिनुपर्‍यो । यस्तै, विद्यार्थी भर्ना लिने प्लस टु स्कुलहरूले पनि विद्यार्थीको चाहना, सपना, अतिरिक्त क्रियाकलापको रुचि, उनीहरूको पृष्ठभूमिलगायतका विषयमा फारम भराएर त्यसको अध्ययनपश्चात् उनीहरूलाई करिअर काउन्सिलिङको व्यवस्था गर्नुपर्ने आवश्यकता देखिन्छ ।

वास्तवमै एसईईपछिका विद्यार्थीको गन्तव्य के र आफ्नो सन्ततिको क्षमता पहिचान कसरी गर्ने भन्ने बारेमा राज्यले पनि त्यसका उपकरणहरूसहित अभिभावकलाई जानकारी दिने संयन्त्र वा अभियानको व्यवस्था गर्नु जरुरी छ ।

  • २२ असार २०८१, शनिबार प्रकाशित

  • Nabintech